close

ताप्लेजुङको फक्ताङलुङ पुग्यो टेलिकमको फोरजी सेवा

टेकपाना टेकपाना

असोज ८, २०८० ११:३४

ताप्लेजुङको फक्ताङलुङ पुग्यो टेलिकमको फोरजी सेवा

काठमाडौं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका क्षेत्रमा सञ्चार पहुँच पुगेको छ । फक्ताङलुङ-६ लोवाडाँडामा नेपाल टेलिकमको फोरजी टावरमार्फत सेवा सञ्चालन भएपछि फक्तालुङको माथिल्लो क्षेत्रमा सञ्चारको पहुँच पुगेकाे हो ।

लेलेपको साँगु, बतासे, मादिबुङ, फेम्बु, लेलेप, लुङथुङ, सेकाथुम लावाजिन, किसोमा, अम्जीलेसा र तापेथोकको हेल्लोक, यासाङ, सोत्लिमा, तापेथोक र इखाबुको केही क्षेत्रमा सेवा पुगेको छ । यस सेवामार्फत फक्ताङलुङ गाउँपालिकाका करिब तीन हजार जनसंख्या प्रत्यक्षरूपमा लाभान्वित भएका फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन लिम्बुले बताए ।

यसबाट स्थानीय समुदाय मात्रै नभएर कञ्चनजङ्घा क्षेत्रमा आउने हजारौं पर्यटकलाई पनि सेवा पुग्ने र विभिन्न सरकारी तथा गैरसरकारी निकायले दिने सेवामा पनि इन्टरनेट उपयोग गरी सहजता हुने विश्वास गरिएको छ । क्षेत्रफलका हिसावले नेपालकै तेस्रो ठूलो गाउँपालिकाका रूपमा रहेको फक्ताङलुङ भौगोलिक रूपमा दुर्गम छ ।

विसं २०७४ मा फक्ताङलुङको लेलेपस्थित मुरिङ्लाडाँडामा नेपाल टेलिकमको दुजी सेवा विस्तार भएपछि मात्र यस क्षेत्रमा मोबाइल सेवा विस्तार भएको थियो । फक्ताङलुङको तल्लो भेग वडा नं १, २, ३, ४ का सावादिन, खेजेनिम, लिगिम र इखाबुका अधिकांश भेगमा विगतदेखि नै टेलिकमको फोरजीसहितको सेवा विस्तार भइसकेका छन् ।

बाँकी वडा नं ५, ६ र ७ का क्रमशः तापेथोक, लेलेप र ओलाङ्चुङगोला क्षेत्र सञ्चारबाट पछाडि पर्दै आएको थियो। फक्ताङलुङ- ६ को घुन्सामा र ओलाङचुङगोला वस्ती आसपासलाई लक्षित गरी नेपाल टेलिकमको टुजी सामग्री ढुवानीदेखि लिएर यसको जडानका लागि सम्बन्धित निकायमा पहलकदमी गरेर मात्रै यो सम्भव भएको फक्ताङलुङ गाउंपालिकाका अध्यक्ष राजन लिम्बुले बताए ।

अध्यक्ष लिम्बुका अनुसार अब सोही पालिकाको वडा नं ७ हिलेखर्कमा ओलाङचुङगोलाको लागि फोरजी टावर राख्नका लागि सर्भेको काम सकिएको छ भने घुन्सातर्फ पनि टावर राख्नका लागि पहिलो चरणको सर्भे सकिएको छ । सो स्थानबाट पनि अबको एक वर्षमा फोरजी सेवा सञ्चालनमा ल्याइने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १२:४८