close

फिफिया मार्फत यसरी ठगिँदै छन् नेपाली

टेकपाना टेकपाना

असोज ८, २०८० १७:४६

फिफिया मार्फत यसरी ठगिँदै छन् नेपाली

काठमाडौं । नेपालमा जुवा तथा सट्टेबाजी अवैध छ । सट्टेबाजीको हकमा मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा ४ मा 'कसैले सट्टेबाजी गर्नु वा गराउनु हुँदैन' लेखिएको छ । त्यसो गरेको पाइएमा दफा १२५ “जुवा खेल्न वा सट्टेबाजी गर्नु गराउनु नहुने” भन्ने कसूरमा प्रयोग भएको बिगो जफत गरी कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यही नियमका कारण सट्टेबाजी वा जुवा खेलाउने प्लेटफर्म नेपालमा दर्ता, सञ्चालन वा काराेबार गर्न पाउँदैनन् । तर कानून विपरीत गोप्य रूपमा अनलाइनमार्फत दैनिक लाखौं रुपैयाँको सट्टेबाजी भइरहेको तथ्य बाहिरिएकाे छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गत बिहीवार फिफियामा रकम लगानी गरिदिने भन्दै केही व्यक्तिबाट ११ लाख रुपैयाँ बढी ठगेको आरोपमा एक महिला पक्राउ गरेको थियो । पक्राउ परेको सूचना निकाल्दै कार्यालयले फिफिया एपलाई  गैरकानूनी जुवाको एप्लिकेसनका रूपमा परिभाषित गरेको छ ।

तर, फिफियाले भने सो प्लेटफर्ममा गरिने ४-४ बेट अवैध नभएको जनाउँदै आएको छ । ​फिफिया प्लेटफर्ममा विभिन्न म्याच भइरहेको देखिन्छ । जहाँ न्यूनतम ३०० एनपीआर (नेपाली रुपैयाँ) जम्मा गर्न भनिएको हुन्छ । कुनै पनि म्याच सकिएपछि जम्मा गरेको रकमको ०.४८ प्रतिशत रकम थपेर पठाउन सकिने आश्वासन दिइएको हुन्छ । 

यसमा न्यूनतम ३०० एनपीआरदेखि बढीमा जति पनि रकम जम्मा गर्न सकिन्छ । त्यसबाहेकका अप्सन भने सट्टेबाजीका छन्, जहाँ छेउमा दुई टिमको स्कोर राखिएको हुन्छ । त्यसमध्ये प्रयोगकर्तालाई जुन स्कोर आउँछ, जस्तो लाग्छ, त्यसैमा बेट गर्न भनिएको हुन्छ ।

त्यसमा स्कोर अनुसार बाजी राखेको रकम अनुसार फरक-फरक प्रतिशत रकम उपलब्ध गराउने भनिएको हुन्छ । त्यस्तोमा एक पटकमा न्यूनतम १० हजार एनपीआर बाजी राख्न भनिएको हुन्छ । तर, यी अप्सन तपाईंको क्षेत्रमा छैन भनिएको हुन्छ ।

टेलिग्राम च्यानलमा भने कसरी बेट गर्न सकिन्छ भनेर सिकाउने गरिन्छ ।

फिफियाले कसरी डुबाउँदैछ नेपाल ?

फिफियाले नेपाली युवालाई कसरी डुबाउँदैछ भन्ने चर्चा गर्नुअघि भारतमा मौलाएको यही प्रकृतिको ‘जीभी फुटबल’ भन्ने प्लेटफर्मको चर्चा गरौं । भारतीय सञ्चारमाध्यम एबीपी लाइभका अनुसार यस प्लेटफर्मले भारतमा अरबौं रकम डुबाएको थियो ।

उक्त कम्पनीले प्रयोगकर्तालाई एक महिनामा रकम दोब्बर उपलब्ध गराउने प्रतिबद्धता दिएको थियो । सो एपमा गइसकेपछि विभिन्न क्लब र टिमबीच हुने म्याचको सूची देखिन्थ्यो । जसमध्ये कुनै एप छानेर पैसा लगाउनुपर्ने हुन्थ्यो । कम्पनीका एजेन्टले छुट्टै टलिग्राम च्यानल पनि बनाएका थिए । टेलिग्राम ग्रुपमा एजेन्ट र प्रयोगकर्ताहरूबीच अन्तर्क्रिया हुन्थ्यो । ग्रुपमा कसरी रकम जम्मा गर्ने भन्ने टिप्स दिइएको हुन्थ्यो ।

सोही अनुसार प्रयोगकर्ताले रकम बेटमा राख्थे । प्रयोगकर्ता जति रकम जम्मा गर्थे, दिनमा सो रकमको २.५ प्रतिशत रकम प्रयोगकर्ताको खातामा आउँथ्यो । यसरी एक महिनामा प्रयोगकर्ताले जम्मा गरेको रकम डबल हुन्थ्यो । 

सो रकम प्रयोगकर्ताले आफ्नो बैंकमा निकाल्दा 'प्रोसेसिङ फी' को नाममा १२ प्रतिशत काट्थ्यो । र, बाँकी रकम प्रयोगकर्ताले आफ्नो बैंकमा पाउँथे । 

१२ प्रतिशत रकम कट्टा गरे पनि प्रयोगकर्ताहरू आम्दानीबाट सन्तुष्ट नै थिए । किनभने एक लाख जम्मा गरेको छ भने एक महिनामा उनीहरू एक लाख ८८ हजार रुपैयाँ फिर्ता पाउँथे । यसरी थोरै लगनी गर्दा पनि राम्रै आम्दानी गर्न सकिन्छ भन्ने विश्वास उक्त प्लेटफर्मले दिलायो ।

त्यसपछि मानिसहरू आफ्ना नजिकका मान्छेलाई सो प्लेटफर्ममा रकम जम्मा गर्न लगाउन सुझाव दिन थाले । आफू पनि मिलेसम्म ऋण लिएरै भए पनि जम्मा गर्न थाले । रकम जम्मा गर्दा पुग्ने भएपछि मान्छेले मोटो रकम जम्मा गर्दै छोड्न थाले ।

उनीहरूले रकम जम्मा गर्नुको अर्को कारण पनि थियो । जति धेरै रकम भयो १२ प्रतिशत कर काटिंदा त्यति नै फाइदा हुन्थ्यो । त्यसपछि एक्कासि एक दिन प्रयोगकर्ताले रकम निकाल्दा समस्या आउन थाल्यो । कम्पनीले सबै ठीक हुन्छ भन्दै प्रयोगकर्तालाई नआत्तिन अनुरोध गर्‍यो । त्यसको दुई दिनपछि प्रयोगकर्ताले एप खोल्नासाथ त्यसमा ‘अब रकम निकाल्न कुल रकमको १० प्रतिशत कर तिर्नुपर्ने’ भन्ने सूचना आयो ।

“कम्पनी भारतमा आफ्नो अफिस खोल्न गइरहेको छ । त्यसका लागि सरकारलाई कर तिर्नुपर्ने हुन्छ । त्यसैले हामी भारतीय मेम्बरबाट हामी करका रूपमा १० प्रतिशत रकम चार्ज गर्दैछौं,” सूचनामा लेखिएको थियो । त्यसका लागि सो प्लेटफर्मले प्रयाेगकर्तालाई दुई दिनको समय दियो । तर, प्रयोगकर्ताले आफ्नो जम्मा भएको रकमबाट सो रकम काट्न भन्दा कम्पनीले छुट्टै कर तिर्नुपर्ने नीति भएको उल्लेख गर्‍यो ।

यदि दुई दिनमा आफ्नो जम्मा भएको रकमको १० प्रतिशत नदिए प्रयोगकर्ताको रकम शून्य हुने चेतवानी दियो । जसले उक्त प्लेटफर्ममा बढी रकम जम्मा गरेका थिए, उनीहरूले १० प्रतिशत कर तिरे । तर उनीहरूको पनि अकाउन्ट खुल्दै नखुल्ने भयो ।

“मैले रकम निकालिदिन अनुरोध गर्दा पेन्डिङको नोटिस मात्र देखिरहेको छ,” एक पीडितले भनेका थिए । आफ्नो मुख्यालय अमेरिका भएको दाबी गर्ने सो कम्पनी पछि चल्नै छोड्यो । न सरकारले सो प्लेटफर्मलाई कारबाही गर्न सक्यो, न त साइबर सुरक्षाका जानकारले नै केही गर्न सके । यो करिब पाँच महिनाअघिको कुरा मात्र हो । 

सन् २०१८ देखि अनलाइन स्क्यामबारे अध्ययन गरिरहेका एक व्यक्तिका अनुसार फिफिया पनि यस्तै समूहले यही उद्देश्यका लागि सञ्चालन गरिरहेको छ । “सुरुमा राम्रो आम्दानी उपलब्ध गराएर मानिसहरूलाई आकर्षित गर्छन्,” नाम नखुलाउने सर्तमा ती व्यक्तिले भने, “अहिले करोडौं ठगी गरेपछि रकम निकाल्न क्रिप्टोमा कर तिर्न भनिरहेको छ ।”

त्यसका लागि कम्पनीले १०० यूएसडीटी (क्रिप्टोकरेन्सी) कर बापत तिर्न भनेको छ । प्रयोगकर्ताले आफ्नो फिफिया अकाउन्टमा रहेको रकम काटेर बाँकी दिन भनेका छन्, तर सो प्लेटफर्मले त्यसो गर्न मानेको छैन ।

“अहिले पनि १०० यूएसडीटी तिर्ने सबै प्रयोगकर्तालाई यो प्लेटफर्मले रकम फिर्ता दिँदैन,” उनले भने, “जसको रकम थोरै छ, उनीहरूलाई रकम आउने रहेछ भन्ने भान पार्न केही सीमित र थोरै रकम भएकालाई मात्र दिन्छ । तर, पाउने आशामा १०० यूएसडीटी तिर्‍यो भने पनि डुब्ने सम्भावना उच्च हुन्छ ।”

फिफियाले वेबसाइटमा सूचना जारी गर्दै २ अक्टोबरपछि प्रयोगकर्ताले सामान्य तरिकाले रकम निकाल्न सक्ने उल्लेख गरेको छ । तर, यसबारे अध्ययन गरिरहेका व्यक्तिले भने २५ देखि २७ सेप्टेम्बरमै प्लेटफर्म नेपालमा बन्द हुने अड्कल काटेका छन् ।

हाल यो प्लेटफर्ममा सामान्य तरिकाले रकम जम्मा गर्न वा निकाल्न नमिलेको भन्दै प्रयोगकर्ताले ह्वाट्सएप तथा टेलिग्राममा गुनासो पोखिरहेका छन् ।

सम्बन्धित समाचार

‘फिफिया’ नाममा नेपालमा मौलाउँदै नेटवर्किङ शैलीको अनलाइन सट्टेबाजी

अवैध जुवा एप ‘फिफिया’ मार्फत ११ लाख ठगी गर्ने युवती पक्राउ

एजेन्ट पक्राउ परेपछि फिफियामा रकम जम्मा गर्नेहरू तनावमा

प्रहरी भन्छः फिफियामा संलग्नलाई खोजी खोजी कारबाही गर्छौं

अवैध धन्दा पर्दाफास भएपछि पैसा फिर्ता लिन चाहनेलाई १०० डलर तिर्न बाध्य पार्दै फिफिया

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १९:९