close

सस्तो स्मार्टफोन किन्न चाहनेका लागि अनरका दुई विकल्प

टेकपाना टेकपाना

असोज १०, २०८० १३:३१

सस्तो स्मार्टफोन किन्न चाहनेका लागि अनरका दुई विकल्प

काठमाडौं । नेपाली बजारमा अनरका दुई नयाँ स्मार्टफाेन अनर एक्स फाइभ प्लस  (Honor X5 Plus) र अनर एक्स सिक्स ए (Honor X6a) सार्वजनिक भएको छ । एक्स फाइभ प्लसभन्दा एक्स सिक्स ए दुई हजार रुपैयाँले महङ्गो फोन हो । यद्यपि दुवै फोनमा डिस्प्लेको गुणस्तर, सीपीयू, जीपीयू, क्यामेरा, ब्याट्री, तौल, आकार समान छन् ।

यी दुई फोनको लुक्समा केही भिन्नता देख्न सकिन्छ । क्यामेरा सेटअपमा धेरै फरक छ । अलि सस्तो पर्ने एक्स फाइभ प्लसमा दुई ओटा क्यामेरा सेटअप छ । जसको तल्लो लेन्ससँगै फ्ल्याशलाइट पनि राखिएको छ । यस्तै एक्स सिक्स ए माेडेलमा तीन ओटा क्यामेरासँगै फ्ल्याशलाइटका लागि छुट्टै ठाउँ दिइएको छ ।

त्यसबाहेक पोर्ट, डिस्प्ले तर्फको भागमा यी दुई फोनमा समानता पाउन सकिन्छ । सिम ट्रे (Sim tray) पनि दुवै फोनको माथिल्लो भागमा छ । जहाँ दुई वा एउटा सिम र एउटा माइक्रो एसडी कार्ड राख्‍न सकिन्छ ।

तर इन्टर्नल स्टोरेजको मामिलामा भने एक्स सिक्स ए अब्बल छ । जसमा १२८ जीबी पाउन सकिन्छ । एक्स फाइभ प्लसमा ६४ जीबी मात्रै इन्टर्नल स्टोरेज छ । र्‍याम भने दुवै फाेनमा समान ४ जीबी पाउन सकिन्छ ।

सस्तो फोन भए पनि दुवै फोन हातमा लिँदा अलि प्रिमियम लाग्छ ।

दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ । क्यूआर कोड स्क्यान गर्नुपर्दा फोटो मोडको माथिपट्टि क्यूआरको आइकन थिच्‍नु पर्छ । त्यस्तै एआई मोड अन गरेर पनि फोटो खिच्‍न सकिन्छ । जसले तस्वीरलाई स्तरीय बनाउन सहयोग गर्छ । पोट्रेट मोडमा बुकेसँगै ब्युटी लेभल मिलाउने विकल्प दिइएकाे छ । त्यस्तै यसमा एपर्चर मोड पनि छ ।

साथै दुवै फोनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा र २ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । सेल्फी क्यामेरा त्यस्तो उत्कृष्ट भन्ने छैन । मोबाइलको बजेट अनुसार यसलाई ठीकठाक मान्न सकिन्छ ।

साधारण भिडिओ कल गर्न ठीकै छ । त्यस्तै दुवै फोनबाट फुल एचडी रेजाेलुसनको भिडिओ खिच्‍न सकिन्छ । बजेट फोन भएपनि भिडिओ खिच्‍दा थोरै ‘स्टेबलाइज’ पनि हुन्छ । 

तर स्तरीय भिडिओको लागि त्यो पर्याप्त हुँदैन । एक्स सिक्स ए माेडेलमा २ मेगापिक्सेलको म्याक्रो सेन्सर पनि छ, जुन कुरा एक्स फाइभ प्लसमा छैन ।

कम्पनीले दुवै फोनमा ६.५६ इन्चको टीएफटी एलसीडी डिस्प्ले दिएकाे छ । एचडी प्लस रेजाेलुसनको डिस्प्लेमा ९० हर्जसम्मको रिफ्रेस रेट दिइएको छ । गेमिङ वा एकदमै राम्रो डिस्प्ले खोज्‍ने प्रयोगकर्ताका लागि भने यो पर्याप्त छैन । तर. टिकटक, फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जाल चलाउन ठीकठाक नै छ ।

अपरेटिङ सिस्टम र पर्फर्मेन्सको कुरा गर्दा दुवै फोनमा एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.१ दिइएको छ । त्यस्तै १२ नानाेमिटर प्रविधिमा आधारित मिडियाटेक हेलियो जी३६ प्रोसेसर छ । यसले सामान्य गेम खेल्दा, मल्टिटास्क गर्दा समस्या हुँदैन ।

जमाना अनुसार दुवै फोनको र्‍याम भने अलि कम हो । भर्चुअल र्‍याम बढाउने विकल्प पनि दुवैमा दिइएको छैन । त्यसैले स्टोरेज भरिँदै गएपछि पर्फर्मेन्स भने अलि स्लो हुँदै जान सक्छ ।

यदि अलि बढी नै टिकटक बनाउनुहुन्छ वा गेमहरू खेल्नुहुन्छ, फोटो/भिडिओ खिच्नुहुन्छ भने एक्स सिक्स ए छान्नु राम्रो हुन्छ । किनकी दुई हजार रुपैयाँ बढी तिर्दा दोब्बर नै स्टोरेज पाउन सकिन्छ । 

यी फोनहरूमा ५२०० एमएएच क्षमताको ब्याट्री पाउन सकिन्छ । तर चार्जर भने तपाईँले एक्स प्लसमा १० वाटको र एक्स सिक्स एमा साढे २२ वाटको चार्जर पाउनुहुन्छ ।

सामान्य प्रयोगमा दुवै फोनले २-३ दिन ब्याट्री ब्याकअप दिन सक्छन् । एक्स फाइभ प्लसलाई चार्ज गर्न साढे दुई घण्टा लाग्छ भने डेढ घण्टा हारहारीमा नै एक्स सिक्स ए फुल चार्ज हुन्छ ।

नेपाली बजारमा एक्स फाइभ प्लसको मूल्य १५ हजार ४९० र एक्स सिक्स एको मूल्य १७ हजार ४९० राखिएको छ । दुई हजार बढी तिर्दा पाइने अतिरिक्त सुविधा २ मेगापिक्सेलको म्याक्रो सेन्सर, दोब्बर स्टोरेज र फास्ट चार्जिङ हो । एक्स फाइभ प्लस ब्ल्याक र क्यान लेक रङमा उपलब्ध छ । त्यस्तै एक्स सिक्स ए स्काई सिल्भर, मिडनाइट ब्ल्याक र क्यान लेक रङमा उपलब्ध छ ।

१५ देखि २० हजार रुपैयाँमा स्मार्टफोन किन्‍ने सोचमा हुनेहरुका लागि यी दुवै फोन विकल्प बन्न सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज १०, २०८० १४:२७