close

एफटीटीएचमा जाँदा पनि टेलिकमको ल्यान्डलाइनमा छैन आकर्षण, प्रयोगकर्ता लगातार घटेको घट्यै

टेकपाना टेकपाना

असोज ११, २०८० १७:२३

एफटीटीएचमा जाँदा पनि टेलिकमको ल्यान्डलाइनमा छैन आकर्षण, प्रयोगकर्ता लगातार घटेको घट्यै

 

काठमाडौं । एफटीटीएचमा अपग्रेड हुँदा समेत नेपाल टेलिकमले आफ्नो ल्यान्डलाइन सेवामा ग्राहकलाई आकर्षण गर्न असफल देखिएको छ । पछिल्लो समय कपर नेटवर्कको साटो एउटै एफटीटीएच केबल मार्फत इन्टरनेट, आईपीटीभी र ल्याण्डलाइन सेवा उपलब्ध गराउन थालेपनि कम्पनीका ग्राहक भने लगातार घट्दै गएका हुन् । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार पछिल्लो पाँच वर्षमा टेलिकमको ल्यान्डलाइन सेवामा रहेका ग्राहक लगातार घट्दै गएका छन् । २०७५ को जेठमा छ लाख ८४ हजार ८०३ रहेको ग्राहक सङ्ख्या त्यसको एक वर्षमा सात हजार ४१०, दोस्रो वर्षमा १५ हजार ७५३, तेस्रो वर्षमा सबैभन्दा धेरै ९२ हजार ४९८ ग्राहक घटेका छन् । यसैगरी चौंथो वर्ष अर्थात २०७८-७९ को अवधिमा ७४ हजार ०४२ र पाँचौं वर्षमा ६४ हजार ८७० ग्राहकले ल्यान्डलाइन सेवा छोडेका छन् ।

पछिल्लो समय ल्यान्डलाइन सेवा प्रयोग गर्नेको सङ्ख्या घट्नुको पछाडि मोबाइल फोनको लोकप्रियतालाई मुख्य कारण मानिएको छ । यद्यपि टेलिकमले आकर्षक अफर तथा बन्डलिङ सहितका प्याकेज ल्याइरहेको छ । त्यसका बाबजुद ग्राहक भने त्यसतर्फ आकर्षित हुन सकिरहेका छैनन् । 

टेलिकमका ल्यान्डलाइन प्रयोगकर्ताः 

२०७५ जेठ

२०७६ जेठ

२०७७ जेठ

२०७८ जेठ

२०७९ जेठ

२०८० जेठ

684803

677,393

661,640

569,142

495,100

430,230 

 ल्यान्डलाइनसँगै अन्य फिक्सलाइन टेलिफोन अन्तर्गतका भीस्याट र वायरलेस लोकल लुप (डब्लूएलएल) प्रयोगकर्ता समेत घट्दै गएको पाइएको छ ।

२०७५ साल जेठ महिनामा कम्पनीको डब्लूएलएलमा एक लाख २० हजार ९२० ग्राहक रहेकोमा गत जेठसम्म आइपुग्दा घटेर एक लाख १६ हजर ८६९ मा सीमित भएका छन् । त्यस्तै ५८१ ओटाबाट भीस्याट प्रयोगकर्ता समेत घटेर हाल ८६ मा आइपुगेको तथ्याङ्कले  देखाउँछ ।

पछिल्लो अध्यावधिक: असोज ११, २०८० १७:२३