close

नेटवर्किङ शैलीको अवैध बेटिङ साइट फिफिया बन्द, ‘अनलाइन अर्निङ’ गर्नेलाई अर्बौंको चुना

हिक्मत आचार्य हिक्मत आचार्य

असोज १४, २०८० ११:५

नेटवर्किङ शैलीको अवैध बेटिङ साइट फिफिया बन्द, ‘अनलाइन अर्निङ’ गर्नेलाई अर्बौंको चुना

 

काठमाडौं । नेटवर्किङ शैलीमा सञ्चालित अवैध अनलाइन सट्टेबाजी प्लेटफर्म फिफियाको वेबसाइट तथा एप बन्द भएको छ । गएको शनिवार राति करिब १० बजेदेखि साइट बन्द भएको हो । 

यसअघि क्रिप्टोकरेन्सीमा कर तिर्ने प्रयोगकर्तालाई जम्मा गरेको रकम विथड्र गर्न (निकाल्न) दिने भनिएको थियो । तर, जसले रकम तिरेका थिए, उनीहरूलाई समेत कुनै रकम नदिएर साइट नै गायब भएको हो ।

नेपालमा कानूनी भएको देखाउन दर्ता गरिएका कागजात देखाएर सो प्लेटफर्मका एजेन्टले हजारौं नेपालीलाई उक्त प्लेटफर्ममा आबद्ध गराएका थिए । तर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूले एउटा प्रयोजनका लागि कम्पनी दर्ता गरेर नेपालमा अवैध रूपमा सट्टेबाजी खेलाउन थालेको फेला पारेको थियो । 

यसरी अवैध फिफिया प्लेटफर्ममा आबद्ध गराइ ठगी गरेको आरोपमा प्रहरीले दादिकी शेर्पा (राई) लाई पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि सो प्लेटफर्ममा रकम जम्मा गर्नेहरू आफ्नो रकम निकाल्न थालेका थिए । 

तर ठूलो सङ्ख्यामा रहेका प्रयोगकर्ताले एकसाथ रकम निकाल्न थालेपछि उक्त प्लेटफर्मले सबै प्रयोगकर्ताको रकम रोक्का गरिदिएको थियो ।

पछि एक सूचना निकाल्दै फिफियामा रहेको रकम निकाल्न बेलायतको कर कार्यालयमा रकम बुझाउनुपर्ने सूचना निकालियो । रकम पाउने आशामा केही व्यक्तिहरूले भनिए अनुसारको रकम बुझाएका पनि थिए । यसरी क्रिप्टोकरेन्सीको रूपमा १३ हजार ६०० रुपैयाँ जति तिर्ने प्रयोगकर्ताले पनि आफ्नो रकम फिर्ता नआएको गुनासो गरिरहेका छन् । 

फिफियाको अवैध धन्दा पर्दाफास भएपछि ह्वाट्सएप तथा टेलिग्राम जस्ता सामाजिक सञ्जालमा कैयौं ग्रुपहरू खुलेका छन् । जहाँ प्रयोगकर्ताले आफ्ना गुनासो पोखिरहेको देखिन्छ । 

त्यहाँ गुनासो पोख्ने प्रयोगकर्तालाई निशानामा राखी रकम निकालेर सहयोग गरिदिने प्रलोभन देखाएर समेत थप ठगी गर्ने कार्य भएको पाइएको छ ।

"हामीले आफ्नो रकम डुब्यो, अब कसरी निकाल्ने होला भनेर ग्रुपमा जिज्ञासा राखेका थियौं," फिफियामा आवद्ध पीडितले भने, "पछि कृष्ण आचार्य नाम भएका व्यक्तिले रकम निकालिदिने आश्वासन देखाएर हामीलाई बाइनान्स अकाउन्ट खोल्न लगाएर त्यसमा रकम जम्मा गर्न भन्यो । रकम जम्मा गरिसकेपछि ऊ आफैं सम्पर्क विहीन भयो ।"

उनीबाहेक अन्य कैयौं व्यक्तिले समेत कृष्ण आचार्यको नाम लिएर आफ्नो रकम डुबिसकेपछि पनि थप रकम लुटिएको बताइरहेका छन् ।

फिफियाका एजेन्टले नेपालमा प्रयोगकर्तालाई आकर्षित गर्नका लागि आफ्नो कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय खेलको प्रचार गर्ने र त्यसैबाट भएको आम्दानी प्रयोगकर्तालाई उपलब्ध गराउने आश्वासन दिएका थिए ।

फिफियाको साइट खोल्दा "४ः४ बेट नेपालमा कानूनी छ । अरू बेट नगर्नु होला, ४ः४ मात्र बेट गर्न मात्र अनुमति दिइएको छ", लेखिएको सूचना देखिन्थ्यो । त्यही सूचना देखेपछि प्रयोगकर्ताले विश्वास गरेर रकम लगानी गर्न थालेका थिए ।

दैनिक तीन पटकसम्म रकम बेट गर्न मिल्ने भनिएको सो प्लेटफर्मबाट प्रयोगकर्ता दिनको अन्त्यमा १.४८ प्रतिशत नाफा कमाइरहेका थिए । तर त्यो सबै प्रयोगकर्तालाई फसाउने जालो रहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताएका छन् । 

"फिफिया प्रयोगकर्तालाई लोभमा पार्नका लागि कम्पाउन्ड इन्ट्रेस्टमा रकम उपलब्ध गराउने र अन्तिममा भाग्ने प्रकृतिको देखिएको छ," अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, "नेपालीले जम्मा गरेको मध्येबाट लिने कमिसन बाहिर गइरहेको देखिन्छ । बाँकी नेपालमै सर्कुलेट भइरहेको जस्तो देखिन्छ । अनुसन्धान गरिरहेका छौं । बाँकी जानकारी पछि आउला ।"

फिफिया र त्यस्तै प्रकृतिका अन्य प्लेटफर्मबारे अनुसन्धान गरिरहेका अर्का एक व्यक्तिका अनुसार उनीहरूले रकम रोक्का गरिसकेपछि जति पनि रकम फिफियासँग बाँकी रहेको थियो, त्यो सबै उनीहरूले लगिसकेका छन् ।

"नेपाली रकम र फिफियाको क्वाइन आदान प्रदान गर्नका लागि बीचमा क्वाइनबेस नामक एप प्रयोग भएको थियो," अनुसन्धानकर्ताले भने, "क्वाइनबेस प्रयोग गरेर रकम साट्नेहरूले बीचमा दुई प्रतिशत जति कमिसन लिइरहेका थिए । उक्त रकम फिफिया सञ्चालन गर्ने गिरोहले क्रिप्टोमार्फत लिइरहेको थियो । अहिले अन्तिममा जति प्रयोगकर्ताको रकम डुबेको छ, त्यो सबै फिफियाले क्रिप्टो करेन्सी मार्फत लगिसकेको छ ।"

 

कसको कति डुब्यो ?

सिमिलर वेबका अनुसार फिफियाको वेबसाइट मासिक १५ लाखभन्दा बढी पटक भिजिट हुने गरेको देखिन्छ । हरेक महिना १५ लाखको १.०७ प्रतिशत प्रयोगकर्ता उपलब्ध लिङ्कबाट र १०.०३ प्रतिशत प्रयोगकर्ता सामाजिक सञ्जालबाट सो वेबसाइटमा पुग्ने गर्थे । 

यसो भन्नुको अर्थ हरेक महिना १०० जना मध्ये करिब ११ जना नयाँ प्रयोगकर्ताहरू त्यसमा थपिन्थे । टेलिग्राम तथा ह्वाट्सएप ग्रुपमा प्रयोगकर्ताहरूले आफ्नो लाखौं रकम डुबेको बताइरहेका छन् ।

१० हजारदेखि २० हजार, ३० हजार, ५० हजार, एक लाख, पाँच लाख, १० लाख, कसैले १२ लाख, कसैले १४ लाख, कसैले १७ लाख रुपैयाँसम्म डुबेको दाबी गरिरहेको देखिन्छ ।

 

चेत्ने पक्षमा छैनन् नेपाली प्रयोगकर्ता !

अहिले फिफिया नामबाट खुलेका कैयौं ग्रुपमा प्रयोगकर्ता आफ्नो डुबेको रकम असुल्न हरसम्भव प्रयास गरिरहेका छन् । कसैले अन्य प्लेटफर्म खोजिरहेका छन् भने केहीले सबैभन्दा पहिले फिफियाजस्तै प्लेटफर्म खोजेर रकम राख्ने पछि लोभ नगरी आफ्नो रकम उठेपछि त्यस्ता प्लेटफर्ममा रकम जम्मा गर्ने काम बन्द गर्ने योजना बनाइरहेका छन् ।

यसले गर्दा प्रयोगकर्ताहरू थप जोखिममा पर्ने देखिएको अनुसन्धान गरिरहेका एक व्यक्तिको तर्क छ । "मान्छे आफ्नो रकम उठाउने लोभमा यस्ता प्लेटफर्ममा फस्दै जान्छन्," उनले भने, "यसबाट रकम उठ्नेभन्दा पनि भएभरको रकम डुब्ने सम्भावना धेरै हुन्छ ।"

त्यसैले प्रयोगकर्तालाई क्षणिक मोटो रकम कमाउन सकिने प्लेटफर्ममा विश्वास नगर्न उनले सुझाव दिए । उनले अगाडि भने, "छोटो समयमै राम्रो रकम आम्दानी गर्ने बानी परेपछि यो हटाउन अवश्य पनि गाह्रो हुन्छ । तर, पनि त्यसैमा लागिरहने हो भने उनीहरूले भयावह अवस्थाको समाना गर्नुपर्ने हुन्छ ।"

यसअघि बङ्गलादेश, भारत, केन्या, पाकिस्तान जस्ता देशमा पनि यस्ता प्लेटफर्मको बिगबिगी मौलाएको थियो । फिफिया जस्तै ती प्लेटफर्मले पनि प्रयोगकर्तालाई छोटो समयमा मोटो रकम उपलब्ध गराउने आश्वासन दिएका थिए ।

विभिन्न देशका स्थानीय सञ्चार माध्यमका अनुसार यस्ता प्लेटफर्मले पछि प्रयोगकर्ताको रकम लुटेर फरार भएका थिए । यसरी प्रयोगकर्ताले लिङ्क गरेको बैंकको रकम समेत रित्तिएको थियो । फिफिया पनि तिनै व्यक्तिहरूले फरक नामबाट सञ्चालन गरिरहेको ठगी धन्दा भएको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८० ११:३५