close

आईफोन १५ मा ब्याट्री तात्तिने समस्या आएपछि नयाँ आईओएस अपडेट ल्याउँदै एप्पल

टेकपाना टेकपाना

असोज १४, २०८० १४:२४

आईफोन १५ मा ब्याट्री तात्तिने समस्या आएपछि नयाँ आईओएस अपडेट ल्याउँदै एप्पल

 

काठमाडौं । आईफोन १५ प्रो र प्रो म्याक्समा आएको ब्याट्री तात्तिने समस्या समाधान गर्न एप्पलले आईओएस १७ मा नयाँ अपडेट ल्याउने भएको छ । फोर्ब्स तथा म्याक र्‍युमर्सका पत्रकार डेभिड फेलानलाई एक विज्ञप्ति पठाउँदै एप्पलले ब्याट्री तात्तिने समस्या नयाँ अपडेटमार्फत समाधान गर्ने उल्लेख गरेको हो ।

एप्पलका अनुसार थर्ड पार्टी एपमा हालै आएका नयाँ अपडेटका कारण सिस्टममा ओभरहिटिङको समस्या आएको छ । विशेषगरी इन्स्टाग्राम, उबर, रेसिङ गेम अश्फाल्ट नाइनः लिजेन्ड जस्ता एपमा सिस्टमले धान्नै नसक्ने अपडेट आउँदा तात्तिने समस्या आएको एप्पलले जनाएको छ ।

यिनै समस्या समाधान गर्न यी एपका डेभलपरसँग एप्पलले काम गरिरहेको म्याक र्‍युमर्सले उल्लेख गरेकाे छ । गत बुधवार इन्स्टाग्रामले नयाँ अपडेट सार्वजनिक गर्दै उक्त समस्या समाधान गरेको जानकारी दिएको छ । यसो त एप्पलले आफैंले पनि आईफोन १५ प्रो सुरुवाती दिनमा अपेक्षा गरिएको भन्दा बढी तात्तिने बताएको छ ।

विशेषगरी फोन सेट गर्दा वा डेटा रिस्टोर गर्दा ब्याकग्राउन्ड एक्टिभिटी बढ्ने भएकाले आईफोन १५ प्रो र प्रो म्याक्स तात्तिएकाे एप्पलको भनाइ छ । त्यसैले अस्थायी रूपमा नयाँ आईफोनमा यस्तो समस्या देखिनु सामान्य भएको विश्लेषकको तर्क छ ।

“हामीले केही कन्डिसन पहिचान गरेका छौं, जसले आईफोनलाई अपेक्षितभन्दा बढी तातो बनाइरहेको छ,” एप्पलको विज्ञप्तिमा लेखिएको छ, “ब्याकग्राउन्ड एक्टिभिटी बढेको कारण डिभाइस सेटअप वा रिस्टोर गरेपछि सुरुका केही दिनहरूमा डिभाइस बढी तातो हुनसक्छ ।”

कम्पनीले आईओएस १७ मा फेला परेको बग (कमजोरी) का कारण यस्तो समस्या आइरहेको बताउँदै नयाँ अपडेट आईओएस १७.१ मार्फत् समस्या समाधान हुने जनाएकाे छ । हाल बेटा भर्सनमा चलिरहेको यो अपडेट अक्टोबर अन्तिमसम्म उपलब्ध हुने अपेक्षा गरिएको छ । त्यसभन्दा अगाडि आउने सफ्टवेयर अपडेट आईओएस १७.०.३ मा कम्पनीले यो समस्या समाधान गर्ने सम्भावना पनि उत्तिकै छ ।

कतिपयले आईफोन १५ प्रो र १५ प्रो म्याक्समा कम्पनीले प्रयोग गरेको ए१७ बायोनिक चिपको पर्फर्मेन्सले गर्दा त्यस्तो समस्या आएको अड्कल काटेका थिए । जसले गर्दा सो चिपको पर्फमेन्स घटाउनुपर्ने आवाज उठिरहेको थियो । तर, एप्पल भने पर्फर्मेन्स घटाउने पक्षमा छैन । एप्पलले फोन तात्तिने समस्या सुरक्षा जोखिम नभएको र यसले पछि पनि आईफोनको पर्फर्मेन्सलाई कुनै असर नगर्ने दाबी गर्दै आएको छ । 

त्यस्तै कम्पनीले फोन तात्तिने समस्याको कारण अरू नै भएको र टाइटानियम फ्रेमले आईफोन तात्ने विषयमा कुनै भूमिका नखेल्ने स्पष्ट पारेकाे छ । यसो त सबै आईफोन १५ प्रो र प्रो म्याक्स प्रयोगकर्ताले फोन तात्तिने समस्या आएको गुनासाे गरेका छैनन् ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८० १४:२४