काठमाडौँ । चिनियाँ प्रविधि कम्पनी लेनोभोले चार वर्षपछि पुनः स्मार्टफोन बजारमा पुनरागमन गरेको छ । नयाँ गेमिङ फ्ल्यागशिप लेनोभो लिजन वाई ७० को साथमा कम्पनी स्मार्टफोन बजारमा फर्किएको हो ।
सन् २०२२ मा वाई ९० सार्वजनिक गरेपछि स्मार्टफोन बजारबाट कम्पनी हराएको थियो । लेनोभो लिजन वाई ७० (२०२६) फोन हाल चीनमा सार्वजनिक गरिएको छ, जसमा गेमिङ प्रेमीहरूका लागि शक्तिशाली हार्डवेयर र विशेष फिचरहरू समावेश गरिएका छन् ।
लिजन वाई ७० मा ६.८२ इन्चको BOE Q10 OLED डिस्प्ले रहेको छ । जसले टुके (2K) रेजोलुसन र १४४ हर्ज रिफ्रेश रेट सपोर्ट गर्दछ । कम्पनीका अनुसार यसको सबैभन्दा आकर्षक पक्ष भनेको यसको ७,००० निट्सको पिक ब्राइटनेस हो ।
यसमा डल्बी भिजन, डीसी डिमिङ र आँखाको सुरक्षाका लागि एसजीएस प्रमाणीकरण पनि रहेको छ । यो फोन आइस सोल ह्वाइट र कार्बन ब्ल्याक गरी दुई आकर्षक रङ्गहरूमा उपलब्ध छ । फोनको तौल २२४ ग्राम रहेको छ ।
यो फोनमा क्वालकमको शक्तिशाली Snapdragon 8 Gen 5 प्रोसेसर राखिएको छ । यसलाई १२ जीबी वा १६ जीबीको LPDDR5X र्याम र २५६ जीबी, ५१२ जीबीदेखि १ टीबीसम्मको UFS 4.1 स्टोरेज भेरियन्टमा उपलब्ध गराइएको छ ।
गेमिङ गर्दा फोन तातिन नदिन यसमा ५,५०० वर्ग मिलिमिटरको ठुलो भेपर च्याम्बर कुलिङ सिस्टम राखिएको छ । जसले सीपीयूको तापक्रम ७ डिग्री सेल्सियससम्म घटाउन सक्छ ।
लेनोभोले यसमा ८,००० एमएएचको शक्तिशाली ब्याट्री दिएको छ । जसले सामान्य प्रयोगमा दुई दिनसम्म ब्याकअप दिने दाबी गरिएको छ । यसले ९० वाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ । साथै यसमा बाइपास चार्जिङ सुविधा छ । जसले गर्दा गेम खेल्दा ब्याट्री चार्ज नगरी सिधै बिजुलीबाट फोन चलाउन सकिन्छ । यसले ब्याट्रीको आयु बचाउँछ । कम्पनीका अनुसार यो ब्याट्री ७ वर्ष वा १,२०० चार्जिङ साइकलसम्म प्रभावकारी रहनेछ ।
क्यामेराको कुरा गर्दा यसको पछाडि ५० मेगापिक्सेलको सोनी LYT-710 मुख्य सेन्सर (ओआईएससहित) र ८ मेगापिक्सेलको अल्ट्रा-वाइड लेन्स रहेको छ । जसले २.५ सेमी टाढाको म्याक्रो शट पनि लिन सक्छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । फोन एन्ड्रोइड १६ मा आधारित लेनोभोको तियान्सी एआई ४.० (Tianxi AI 4.0) सफ्टवेयरमा चल्छ ।
फोनमा विशेष गेमिङ सुविधाहरू पनि छन् । जस्तै ५०० हर्जको जाइरोस्कोप र लेनोभो लिजन पीसीसँग जोडेर पीसीका एएए गेमहरू खेल्न सकिने प्रविधि यसमा पाउन सकिन्छ । फोनमा वाईफाई ७, ब्लुटुथ ६.०, एनएफसी र ई-सिमको सुविधा पनि दिइएको छ ।
सुरक्षाका लागि यो फोन धुलो र पानीबाट सुरक्षित रहन आईपी-६६, आईपी-६८ र आईपी-६९ रेटिङ प्राप्त छ भने १.८ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने गरी बलियो बनाइएको छ ।
चीनमा यो फोनको सुरुवाती मूल्य ३,०९९ युआन (७० हजार रुपैयाँ) तोकिएको छ । यो मूल्य १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टका लागि हो । त्यस्तै १६ जीबी र्याम र एक टीबी स्टोरेज भएको सबैभन्दा महँगो भेरियन्टको मूल्य ४,८९९ युआन (करिब १ लाख ११ हजार रुपैयाँ) रहेको छ । यो फोन हाल चीनमा प्रि-अर्डरका लागि खुला गरिएको छ । तर विश्वव्यापी उपलब्धताको बारेमा भने जानकारी दिइएको छैन ।
पछिल्लो अध्यावधिक: जेठ ९, २०८३ ७:२९
