close

सार्वजनिक हुनुअघि नै ‘गुगल पिक्सेल ८ प्रो’ को अनबक्सिङ भिडियो युट्युबमा छ्यापछ्याप्ती

टेकपाना टेकपाना

असोज १६, २०८० १४:३६

सार्वजनिक हुनुअघि नै ‘गुगल पिक्सेल ८ प्रो’ को अनबक्सिङ भिडियो युट्युबमा छ्यापछ्याप्ती

काठमाडौं । गुगलको बहुप्रतिक्षित पिक्सेल फोन भोलि बुधवार सार्वजनिक हुँदैछ । तर, फोन सार्वजनिक हुनु अगावै फोनको अनबक्सिङ गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ ।

नाइन टु फाइभ गुगलका अनुसार युट्युबमा पीबीके रिभ्युजले सबैभन्दा ‘गुगल पिक्सेल ८ प्रो’ अनबक्स गरेको भिडिओ राखेका थिए । सो भिडिओमा त्यति धेरै जानकारी दिइएको छैन । तर, बक्ससँगै के के आउँछ भन्ने सबै देखाइएको छ ।

प्याकेजमा यूएसबी-सी केबल, एउटा म्यानुअल गाइड बुक, क्वीक स्वीच एडप्टर उपलब्ध गराइएको देख्न सकिन्छ । क्वीक स्वीच एडप्टरको सहायताले प्रयोगकर्ताले आफ्नो पुरानो पिक्सेल फोनबाट नयाँ पिक्सेल ८ र ८ प्रोमा सजिलै सबै डेटा ट्रान्सफर गर्न सक्छन् । 

अनबक्स गरिएको भिडिओमा गुगल पिक्सेल ८ प्रो चम्किलो खैरो रङ्गमा देखिएको छ । त्यसमा सिल्भर कलरको बारमा क्यामेरा समावेश गरिएको छ । यि जानकारी पहिले नै विभिन्न लिकरहरूले बाहिर ल्याइसकेका थिए । पीबीके रिभ्युजका सञ्चालकले फोन अन गरेर त्यसको लक स्क्रिन समेत देखाएका छन् । उनको अनबक्सिङ भिडिओ आइसकेपछि विश्लेषकले त्यसमा इन-डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर हुने विश्लेषण गरेका छन् ।

लिक भएका विभिन्न जानकारीका अनुसार पिक्सेल ८ प्रोमा ६.७ इन्चको डिस्प्ले हुन्छ । सो फोनमा ५० मेगापिक्सेलको वाइड लेन्स, ४८ मेगापिक्सेलको म्याक्रो फोकस सहितको अल्ट्रावाइड क्यामेरा र फाइभ एक्स टेलिफोटो लेन्ससहितको ४८ मेगापिक्सेल सेन्सर हुने बताइएको छ ।

त्यस्तै पिक्सेल ८ मा भने ६.१७ इन्चको डिस्प्ले, ५० र १२ मेगापिक्सेलको डुअल क्यामेरा हुनेछ । विभिन्न लिकरका अनुसार दुबै मोडेलमा फोटोलाई स्तरीय बनाउन एआई इन्ह्यान्स्ड फिर र प्रयोगकर्ताको शरीरको तापक्रम ट्रयाक गर्न टेम्प्रेचर सेन्सर समावेश गरिएको छ । 

बुधवार हुने मेड बाई गुगल इभेन्टमा गुगल पिक्सेल ८ लाइनअप र वाच टु बारे थप जानकारी बाहिर आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज १६, २०८० १४:५३