close

एप्पल प्रयोगकर्ताले अब एक्स र युट्युबबाट च्याट सपोर्ट नपाउने

टेकपाना टेकपाना

असोज १७, २०८० १५:३८

एप्पल प्रयोगकर्ताले अब एक्स र युट्युबबाट च्याट सपोर्ट नपाउने

काठमाडौं । एप्पलले ट्वीटरका रूपमा परिचित एक्सबाट दिँदै आएको ग्राहक सेवा बन्द गरेको छ । एप्पलको जानकारी बाहिर ल्याउने प्लेटफर्म म्याकर्‍युमर्सले  सोमबार एक पोस्ट राख्दै एप्पलले एक्सबाट दिँदै आएको ग्राहक सेवा बन्द भएको जानकारी दिएको हो ।

यसअघि एक्समा कुनै एप्पल प्रयोगकर्ताले कम्पनीलाई ट्याग गर्दै एक्समा गुनासो राखे एप्पल सपोर्टको टिमले सो व्यक्तिको डीएममै मेसेज गरेर समस्या समाधान गर्थ्यो । त्यसबाहेक पनि प्रयोगकर्ताहरू एप्पल सपोर्टको ह्यान्डलमा गएर आफ्नो गुनासो राख्न सक्थे । त्यसको केही समयमै एप्पलका ग्राहक सेवा प्रतिनिधिले ती प्रयोगकर्ताको समस्याको समाधानको तरिका बताउँथे ।

अब भने एप्पल सपोर्टलाई डीएम गर्दा एप्पल सपोर्टका लागि अर्को लिङ्कमा जान भन्दै वेबसाइटको लिङ्क उपलब्ध गराइएको छ । गत अगस्टमा म्याकर्‍युमर्सले एक रिपोर्टमार्फत एप्पलले सोसल मिडिया सपोर्ट एड्भाइजरका रूपमा रहेका १५० कर्मचारी निकाल्ने तयारी गरेको उल्लेख गरेको थियो ।

विशेषगरी एप्पलले युट्युब, एक्स तथा एप्पल सपोर्ट कम्युनिटी फोरममा रहेका कर्मचारी हटाउन लागेको बताइएको थियो । रिपोर्टमा कम्पनीले कर्मचारी हटाएर नयाँ तरिकाकाे सेवा अक्टोबर १ देखि प्रयोगमा ल्याउने रिपोर्टमा भनिएको थियो ।

म्याकर्‍युमर्सले भने जस्तै एप्पलले सोही दिनदेखि एक्समार्फत गुनासो सम्बोधन गर्न छोडेको हो । पहिले एप्पल सपोर्टको एक्स ह्यान्डलको बायोमा ‘हामी हरेक दिन तपाईंका प्रश्नको उत्तर दिनेछौं’ लेखिएको थियो । त्यसलाई परिवर्तन गर्दै एप्पलले बायोमा प्रयोगकर्तालाई सबैभन्दा बढी आवश्यक पर्ने टिप्स, ट्रिक्स तथा अन्य उपयोगी सूचना उपलब्ध गराउन सो प्लेटफर्ममा आएको उल्लेख गरेको छ ।

त्यस्तै युट्युब कमेन्टमा आएका प्रयोगकर्ताका जिज्ञासा पनि एप्पलले सम्बोधन गर्न छोडेको छ । यसअघि प्रयोगकर्ताको प्रश्नको जवाफ उक्त कम्पनीका प्रतिनिधिले रिप्लाई गरेर दिन्थे । विभिन्न सञ्चार माध्यमले एप्पलसँग यसबारे प्रश्न राखेका थिए । तर, एप्पलले हालसम्म पनि कुनै जवाफ नदिएको उनीहरूको तर्क छ ।

पछिल्लो अध्यावधिक: असोज १७, २०८० १५:३८