close

एक्सले देखाउन छोड्यो शेयर गरिएका समाचारको शीर्षक

टेकपाना टेकपाना

असोज १८, २०८० १२:१९

एक्सले देखाउन छोड्यो शेयर गरिएका समाचारको शीर्षक

काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्समा शेयर भएका आर्टिकलको हेडलाइन देखिन बन्द भएको छ । द भर्जका अनुसार बुधवार रातिदेखि एक्समा शेयर भएका लिङ्कको फोटो मात्र देखिन थालेको हो । 

यसो त एक्सका मालिक एलन मस्कले यो अप्रत्याशित रूपमा ल्याएको परिवर्तन होइन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फर्च्युनले गत अगस्टमै मस्कले यस्तो फिचर ल्याउन लागेको उल्लेख गरेको थियो । सो समाचारको स्क्रिनशट शेयर गर्दै एक्स न्युज डेलीले समाचारको अंश पोस्ट गरेको थियो । सो पोस्टमा रिप्लाई गर्दै मस्कले उक्त निर्णय सोझै आफूबाट आएको बताएका थिए । 

अहिले वेबमा एक्स खोल्दा उक्त परिवर्तन देख्न सकिन्छ । केही प्रयोगकर्ताले आईओएस तथा एन्ड्रोइडमा समेत हेडलाइन तथा डिस्क्रिप्सन देखिन छोडेको दाबी गरेका छन् । यद्यपि नेपालबाट भने एन्ड्रोइडमा नयाँ अपडेट आए पनि हेडलाइन देखिन छोडेको छैन ।

यता आईफोनमा भने हेडलाइन देखिन छोडिसकेको छ । शेयर भएको आर्टिकलमा अहिले फिचर फोटो मात्र देखिन थालेको छ । फिचर फोटोको तल वायाँपट्टि वेबसाइटको डोमेन नेम राखिएको छ । माउसको क्रसरलाई फिचर फोटोको माथि राख्ने हो भने तलपट्टि एक्सको शर्टक लिङ्क मात्र देखिन्छ । यससँगै अब समाचारमा के छ भन्ने विषय क्रियटरले लिङ्कको माथि नै हेडलाइन राख्नुपर्ने वा फिचर फोटो नै थम्बनेल जस्तो बनाएर राख्नुपर्ने अवस्था आएको छ ।  

पछिल्लो समय मस्कले प्रयोगकर्तालाई एक्समा पोस्ट गर्न प्रेरित गरिरहेका छन् । विशेषगरी सो प्लेटफर्ममा प्रयोगकर्ताको सक्रियता बढाउन  उनले एक्समा भिडिओ प्रत्यक्ष प्रसारण गर्ने, गेम स्ट्रिम गर्ने लगायतका सुविधा ल्याएका छन् । अहिले प्रयोगकर्तालाई एक्समै अडाइराख्न एल्गोरिदमलाई पनि परिष्कृत गरिएको मस्कको भनाइ छ । 

हुन त मस्कले क्लिक बेट (शीर्षक आकर्षक राखेर भित्र असान्दर्भिक वा फरक लेख राख्ने परिपाटी) कम गर्न यस्तो निर्णय गरेको बताएका थिए । त्यसबाहेक पनि शेयर हुने लिङ्कको फोटो, वेबसाइटको डोमेन नेम, शीर्षक र डिस्क्रिप्सनले ओगट्ने ठाउँ पनि बढी भएको उनको तर्क थियो ।

केही महिनाअघि उनले पोस्टको तल आउने ‘ट्वीट फर एन्डोइड’, ‘ट्वीट फर आईफोन’, वा ‘ट्वीट फर वेब’ को सेक्सनको कुनै अर्थ नभएको र त्यसले स्पेस बढी ओगटेको भन्दै सो सेक्सन हटाएका थिए । अहिले प्रयोगकर्ताको एक्सपिरियन्स सुधार गर्न शीर्षक र डिस्क्रिप्सन हटाएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १८, २०८० १२:१९