काठमाडौं । गुगलले हालै फ्ल्यागशिप स्मार्टफाेन पिक्सेल ८ सिरिज सार्वजनिक गरेकाे छ । यसअन्तर्गत सार्वजनिक भएका पिक्सेल ८ र पिक्सेल ८ प्रो फाेनमा विभिन्न एआई फिचर प्रदान गरिएकाे छ ।
त्यस्तै यी फाेनमा सात वर्षसम्मको सफ्टवेयर अपडेट दिइएकाे छ । जसअनुसार प्रयाेगकर्ताले एन्ड्रोइड ओएस, सेक्युरिटी अपडेट तथा अन्य विभिन्न आकर्षक फिचरहरू सात वर्षसम्म प्रयोग गर्न पाउनेछन् । त्यस्तै कम्पनीले सात वर्षसम्मकै लागि हार्डवेयर सपोर्ट उपलब्ध गराउने भएकाे छ । यसको अर्थ पिक्सेल ८ र पिक्सेल ८ प्रोका लागि सात वर्ष अवधिभर स्पेयर पार्टस् उपलब्ध हुनेछ ।
पिक्सेल ८ प्रोमा ६.७ इन्चको सुपर अक्टा डिस्प्ले रहेको छ । यसलाई कम्पनीले अहिलेसम्मकै सबैभन्दा ब्राइटेस्ट डिस्प्ले भएकाे फोनका रूपमा चित्रण गरेकाे गरेको छ । यसको अर्थ तपाईंले जस्तोसुकै चर्को घाममा पनि अल्ट्रा एचडीआर फोटोहरू हेर्न सक्नुहुनेछ ।
पिक्सेल ८ प्रोमा कम्पनीले टेम्प्रेचर सेन्सर पनि समावेश गरेको छ । यसको सहायताले प्रयोगकर्ताले कुनै पनि सतहको तापक्रम मापन गर्न सक्नेछन् । विशेषगरी कुनै भाडा तातिएको छ वा छैन भन्ने पनि फोनले स्क्यान गरेरै थाहा दिने गुगलले उल्लेख गरेको छ ।
त्यस्तै आफूले पिउन लागेको पानी कति ताताे छ भनेर फोन स्क्यान गरेरै थाहा पाउन सकिनेछ । यसका लागि कम्पनीले ‘फुड अफ ड्रग एड्मिनिस्ट्रेसन’ (एफडीएस)लाई पिक्सेल फोनमा थर्मोमिटर एप इनेबल गराउने स्वीकृतिका लागि निवेदन दिएको छ । एफडीएले अनुमति दिइसकेपछि फोनको थर्मोमिटर एपले उपलब्ध गराएको तापक्रमको विवरण फिटबिटमा सेभ हुनेछ ।
पिक्सेल ८ र पिक्सेल ८ प्रोमा सबैभन्दा बढी सुधार क्यामेरामा गरिएको जनाएको छ । यसबाट खिचिने फोटो तथा भिडिओ स्तरीय बनाउन क्यामेरा सिस्टम र एडिटिङ टुल्स अपग्रेड गरिएको छ ।
लो लाइट सेटिङमा पनि पिक्सेल ८ प्रोको मुख्य क्यामेराले आकर्षक फोटो तथा भिडिओ खिच्ने कम्पनीको दाबी छ । यसमा भएको अल्ट्रावाइड लेन्सले आकर्षक तवरबाट म्याक्रो फोकस गर्नेछ । त्यस्तै यसमा हुने टेलिफोटो लेन्सले वास्तविक फोटोको १० गुणा जुममा फोटो खिच्ने र ५६ प्रतिशत बढी लाइट खिच्ने जनाइएको छ ।
पिक्सेल ८ प्रो प्रयोगकर्ताले क्यामेराका विभिन्न प्रो फिचर प्रयोग गर्न पाउनेछन् । विशेषगरी शटर स्पिड, आईएसओ तथा ५० मेगापिक्सेल कन्ट्रोलमा पहुँच पाउन सकिनेछ ।
ग्रुप फोटो खिच्दा सबै व्यक्तिहरू तयारी अवस्थामा हुन्छन् भन्ने हुँदैन । कसैले आँखा चिम्लिएको हुन्छन्, कसैले फोटो खिच्नमा ध्यान दिएका हुँदैनन्, उदास मुद्रामा खिच्ने भनिएको फोटोमा कोही हाँसेको फोटो आइदिन्छ । हरेक पटक सबैलाई एउटै अवस्थामा राख्न सकिँदैन ।
यही कुरालाई मध्यनजर गर्दै गुगल पिक्सेल ८ मा ग्रुप फोटो तत्कालै आफूले चाहेजस्तो बनाउन सकिनेछ । यसले फोटो एउटै खिचे पनि अनुसार र टाउको फरक-फरक चाल खिचेको हुन्छ । प्रयोगकर्ताले तत्कालै एडिट टुलमा गएर सो व्यक्तिको उपयुक्त टाउकोको छनोट गरी फोटो सम्पादन गर्न सक्नेछन् ।
भिडिओ खिच्दा ब्याकग्राउन्ड न्वाइज आउने समस्या प्रायः सबैले अनुभव गरेका हुन्छन् । यो समस्या कम गर्नका लागि गुगलले पिक्सेल फोनमा एआईको सहायताले क्षणभरमै ब्याकग्राउन्ड न्वाइज हटाउन सक्ने सुविधा थप गरेको छ ।
कुनै पनि वेबपेजमा लेखिएका विषयलाई सारांशमा व्यक्त गर्नका लागि विभिन्न एआई टुल प्रयोग गर्ने क्रम बढ्न थालेको छ । गुगलले प्रयोगकर्ताको यो आवश्यकता महसुस गर्दै पिक्सेल फोनमार्फत क्षणभरमै वेबपेजका कन्टेक्स्टको सारांश तयार पारिदिने फिचर समावेश गरेको छ । यसको सहयाताले प्रयोगकर्ताले छोटोमा पढ्न पाउनुका साथै एआईको आवाजमा सुन्न पनि सक्नेछन् ।
प्रयोगकर्ताले अब पिक्सेल ८ सँग आफ्नै शैलीमा कुरा गर्न सक्नेछन् । उदाहरणका लागि बोल्दा बोल्दै व्यक्ले अम्, हम् जस्ता आवाज निकालेको छ भने पिक्सेल फोनले व्यक्तिले आफ्नो कुरा सक्काएको छैन भन्ने बुझ्छ र रोकिन्छ । वाक्य पुरा भइसकेपछि मात्र जवाफ दिने गुगलको भनाइ छ ।
एआईकै सहयताले प्रयोगकर्ताले ५० प्रतिशत कम स्पाम कल पाउने बताएको छ । अपरिचित नम्बरबाट आएका कल एआईले नै उठाइदिनेछ । त्यस्तै प्रयोगकर्ताले चाहेको र नचाहेको कल एआईले नै छुट्ट्यादिने कम्पनीको दाबी छ ।
गुगलले पिक्सेल ८ र पिक्सेल ८ प्रोको प्रि-अर्डर सार्वजनिक भए लगतै सुरु गरेको छ । यदि प्रयोगकर्ताले पिक्सेल ८ प्रो प्रि-अर्डर गरे भने उनीहरूले पिक्सेल वाच टु उपहार पाउनेछन् ।
यस्तो छ पिक्सेल ८ प्रो
पिक्सेल ८ प्रोमा १२० हर्ज क्षमताको ६.७ ईन्च एलटीपीओ ओलेड डिस्प्ले छ भने यसको रेजोलुसन १३४४*२९९२ पिक्सेल छ । डिस्पलेको सुरक्षाका लागि कम्पनीले कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु उपलब्ध गराउनेछ ।
एन्ड्रोइड १४ मा आधारित यो फोनमा गुगलको टेन्सर जी थ्री चिपसेट समावेश गरिएको छ । १२ जीबी र्याम क्षमताका भएको यो फोन १२८, २५६, ५१२ जीबी र १ टीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५० मेगापिक्सेलको मुख्य, ४८ मेगापिक्सेल पाँच गुणा जुम क्षमताको टेलिफोटो क्यामेरा र ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा रहेको छ । सेल्फी पारखीका लागि यसमा १०.५ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।
५०५० एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा ३० वाट वायर्ड र २३ वाट वायरलेस चार्ज सपोर्ट हुनेछ । कम्पनीले यो फोनलाई ३० मिनेटमै ५० प्रतिशत चार्ज गर्न सकिने दाबी गरेको छ ।
कस्तो छ पिक्सेल ८ ?
पिक्सेल ८ मा १२० हर्जको ६.२ इन्च ओलेड डिस्प्ले दिइएको छ । यसको रेजोलुसन १०८०*२४०० पिक्सेल छ । डिस्प्लेको सुरक्षाका लागि कम्पनीले कोर्निङ गोरिल्ला ग्लास भिक्टस टु उपलब्ध गराएको छ ।
एन्ड्रोइड १४ अपरेटिङ सिस्टममा आधारित यो फोन गुगल टेन्सर जी थ्री चिपसेटद्वारा सञ्चालित छ । ८ जीबी र्याम भएको यो फोन १२८ जीबी र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५० मेगापिक्सेलको मुख्य र १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा दिइएको छ । सेल्फी खिच्न रुचाउनेका लागि यसमा कम्पनीले १०.५ मेगापिक्सेलको क्यामेरा दिएको छ ।
यसमा ४५७५ एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई ३० वाटको वायर्ड र १८ वाटको वायरलेस चार्जरबाट चार्ज गर्न सकिनेछ । कम्पनीले पिक्सेल ८ पनि आधा घण्टामा ५० प्रतिशत चार्ज हुने दाबी गरेको छ ।