काठमाडौं । गोपनीयता केन्द्रित ब्राउजर बनाउने ब्रेभ सफ्टवेयरले कूल कर्मचारीमध्ये ९ प्रतिशतलाई कामबाट निकाल्ने भएको छ । समाचार संस्था टेक क्रन्चका अनुसार कम्पनीले संख्या नतोके पनि कर्मचारी निकाल्ने पुष्टि गरेको हो ।
यससँगै मेटा, गुगल, माइक्रोसफ्ट, नेटफ्लिक्स, अमेजन लगायतका अन्य ठूला प्रविधि कम्पनीले जस्तै आर्थिक मन्दीलाई कारण देखाउँदै कर्मचारी निकाला गर्ने कम्पनीमा ब्रेभ मिसिन पुगेको छ ।
ब्रेभ ब्राउजर र ब्रेभ सर्च इन्जिन चलाइरहेको कम्पनीले आर्थिक मन्दीकै कारण कर्मचारी कटौती गर्नुपरेको टेक क्रन्चकाे समाचारमा उल्लेख छ । तर कर्मचारी निष्कासन गरेपनि ब्राउजर र सर्च इन्जिनको विकासमा कुनै कसरत गर्न नछाड्ने ब्रेभले जनाएको छ ।
हाल ब्रेभले आफ्नो एपीआई, लियो (सशुल्क एआई एसिस्टेन्ट), ब्रेभ वालेट, विज्ञापन, मर्चेन्डाइज आदिबाट आम्दानी गर्ने गर्छ ।
यद्यपि गुगल, माइक्रोसफ्टका अगाडि ब्रेभलाई निकै सानो कम्पनी मानिन्छ । तर पछिल्लो समय गोपनीयतालाई ध्यान दिने प्रयोगकर्ताहरूको रोजाइमा ब्रेभ पर्न थालेको छ ।