close

त्रिवि इन्जिनियरिङ संस्थानको वेबसाइट एक महिनादेखि बन्द, के हो कारण ?

टेकपाना टेकपाना

असोज २२, २०८० १७:२

त्रिवि इन्जिनियरिङ संस्थानको वेबसाइट एक महिनादेखि बन्द, के हो कारण ?

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को आधिकारिक वेबसाइट नचलेको एक महिनाभन्दा बढी भइसकेको छ । शुल्क वृद्धिको आन्दोलन चुलिंदै जाँदा चल्न छाडेको संस्थानको आईओई डट ईडीयू डट एनपी (ioe.edu.np) वेबसाइट अझै सञ्चालनमा आउन नसकेको हो । 

महिनादिन बितिसक्दा समेत आईओईको वेबसाइट अझै निष्क्रिय छ । जसका कारण आईओई अन्तर्गतका कलेजहरूमा पढ्न चाहेका विद्यार्थीहरूलाई आधिकारिक सूचना हेर्न समेत समस्या भएको छ । यद्यपि आईओईको वेबसाइट अन्तर्गतको प्रवेश परीक्षा सम्बन्धी अर्को सबडोमेन (entrance.ioe.edu.np) भने चलिरहेको छ । 

जसमा केही सूचनाहरू राखिएका छन् । यसबारे बुझ्दा शुल्कको विवादका कारण वेबसाइट मर्मत तिर ध्यान नगएको सहायक डीन प्रा.डा. चिन्तामणि पोखरेलले बताए । 

अब शुल्कको विवाद समाधान भइसकेकाले उक्त समस्या सम्बोधन गर्न तिर पनि लाग्ने उनले जनाए । त्यस्तै आफ्ना दुईमध्ये एउटा वेबसाइटले काम गरिरहेकाले त्यसबाट सबै सूचना हेर्न सकिने उनको भनाई छ । 

साथै आङ्गिक कलेजहरूको वेबसाइट र तिनको आधिकारिक फेसबुक पेज मार्फत पनि विभिन्न सूचना हेर्न सकिने व्यवस्था रहेको पनि उनले बताए । 

यसरी आईओईले ख्याल नगरेर आफ्नो वेबसाइट व्यवस्थापन गर्न नसकेको देखिन्छ । तपाईं आईओई डट ईडीयू डट एनपी (ioe.edu.np) मा जानु भयो भने स्क्रिनमा उक्त कनेक्सन प्राइभेट नभएको सन्देश देखा पर्छ । 

त्यसको तल आक्रमणकारीले आईओई डट ईडीयू डट एनपीबाट तपाईंको जानकारी जस्तै पासवर्ड, मेसेज तथा क्रेडिट कार्ड चोर्ने प्रयास गरिरहेका छन् भन्ने जानकारी देखिन्छ । 

त्यसभन्दा मुनी ‘ब्याक टु सेफ्टी’को विकल्प देखिन्छ भने तल एड्भान्स्डको अप्सन रहेको छ । ब्याक टु सेफ्टीमा क्लिक गर्दा उक्त पेजबाट अघिल्लो पेजमा रिडाइरेक्ट हुन्छ । 

एड्भान्स्डमा क्लिक गर्दा माथि प्रोसिड टु आईओई डट ईडीयू डट एनपीको लिङ्क देखिन्छ । उक्त अप्सनमा ट्याप गर्‍यो भने आईओईको वेबसाइटमा पुगिन्छ ।

 

महिना दिन देखि नचलेको संस्थानको वेबसाइट

तर, सुरुमै साइट असुरक्षित छ लेखिएको सन्देशले प्रयोगकर्ता साइटमा प्रवेश गर्नै डराउने अवस्था रहेको छ । डोमेनमा सेक्योर सकेट लेयर (एसएसएल) भन्ने एउटा लेयर हुन्छ । 

एसएसएल सर्टिफिकेट भनेको हरेक वेबसाइटको डोमेनमा प्रवेश गराउने सर्टिफिकेट हो भन्ने बुझ्दा हुन्छ । अहिलेको ब्राउजरले एसएसएल सर्टिफिकेट भएको डोमेन सुरक्षित हो भनेर बुझ्छ । 

एसएसएल सर्टिफिकेट राख्ने हो भने वेबसाइटको डेटा सुरक्षित प्रयोगकर्तासम्म पुग्छ भन्ने बुझिन्छ । यस्तो हुँदा ‘म्यान इन द मिडल अट्याक’ अर्थात ब्राउज गर्ने व्यक्ति र ब्राउज हुने वेबसाइटमा कुनै मध्यस्तकर्ता हुँदैन । जसले गर्दा वेबसाइटको डेटा सुरक्षित मानिन्छ । 

एसएसएल राखिएको छैन भने सर्भरबाट यूजरसम्म पुग्ने बेला त्यो इन्क्रिप्ट नभइकन यत्तिकै पठाइरहेको हुन्छ । त्यसैले बीचमा कोही ह्याकर छ भने के रिप्लेस गरिरहेको छ ? के डेटाहरू बीचमा आइरहेका छन्, ह्याक गरिदिन सक्छन् । 

त्यसैले वेब सेक्युरिटीको परिदृश्यबाट कुनै वेबसाइटमा यस्तो सर्टिफिकेट राख्नु एकदमै जरुरी हुने साइबर सुरक्षा जानकारहरू बताउँछन् । ब्राउजरले पनि एसएसएल राख्नुपर्ने सर्त राखेको राखेको हुन्छ । 

पहिले यस्तो सर्टिफिकेट नराख्दा ब्राउजरले रोख्दैन थ्यो । अहिले सर्टिफिकेट अनिवार्य रूपमा राख्नुपर्ने बनाइएको छ ।

यस्तो एसएसएल सर्टिफिकेट होस्टिङ र डोमेन प्रदायक दुवैले उपलब्ध गराउँछन् । कतिपय अवस्थामा यस्तो सर्टिफिकेट निःशुल्क पनि पाइन्छ । 

केही अवस्थामा भने शुल्क तिर्नुपर्छ । आफैंले साइट भरपर्दो बनाउँछु भन्ने हो भने खरिद गर्न पाइन्छ । होइन, निःशुल्क पाएको एसएसएल सर्टिफिकेट प्रयोग गर्छु भन्ने विकल्प ‍पनि हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८० १७:२