close

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

टेकपाना टेकपाना

असोज २४, २०८० २२:४२

प्रेमीलाई विश्वास गरी एटीएम कार्ड दिँदा १७ लाख ठगी काण्डमा यसरी फसिन् विवाहित महिला

काठमाडौं । झन्डै एक वर्षअघि ललितपुर महानगरपालिका वडा नं. १९ बस्ने २९ वर्षीय सनिशा मल्लको सम्पर्कमा एक पुरुष सम्पर्कमा आए । उनीहरूबीच पहिलो पटक ह्वाट्सएपमा कुरा भएकाे थियाे । अपरिचित पुरुष विवाहित मल्ललाई प्रभावित पार्न दिनहुँजसो कुरा गर्थे । कुरा गर्ने क्रम बढ्दै गएपछि उनीहरू नजिकिए । पछि प्रेमी प्रेमिका नै बने । प्रेमी प्रेमिका भए पनि उनीहरूबीच भेटघाट भएको थिएन । उनीहरूलाई जोड्ने काम केबल ह्वाट्सएपले गरिरहेकाे थियाे ।

प्रेमिका बनाइसकेपछि ती युवकले मल्ललाई विभिन्न प्रलोभनमा पारेर झनै नजिक भएको आभास दिन थाले । समय बित्दै गएपछि उनीहरूबीच व्यक्तिगत र व्यावसायिक कुराहरू पनि साटासाट भयाे । युवकले आफूलाई केही बैंक अकाउन्ट आवश्यक परेको भन्दै मल्ललाई उनको नामबाट विभिन्न बैंकमा खाता खोल्न अनुरोध गरे ।

प्रेमीले भनिसकेपछि महिलाले पनि नाइँ भनिनन् । पछि युवकले भने बमोजिम नै विभिन्न १० ओटा बैंकमा खाता खोलिन् । त्यसको केही समयपछि युवकले चेकबुक र एटीएम कार्ड पार्सल गरेर पठाइदिन अनुरोध गरे । 

महिलाले पनि युवकले भनेझैं गरिन् र पार्सल गरेर पठाइदिन् । पार्सल गर्ने क्रममा कागजात पठाएको भनेपछि पार्सल गरिदिनेले पनि पुर्याउनुपर्ने ठाउँमा पुर्‍याइदिए ।

एटीएम कार्ड र चेक पाएपछि युवकले महिलालाई आदर भावसहित धन्यवाद दिए र केही समय उनीहरूबीच त्यसरी नै कुराहरू अगाडि बढिरह्याे । 

उता युवक भने महिलाबाट प्राप्त एटीएम कार्डको दुरुपयोग गर्नतर्फ लाग्छन् । उनी भारत गएका हुन्छन् । भारतबाट नक्कली अकाउन्ट बनाएर विभिन्न नेपालीसँग जोडिन्छन् । जो कुरा गरेर नजिक भएको छ, उसलाई आफू इटालीको नागरिक भन्दै नजिकिन्छन् । पछि कुरा धेरै अगाडि बढिसकेपछि गिफ्ट पठाइदिने प्रलोभन दिन्छन् ।

विशेषगरी आईफोन, लेडिज ब्याग, गरगहना र पाँच हजार डलर गिफ्ट पठाइदिने आश्वासन दिन्छन् । यता गिफ्ट पाउने भएपछि उनीसँग नक्कली अकाउन्टबाट जोडिएका नेपालीहरू पनि दङ्ग हुन्छन् र गिफ्ट पाउने प्रलोभनमा पर्छन् । तर, गिफ्ट आउँछ भनेकै दिन ह्वाट्सएपमा नयाँ नम्बरबाट मेसेज आउँछ ।

सो मेसेजमा इटालीका नागरिक डा. रबिया हिकोलीले (Dr. Rabaea Hicolae) ले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको भन्ने मेसेज आउँछ । र, उक्त गिफ्टको पार्सल पाउन भन्सार तथा डेलिभरी शुल्क तिर्नुपर्ने भनिएको हुन्छ । फेसबुकमा जोडिएका व्यक्तिले पनि ह्वाट्सएपको मेसेजमा पठाइएको अकाउन्टमा रकम पठाउँछन् । यसरी विभिन्न शीर्षकमा रकम पठाउँदा एक पीडितले १७ लाख १५ हजार रुपैयाँ पठाइसकेका हुन्छन् । 

आफू ठगिएको थाहा पाएपछि पीडितले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिन्छन् । उजुरी पछि अनुसन्धान गर्दै जाँदा सबै रकम मल्लको अकाउन्टमा गएको देखियो । उनलाई प्रहरीले सम्पर्क गरी कार्यालयमा बोलाए । उनी सहजै प्रहरी कार्यालयमा आइन् । उनी कार्यालयमा आउनुअघि ती युवकसँग सम्बन्ध बिग्रिसकेको थियो । पछि उनले आफ्नो सबै बैंक अकाउन्ट बन्द गरिन् पनि ।

तर, उनको अकाउन्टमा पहिले नै मोटो रकम ट्रान्सफर भइसकेको थियो । कार्यालयबाट अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनी आफ्नो अकाउन्टमा आएको रकम पीडितलाई दिन सक्ने अवस्थामा थिइनन् । किनभने उनले आफ्नो अकाउन्टमा आएको रकममध्ये एक सुक्को पनि पाएकी थिइनन् । रकम तिरेर घटना मिलाउन नसक्ने अवस्था आएपछि पीडितले ठगी सम्बन्धी कसूरमा उजुरी दिए । र, प्रहरीले मल्ललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढायो । पक्राउ गरिसकेपछि प्रहरीले सनिशा मल्ललाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ । 

अनलाइनमा भेटेका युवकलाई विश्वास गरेर आफ्नो एटीएम कार्ड उपलब्ध गराउँदा मल्ललाई १७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार मल्ल एक प्रतिनिधि पात्र हुन् । उनी जस्तै विश्वास गरेर अर्कालाई आफ्नो बैंक विवरण र अन्य कागजात उपलब्ध गराउँदा थुप्रै नेपाली युवतीहरू ठगी सम्बन्धी कसुरमा जेल सजाय भोगिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २४, २०८० २२:४२