close

डिजिटल वालेटभन्दा क्यूआरबाट हुने भुक्तानी धेरै

टेकपाना टेकपाना

असोज ३०, २०८० १५:२७

डिजिटल वालेटभन्दा क्यूआरबाट हुने भुक्तानी धेरै

 

काठमाडौं । पछिल्लो समय देशभित्र हुने डिजिटल भुक्तानीमा क्यूआर भुक्तानी डिजिटल वालेटभन्दा लोकप्रिय बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार वालेटको तुलनामा क्यूआर भुक्तानी कारोबार बढी हुन थालेको हो । 

केन्द्रीय बैंकले निकालेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०८० को भदौमा ३० अर्ब ५६ करोड ४० लाख रुपैयाँभन्दा बढीको क्यूआर भुक्तानी भएको थियो । जब कि सोही समयमा वालेटबाट भने केवल २१ अर्ब नौ करोड २० लाख रुपैयाँको मात्र कारोबार भएको देखिन्छ ।  

त्यसो त ठीक एक वर्षअघि अर्थात् २०७९ असोज महिनामा पहिलो पटक क्यूआर भुक्तानीले डिजिटल वालेट कारोबारलाई पछि पारेको थियो । त्यसयता कात्तिक र पुसबाहेक बाँकी सबै महिनामा डिजिटल वालेटको कारोबारलाई क्यूआर कारोबारले पछाडि पारेको छ ।

त्यसो त वालेटबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दाको कारोबार वालेट र क्यूआर दुवैको कारोबार मानिन्छ । तर मोबाइल बैंकिङ एपहरूबाट हुने क्यूआर भुक्तानीले वालेटको कारोबार न्यून हुन गएको हो । हाल २६ ओटा कम्पनीले डिजिटल वालेटको कारोबार गर्दै आएका छन् । यद्यपि कारोबार सङ्ख्यामा भने अझै पनि वालेट नै अगाडि रहेको छ ।

राष्ट्र बैंकका अनुसार गत भदौ महिनामा डिजिटल वालेटमार्फत् दुई करोड २४ लाख १४ हजार ५७६ ‌ओटा कारोबार हुँदा क्यूआर कोड एक करोड १७ लाख ९९ हजार १७५ पटक स्क्यान गरिएको थियो ।

पछिल्लो तथ्याङ्क अनुसार डिजिटल भुक्तानीतर्फ एक महिनामा कनेक्ट आईपीएसमार्फत तीन खर्ब ७१ अर्ब ८० रोड ४० लाख रुपैयाँ, इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ९५ करोड, मोबाइल बैंकिङमार्फत दुई खर्ब ४२ अर्ब २६ करोड १० लाख रुपैयाँ र वालेटमार्फत २१ अर्ब नौ करोड २० लाख रुपैयाँको कारोबार भएको देखिन्छ । 

पछिल्लो अध्यावधिक: असोज ३०, २०८० १५:४०