close

ह्वावेका नयाँ ब्यान्ड, इयरबड्स र स्मार्टवाच नेपालमा, मूल्य साढे ५ हजारदेखि एक लाख २५ हजारसम्म

टेकपाना टेकपाना

कात्तिक १, २०८० १४:४८

ह्वावेका नयाँ ब्यान्ड, इयरबड्स र स्मार्टवाच नेपालमा, मूल्य साढे ५ हजारदेखि एक लाख २५ हजारसम्म

काठमाडौं । नेपाली बजारमा चिनियाँ कम्पनी ह्वावेका नयाँ ब्यान्ड, इयरबड्स, वाच र स्मार्टवाच सार्वजनिक भएका छन् । नेपालका लागि ह्वावेको आधिकारिक बिक्रेता कल मोबिलिटी प्रालिले साढे पाँच हजारदेखि एक लाख २५ हजार रुपैयाँसम्मका यी ह्वावे ग्याजेटहरू सार्वजनिक गरेको हो ।

यसअन्तर्गत ह्वावे ब्यान्ड एट, ह्वावे फ्रिबड्स फाइभ, ह्वावे फ्रिबड्स फाइभ एसई टु, ह्वावे वाच बड्स, ह्वावे वाच डी, ह्वावे वाच अल्टिमेट र ह्वावे जीटी फोर बजारमा आएका छन् ।

यी विभिन्न ग्याजेटका विशेषता र मूल्यबारे तल चर्चा गरिएको छ:

ह्वावे वाच अल्टिमेट (मूल्य रू. १२४,९९०) 

ह्वावेले ल्याएका डिभाइसमध्ये सबैभन्दा प्रिमियम प्रडक्ट हो, ‘ह्वावे वाच अल्टिमेट’ (Huawei Watch Ultimate) । यस स्मार्टवाचको डाइमेन्सन ४८.५ एमएम*४८.५एमएम*१३ एमएम रहेको छ ।

१४० एमएमदेखि २१० एमएम नाडी हुने मानिसहरूले यो स्मार्टवाच प्रयोग गर्न सक्छन् । स्टिलको कलरमा उपलब्ध यो स्मार्टवाचमा स्क्र्याच नहुने किसिमको ग्लास प्रयोग गरिएको कम्पनीको दाबी छ ।

यसको बेजल नानोक्रिस्टलाइन सेरामिक्सबाट बनाइएको छ । यसले स्मार्टवाचलाई थप टिकाउ र टच गर्दा प्रिमियम फिल दिने कम्पनीको भनाइ छ ।

यसमा १.५ इन्चको एलटीपीओ एमोलेड कलर स्क्रिन प्रयोग गरिएको छ । यसको रेजोलुसन ४६६*४६६ पिक्सेल रहेको छ । जसको सहायताले त्यसमा आउने नोटिफिकेसन र फिटनेस स्ट्याट्स (Stats) प्रस्ट देख्न सकिन्छ ।

प्रयोगकर्ताको शरीरको चाल ट्रयाक गर्न यसमा एक्सेलेरोमिटर प्रयोग गरिएको छ । उक्त डेटालाई थप सटीक बनाउन यसमा जाइरोस्कोप सेन्सर राखिएको छ । त्यस्तै डाइरेक्सन र ओरिन्टेसनका लागि यसमा म्याग्नेटोमिटर सेन्सर राखिएको छ ।

मुटुकाे धड्कन वा हार्ट रेट परीक्षण गर्न यसमा अप्टिकल हार्ट रेट सेन्सर दिइएको छ । वायुमण्डलीय चापको जानकारी दिन ब्यारोमिटर र तापक्रमका लागि टेम्प्रेचर सेन्सर समावेश गरिएको छ । 

पानीभित्रको गतिविधि ट्रयाक गर्न यसमा डेप्थ सेन्सर उपलब्ध छ ।

यसमा विभिन्न तीन ओटा बटन रहेका छन् । तीनै बटनको सहायताले स्मार्टवाच कन्ट्रोल गर्न सकिन्छ । त्यही बटनबाट नोटिफिकेसन स्क्रोल गर्न र एप ओपन गर्न सकिन्छ ।

यसलाई चार्ज गर्न कम्पनीले वायरलेस चार्जर उपलब्ध गराएको छ । एन्ड्रोइड ६.० भन्दा माथिका डिभाइस र आईओएस ९.० भन्दा माथिका डिभाइसमा यो स्मार्टवाच सपोर्ट हुन्छ ।

यसले १० एटीएमसम्मको पानीको चाप सहन सक्ने कम्पनीले उल्लेख गरेको छ । जसले गर्दा यसलाई पानी परेको बेला होस् वा पानीमा पौडिने बेला होस् निर्धक्कले लगाउन सकिन्छ ।

एक पटकको चार्जमा यो स्मार्टवाचलाई १४ दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । नेपाली बजारमा एक लाख २४ हजार ९९० रुपैयाँ पर्ने यो स्मार्टवाच दराज र अन्य भौतिक स्टोरहरूबाट छिट्टै खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ह्वावे वाच बड्स (मूल्य रू. ६९,९९०) 

कल मोबिलिटीले नेपालमा सार्वजनिक गरेको अर्को ह्वावे प्रडक्ट हो, ह्वावे वाच बड्स (Huawei Watch Buds । स्मार्टवाचभित्रै इयरबड्स राख्ने सुविधा हुनु यसको एक विशेषता हो । कम्पनीका अनुसार ६ बजेको समयमा बटन प्रेस गर्‍यो भने उक्त स्मार्टवाचको डिस्प्ले लिफ्टजसरी खुल्छ । जसबाट दुई ओटा इयरबड्स निस्किन्छन् ।

यसमा लेदरको फिता दिइएको छ । नाडी उठाएको बेला स्क्रिनमा इयरबड्सको ब्याट्री लेभल र कनेक्ट भए/नभएको देखिन्छ । एक ट्याप गरेकै भरमा हेडफोनबाट इयरबडमा स्वीच गर्न सकिने कम्पनीले जनाएको छ ।

यस स्मार्टवाचले आईएफ डिजाइन अवार्ड २०२३ पनि प्राप्त गरेको थियो । यसमा १.४३ इन्चको एमोलेड स्क्रिन र ह्वावे ट्रुसिन ५.० प्लस सेन्सर रहेको छ । जसले हार्ट रेट र ब्लड अक्सिज लेभल मापन गर्छ ।

ह्वावे हेल्थ एप सपोर्ट गर्ने यो स्मार्टवाचले एपमै भण्डारण गरेका सबै डेटा देखाउनेछ । इयरबड्ससहित यो स्मार्टवाचको तौल ६६.५ ग्राम रहेको छ । लेदरको तौल भने छुट्टै हुन्छ । यसमा पनि ४६६*४६६ पिक्सेल रेजोलुसन रहेको छ । यसबाट स्क्रिनमा रहेका सबै जानकारी प्रस्ट देख्न सकिने कम्पनीले जनाएको छ । 

स्वास्थ्यका सन्दर्भमा यो स्मार्टवाचमा ह्वावे ट्रुस्लिप ३.० सेन्सर दिइएको छ । यसले सटीकताका साथ स्लिप ट्रयाकिङ गर्ने, वास्तविक समयमा हार्ट रेट मापन गर्ने, रगतमा अक्सिजनको लेभल थाहा पाउन एसपीओटु मापन गर्ने कम्पनीले उल्लेख गरेको छ । 

एक पटकको चार्जमा यो स्मार्टवाचले तीन दिनको ब्याकप दिने कम्पनीको भनाइ छ । यसमा रहेको इयरबड्समा रहेको न्वाइज क्यान्सिलेसनको सुविधामार्फत कल गर्यो भने ढाई घण्टा र म्युजिक मात्र सुन्दा चार घण्टासम्म ब्याट्री टिक्ने कम्पनीको दाबी छ । यसलाई पनि वायेरलेस चार्जरबाटै चार्ज गर्न सकिन्छ ।

दराज र अन्य भौतिक पसलमा छिट्टै उपलब्ध हुने यो स्मार्टवाचको मूल्य नेपाली बजारमा ६९ हजार ९९० रुपैयाँ तोकिएको छ ।

ह्वावे वाच डी (मूल्य रू. ६४,९००) 

ह्वावे वाच डी ब्लड प्रेसर माप गर्ने ह्वावेको पहिलो स्मार्टवाच हो । यसमा १.६४ इन्च एमोलेड कलर स्क्रिन डिस्पले छ, जसको रेजोलुसन ४५६*२८० पिक्सेल छ । प्रयोगकर्ताको शरीरको चाल र दैनिक गतिविधि नियमन गर्नका लागि यसमा एक्सेलेरोमिटर र जाइरोस्कोप सेन्सर दिइएको छ ।

हार्ट रेटका लागि अप्टिकल हार्ट रेट सेन्सर, वरपरको प्रकाश अनुसार स्मार्टवाचको लाइट एडजस्ट गर्न एम्बियन्ट लाइट सेन्सर, तापक्रमका लागि टेम्पप्रेचर र हाइकिङ तथा ट्रेकिङ जाँदा चाप थाहा पाउन प्रेसर सेन्सर  अनि प्रयोग गर्न सहज र इजी टचको फिल दिन हल सेन्सर समावेश गरेको छ । 

यसमा हेल्थ र होम बटन गरी दुई ओटा बटन रहेका छन् । आवश्यकता अनुसार दुबै बटन प्रयोग गरी स्मार्टवाच कन्ट्रोल गर्न सकिन्छ ।  यसमा पनि कम्पनीले वायरलेस चार्जर उपलब्ध गराएको छ ।

ह्वावे वाच डीले हार्मोनी ओएससँगै एन्ड्रोइड (६.० वा सोभन्दा माथि) तथा आईओएस (१२.० वा सोभन्दा माथि) सपोर्ट गर्ने कम्पनीले उल्लेख गरेको छ । यो स्मार्टवाच आईपी ६८ रेटिङ भएको वाच हो । एक पटकको चार्जमा यो स्मार्टवाच सात दिनसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । नेपालमा यो वाच दराज र भौतिक पसलमा ६४ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिनेछ । 

ह्वावे जीटी फोर (मूल्य ४७,९९०)

नेपाली बजारमा ह्वावे जीटी फोर दुई मोडेलमा उपलब्ध हुनेछ । एउटा ४६६*४६६ पिक्सेल रेजोलुसनको १.४३ इन्च डिस्पले भेरियन्ट र अर्को सोही रेजोलुसनसँगै १.३२ इन्च डिस्प्ले भेरियन्टको जीटी फोर नेपाली बजारमा खरिद गर्न सकिनेछ ।  

यो स्मार्टवाचमा पनि एक्सेलेरोमिटर, जाइरोस्कोप, म्याग्नेटोमिटर, अप्टिकल हार्ट सेन्सर, ब्यारोमिटर र टेम्प्लेचर सेन्सर रहेको छ । यसमा पनि होम बटन र साइड बटन गरी दुई ओटा बटन रहेका छन् । यो स्मार्टवाचले ५ एटीएम सम्मको वाटर रेसिस्टेन्ट थेग्ने कम्पनीले उल्लेख गहरेको छ । 

दुई भेरियन्टमध्ये ४६ एमएम भेरियन्टको ह्वावे वाच जीटी फोरको ब्याट्री १४ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । अलवेज अन फिचर इनेबल गरेको खण्डमा चार दिन र हेभी काम गरेमा ८ दिन टिक्ने कम्पनीले उल्लेख गरेको छ । 

त्यस्तै ४१ एमएम भेरियन्टको ह्ववावे जीटी फोरको ब्याट्री सात दिनसम्म टिक्ने कम्पनीको दाबी छ । अकवेज अन फिचर इनेबल गर्दा दुई दिन र हेभी टास्क गर्दा ४ दिन ब्याट्री टिक्ने कम्पनीले उल्लेख गरेको छ । यसलाई पनि वायरलेस चार्जरबाटै चार्ज गर्न सकिन्छ । कम्पनीका अनुसार यो स्मार्टवाच एन्ड्रोइड (६.० भर्सन वा सोभन्दा माथि) र आईओएस (९.० भर्सन वा सोभन्दा माथि) सपोर्ट गर्छ । नेपाली बजारमा यो स्मार्टवाच ३१,९९० देखि ४७ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिनेछ । स्मार्टवाचको मूल्य यसका फिचर र प्रयोग गरिएको स्ट्रापमा निर्भर हुनेछ । 

ह्वावे फ्रिबड्स फाइभ (मूल्य रू. २४,९९०)

ह्वावेको फ्रिबड्स फाइभ (Huawei Freebuds 5) पनि नेपाली बजारमा सार्वजनिक भएको छ । स्तरीय साउन्डका लागि ११ एमएम डाइनामिक ड्राइभर समावेश गरिएको छ । यसले १६ हर्जदेखि ४० किलोहर्ज फ्रिक्वेन्सीको साउन्ड उपलब्ध गराउने कम्पनीले उल्लेख गरेको छ ।

प्रत्येक इयरबडमा ४२ एमएएच क्षमताको ब्याट्री छ । यसले पाँच घण्टाको म्युजिक ब्याकअप र न्वाइज क्यान्सिलेसनसहित साढे तीन घण्टाको ब्याकअप दिने कम्पनीले उल्लेख गरेको छ । यसको केसमा ५०५ एमएएच क्षमताको ब्याट्री रहेको छ ।

यसलाई इयरबड्स निकालेर २० मिनेटमै र इयरबड्ससहित ४० मिनेटमा फुल चार्ज गर्न सकिने कम्पनीको दाबी छ । एक पटकको चार्जमा ३४० मिनटसम्म प्रयोग गर्न सकिनेछ । 

यसमा पनि कम्पनीले एक्सेलेरोमिटर, इन्फ्रारेड सेन्सर, हल सेन्सरम, टच सेन्सर समावेश गरेको छ । एक्टिभ न्वाइज क्यान्सिलेसन र कल न्वाइज क्यान्सिलेसन सविधा दिन यसमा एडभान्स अडियो टेक्नोलोजी रहेको छ । 

ह्वावे फ्रिबड्स फाइभले आईपी ५४ रेटिङ पाएको छ । जसले धुलो र पानीबाट इयरबड्स जोगाउने कम्पनीको दाबी छ । यो स्मार्टवाच नेपाली बजारमा २४ हजार ९९० रुपैयाँमा खरिद गर्न सकिनेछ । 

ह्वावे ब्यान्ड ८ (मूल्य ७९९०)

१.४७ इन्च एमोलेड डिस्प्ले रहेको यस ब्यान्ड (Huawei Band 8)  को रेजोलुसन १९४*३६८ पिक्सेल रहेको छ । प्रयोगकर्ताको चाल र अन्य गतिविधि मापन गर्न यसमा एक्सेलेरोमिटर र जाइरोस्कोप सेन्सर दिइएको छ । त्यस्तै मुटुको धड्कन ट्रयाक गर्न यसमा अप्टिकल हार्ट रेट सेन्सर पनि समावेश गरेको छ । 

ईएमयूआई ५.०, एन्ड्रोइड ६.० वा आईओएस ९.० र त्यसभन्दा पछिका भर्सनमा सपोर्ट हुने यो स्मार्टवाचरले ५ एटीएम वाटरप्रुफ रेटिङ पाएको छ ।

एक पटकको चार्जमा यो स्मार्टवाचले १४ घण्टाको ब्याकअप दिने कम्पनीको दाबी छ । दराज र अन्य भौतिक पसलहरूबाट यो ब्यान्ड सात हजार ९९० रुपैयाँमा खरिद गर्न सकिनेछ । 

ह्वावे  फ्रिबड्स एसई टु (मूल्य रू. ५४९०)

कम्पनीले नेपालमा सार्वजनिक गरेको अर्को प्रडक्ट हो, ह्वावे फ्रिबड्स एसई टु (Huawei Freebuds SE 2) । कम्पनीले यो प्रडक्टलाई ह्वावेको सबैभन्दा सस्तो इयरबड्स भएको जनाएको छ ।

इयरबड्समा ४१ एमएएच क्षमताको ब्याट्री रहेको छ । यसलाई एक पटक फूल चार्ज गरेमा नौ घण्टासम्मको म्युजिक प्ले ब्याक वा पाँच घण्टाको भ्वाइस कल ब्याकअप पाइने कम्पनीको दाबी छ ।

त्यस्तै इयरबड्सको केसमा ५१० एमएएच क्षमताको ब्याट्री छ । यसले ४० घण्टाको म्युजिक प्लेब्याक वा २४ घण्टाको भ्वाइस कल ब्याकअप दिनेछ । प्रयोगकर्ताले यसलाई टाइप-सी केबलबाटै चार्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार इयरबड्सलाई ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

यसमा १०.० एमएमको डाइनामिक ड्राइभर रहेको छ । जसले गर्दा प्रयोगकर्ताले स्तरीय अडियो सुन्न पाउनेछन् । त्यस्तै यसमा भएको मल्टि-ईक्यू प्रविधिको सहायताले न्वाइज क्यान्सिलेसनसँगै प्रस्ट आवाज सुन्न सकिनेछ । 

पानी र धुलोबाट जोगाउन यो इयरबड्सले आईपी ५४ रेटिङ पाएको छ । नेपाली बजारमा यो इयरबड्स दुई कलर भेरियन्टमा उपलब्ध हुनेछ । एउटा सेरामिक ह्वाइट र अर्को इस्लि ब्लु (Isle blue) । यो इयरबड्स दराज वा अन्य भौतिक स्टोरहरूबाट पाँच हजार ४९० रुपैयाँमा खरिद गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८० १४:४८