काठमाडौं । हातमा लगाउने घडीको परिस्कृत नाम हो, स्मार्टवाच । अन्य परम्परागत घडीको तुलनामा स्मार्टवाचमा आकाश जमिनको फरक छ ।
यसमा स्मार्टफोनमा जस्तै टचस्क्रिन हुन्छ । कसैले फोन वा म्यासेज गरेको छ भने स्मार्टवाचबाटै थाहा पाउन सकिन्छ । हेल्थ र फिटनेश ट्रयाकिङ फिचरसहितका एपहरु चलाउन सकिन्छ । पछिल्ला अधिकांश स्मार्टवाचहरूले त हाम्रो शरीरको अक्सिजन र मुटुको गतिसमेत मापन गर्छन् ।
साथमा अन्य धेरै सुविधाहरु जस्तै नोटिफिकेसन, मिडिया म्यानेजमेन्ट, फिटनेश ट्रयाकिङ, जीपीएस लगायतका फिचर यसमा पाउन सकिन्छ । वास्तवमा नाडीमा लगाइने स्मार्टवाचले मिनि कम्प्युटरको काम गर्न सक्छ ।
नेपाली बजारमा पनि पछिल्लो समय विभिन्न ब्राण्डका स्मार्टवाच उपलब्ध भइसकेको छ । एप्पल, सामसङ, ह्वावे, साओमी, रियलमी, ओप्पो, अमेजफिट, फिटबिट लगायतका स्मार्टवाच बजारमा उपलब्ध छ ।
आकर्षक बनावट र प्रविधिको कारण स्मार्टवाच लोकप्रिय बनिरहेका छन् । तपाईंले विभिन्न कम्पनीका स्मार्टवाच छानीछानी आफ्नो रुचिअनुसार खरिद गर्न सक्नुहुनेछ ।
कम्पनीअनुसारका आआफ्नै विशेष फिचर पनि स्मार्टवाचमा उपलब्ध हुन्छन् । दशैंकाे अवसरमा उपयुक्त स्मार्टवाच किन्ने साेचमा हुनुहुन्छ भने याे लेख उपयाेगी हुन सक्छः
१. स्मार्टवाच मोबाइलमा आधारित रहेर छान्नुहोस्
सबै स्मार्टवाच स्मार्टफोनसँग नै जोडिएर चल्ने हुन्छन, यसो हुँदा उपलब्ध फिचरहरुलाई राम्रोसँग चलाउन सकिन्छ । तसर्थ तपाईंले स्मार्टवाच खरिद गर्दा तपाईंले चलाइरहनु भएको स्मार्टफोनसँग कम्प्याटिबल छ वा छैन भनेर हेर्नुपर्छ ।
जस्तो कि, एप्पलको स्मार्टवाचलाई आईफोनसँग मात्र चलाउन सकिन्छ । यदि तपाईंसँग आईफोन छैन भने एप्पल वाच किन्नु अर्थहिन हुन जान्छ । यसर्थ स्मार्टवाचको अपरेटिङ सिस्टमले आफ्नो फोनलाइ सपोर्ट गर्छ कि गर्दैन भनेर जाँच्नुहोस् ।
२. स्मार्टवाचले सपोर्ट गर्ने एप्लिकेसनहरु जाँच्नुहोस्
स्मार्टवाच खरिद गर्दा त्यसले कुनकुन एप्लिकेसनहरु सपोर्ट गर्छ र कुनकुन एप्लिकेसन चलाउन सकिन्छ राम्रोसँग जाँच्नुहोस् । स्मार्टवाच किनेपछि सजिलै धेरै किसिमका एप चलाउन सकियोस् भन्ने नै हो, तसर्थ स्मार्टवाचमा उपलब्ध फिचरहरु दुवैमा सिंक गरेर चलाउन मिल्ने किसिमको छरछैन ध्यान दिनुहोस् ।
३. ब्याट्री लाइफ विचार गर्नुहोस्
कुनै पनि डिभाइस खरिद गर्दा ब्याट्री लाइफ हेर्नु त अनिवार्य नै हुन्छ । कुनैकुनै स्मार्टवाच धेरै लामो समयसम्म चार्ज टिक्ने हुन्छन् ।
यदि राम्रो ब्याट्री भएको स्मार्टवाच किन्नुभयो भने चार्ज सकिएला कि भन्ने डर रहँदैन । यदि तपाईं ट्राभल गरिरहनु हुन्छ भने त ब्याट्री लाइफमा विशेष ख्याल राख्नैपर्ने हुन्छ ।
४. डिजाइन हेर्नुहोस्
अहिले स्मार्टवाचहरु विभिन्न डिजाइनमा उपलब्ध छन् । महिला, पुरुष र बालबालिकाका लागि छुट्टै कलर र डिजाइनमा हुन्छन् । यसो हुँदा यदि तपाईंले पर्सनलाइज स्मार्टवाच पाउनुभयो भने खरिद गर्नु उपयुक्त हुन्छ ।
५. मूल्य
अब कुनैपनि समान खरिद गर्दा बजेटको कुरा त महत्वपूर्ण नै हुने भयो । बजारमा उच्चतमदेखि न्यूनतम मूल्यका स्मार्टवाच उपलब्ध छन् । धेरैजसो अवस्थामा मूल्य अनुसार गुणस्तरमा पनि फरक पर्ने हुन्छ । त्यसकारण बजेट कम गर्नकै लागि सस्तो वाच नकिन्नुहोला ।
६. अतिरिक्त फिचर
आधारभूत कुराहरु हेरिसकेपछि स्मार्टवाचका अन्य फिचरहरु के-कस्ता छन् बुझ्नुहोस् । स्मार्टवाच टचस्क्रिन हो कि बटनबाट चल्ने हो हेर्नुहोस् र आफूलाई जुन राम्रो लाग्छ, त्यसअनुसार नै खरिद गर्नुहोस् ।
स्मार्टवाचमा भएको ‘फिटनेस जोन’, ‘क्यालोरी काउन्टर’, र ‘हार्टबिट काउन्टर’ आदि चेक गर्नुहोस् । साथै तपाईंले रुचाउनुभएको मोडेलमा फोन कल ,मेसेज, जिमेल, क्यालेन्डरहरु सम्बन्धी जानकारी गराउने एक्टिभ अलर्टहरु उपलब्ध भए/नभएको चेक गर्नुहोस् ।