close

एक्समा आयो अडिओ तथा भिडिओ कलिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

कात्तिक ९, २०८० १२:५०

एक्समा आयो अडिओ तथा भिडिओ कलिङ फिचर, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्सले गत वर्ष घोषणा गरेको अडिओ तथा भिडिओ कलको फिचर उपलब्ध हुन थालेको छ । एक्सलाई सुपरएप बनाउने लक्ष्यका साथ बुधवारदेखि कम्पनीले यस्तो फिचर उपलब्ध गराउन थालेको हो ।

हाल एप्पलकाे एपस्टोरमा उपलब्ध एक्सको नयाँ अपडेटमार्फत मात्र यो फिचर प्रयोग गर्न सकिन्छ । एन्ड्रोइड र वेब भर्सनमा यो सुविधा कहिलेदेखि उपलब्ध हुन्छ भन्नेबारे कम्पनीले खुलाएको छैन ।

यो नयाँ फिचरसँगै प्रयोगकर्ताले अब अडिओ तथा भिडिओ कल गर्न र यस्ता कल प्राप्त गर्न सक्नेछन् । यो फिचरलाई डीएम अर्थात डाइरेक्ट मेसेजिङमै उपलब्ध गराइएको छ । जसरी मेसेन्जर, ह्वाट्सएप तथा इन्स्टाग्राम मेसेज गर्ने सुविधाका साथै भिडिओ र अडिओ कल गर्ने अप्सन हुन्छ, एक्सले पनि आफ्नो प्लेटफर्ममा त्यसरी नै अडिओ र भिडिओ कलको अप्सन उपलब्ध गराउन थालेको हो ।

आईओएस डिभाइसका लागि कम्पनीले एक्समा आईओएस कलकिट एपीआई इन्ट्रिगेट गरेकाले लक स्क्रिनमा पनि कल आएको देख्न सकिने बताइएको छ । यद्यपि एक्समा मानिसहरू आफ्ना विचार राख्न र पोस्टमार्फत नै अरूका विचारमा सहमति वा असहमति जनाउँन रुचाउँछन् ।

अनावश्यक र अपरिचित व्यक्तिले डीएम गर्नाले नै धेरैलाई उक्त प्लेटफर्ममा भएको अडिओ र भिडिओ कलको सुविधा मन नपर्न सक्छ । यदि तपाईंको डिभाइसमा पनि अडिओ तथा भिडिओ कलको सुविधा उपलब्ध भयो भने तलको प्रक्रिया अपनाएर बन्द गर्न सक्नुहुन्छ । 

-सबैभन्दा पहिले एक्स एप खोल्नुहोस् ।  

- अनि, माथि बायाँपट्टि रहेको आफ्नो प्रोफाइल पिक्चरमा ट्याप गर्नुहोस् । 

- यति गरेपछि ‘सेटिङ एन्ड प्राइभेसी’को अप्सनमा ट्याप गर्नहोस् । 

‍- त्यसपछि ‘प्राइभेसी एन्ड सेफ्टी’को मेन्युमा ट्याप गर्नुहोस् । 

- अनि डाइरेक्ट मेसेजिङको अप्सनमा जानुहोस् । ‍

- र, अडिओ एन्ड भिडिओ कलको अप्सनलाई आफ्नो आवश्यकता अनुसार विभिन्न अप्सन छान्नुहोस् ।

 

त्यहाँ तपाईंले आफ्नो एड्रेस बुकमा भएका व्यक्ति, आफूले फलो गरेका अकाउन्ट वा भेरिफाइड अकाउन्टबाट मात्र कल पाउने अप्सन छनोट गर्न सक्नुहुन्छ ।

यदि कोहीबाट पनि अडिओ तथा भिडिओ कल नआओस् भन्ने चाहनु हुन्न भने ‘इनेबल अडिओ एन्ड भिडिओ कलिङ’को अप्सनलाई अफ गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८० १३:५१