काठमाडौं । फोटोग्राफी प्लेटफर्म शटरस्टकमा अब एआई प्रयोग गरी आफ्नो फोटो एडिट गर्न सकिने भएको छ । कम्पनीले बिहीवार नयाँ अपडेट सार्वजनिक गर्दै फोटो एडिट गर्ने एआई टुल सार्वजनिक गरेको हो ।
एआई टुलमा पनि कम्पनीले म्याजिक ब्रश उपलब्ध गराएको छ । यसको सहायताले प्रयोगकर्ताले फोटोमा आफूले चाहेको भाग ब्रश गर्नुपर्नेछ । त्यसपछि ब्रश गरेको सो भागमा केही थप्ने, घटाउने वा हटाउने निर्देशन दिन सकिनेछ ।
अहिले शटरस्टकको एआई इमेज एडिटर बेटा भर्सनमा छ । यसको प्रयोग गरी तपाईं फोटोको ब्याकग्राउन्ड बढाउन पनि सक्नुहुन्छ । साथै आफ्नो फोटोमा शटरस्टकमै भएका फोटो ब्याकग्राउन्डका रूपमा राख्न सक्नुहुन्छ ।
त्यस्तै शटरस्टकले स्मार्ट रिसाइजिङ फिचर पनि उपलब्ध गराउन थालेको छ । यो यस्तो फिचर हो जसले कुनै पनि इमेजको आकार आवश्यकता अनुसार स्वतः एडजस्ट गर्नेछ ।
तर, यस्ता तस्वीरको लाइसेन्स भने क्रियटरले पाउनेछैनन् । "एआई जेनेरेटेड वा एडिट गरिएको सामग्री साइटमा लाइसेन्सका लागि योग्य हुनेछैनन्,” शटरस्टकले भनेको छ, “क्रियटरको बौद्धिक सम्पत्ति (आईपी)को सुरक्षा र आर्टिस्टलाई उचित क्षतिपूर्ति सुनिश्चित गर्न यस्तो नीति लागू गरेका छौं ।”
यद्यपि प्रयोगकर्ताले एआई टुलको प्रयोग गरी क्रियटरले रचनात्मक तस्वीर तयार पार्न सक्ने कम्पनीको विश्वास छ । गत जनवरीमा सार्वजनिक भएको एआई इमेज जेनेरेटरमा पनि कम्पनीले ओपनएआईको ड्यालई समावेश गरी अपडेट गर्ने घोषणा गरेको छ ।
गत जुलाईमा शटरस्टकले ओपनएआईसँग सहकार्य गरेर ड्यालईलाई शटरस्टकमा भएको फोटोमार्फत तालिम दिन सघाएको थियो । त्यसमा पनि जो आर्टिस्टको फोटो ड्यालईलाई तालिम दिन प्रयोग भएको हाे, उसलाई उचित रकम उपलब्ध गराउने घोषणा गरेको थियो ।
शटरस्टकबाहेक एडोबी र क्यान्भा जस्ता कम्पनीले पनि एआईद्वारा सञ्चालित इमेज एडिटिङ टुल समावेश गरेका छन् ।
गत महिना एडोबीले फायरफ्लाई गेनेरेटिभ एआई टुल सार्वजनिक गरेको थियो । तर, उक्त सेवा कम्पनीको एडोबी एक्सपेरियन्स क्लाउड, एडोबी एक्सप्रेस र एडोबी क्रियटर क्लाउडको सब्स्क्रिप्सन लिने प्रयोगकर्तालाई उपलब्ध गराएको थियो । यद्यपि अन्य प्रयोगकर्ताले पनि बेटा भर्सनको सो टुल प्रयोग गर्न पाएका थिए ।