close

वाई-फाई चलाउँदा प्रयोगकर्तालाई सुरक्षित बनाउने तीन वर्षदेखिको एप्पलको दाबी झुटो !

टेकपाना टेकपाना

कात्तिक ११, २०८० १४:१०

वाई-फाई चलाउँदा प्रयोगकर्तालाई सुरक्षित बनाउने तीन वर्षदेखिको एप्पलको दाबी झुटो !

काठमाडौं । आईफोन प्रयोगकर्तालाई वाई-फाईमा जोडिँदा सुरक्षित बनाउने भनेर एप्पलले ल्याएको फिचरले काम नगरेको पाइएको छ । आईओस १४ सँगै सार्वजनिक 'प्राइभेट वाई-फाई एड्रेस' फिचरले दाबी गरे बमाेजिम काम नगरेको पाइएको हो ।

उक्त फिचरले वाई-फाई चलाउँदा प्रयोगकर्ताको म्याक एड्रेस (१२ अक्षरको नेटवर्क डिभाइस पहिचान गर्न बनाइएको सूचक) लुकाउने र अरु कुनै फरक सूचक देखाउने एप्पलको दाबी थियो । तर उक्त फिचरले उल्टै वास्तविक म्याक एड्रेस शेयर गरेको पाइएकाे समाचार संस्था आर्सटेक्निकाले जनाएको छ ।

आर्सटेक्निकाका अनुसार यो एउटा बग हो । इन्टरनेटमा आईफोन ट्र्याक गर्न यो फिचरले अप्ठ्याराे बनाउने भएता पनि यसमा कमजोरी भएका कारण एप्पलको लकडाउन मोडमा फोन राख्दा समेत म्याक एड्रेस शेयर हुने गर्छ ।

वाई-फाईमा जोडिने सबै डिभाइसको भिन्न भिन्न म्याक एड्रेस हुने गर्छ । तर म्याक एड्रेस प्राय: सधैं एउटै हुने र सजिलै परिवर्तन गर्न नसकिने हुँदा ह्याकरहरूले विभिन्न वाई-फाई नेटवर्कमा फोन ट्र्याक गर्न सक्छन् ।

सोही कुराबाट बचाउन एप्पलले उक्त फिचर ल्याएको थियो । यो बग धेरै प्रयोगकर्ताका लागि सामान्य हुन सक्छ । तर यस बगले एप्पलले ल्याउने सबै फिचरमा विश्वास गर्ने प्रयोगकर्तालाई सचेत हुन र सुरक्षाको विषयमा एप्पल पूर्ण रुपमा सही नभएको विश्लेषण गरिएको छ ।

यद्यपि आईओएस १७.१ अपडेटसँगै यो बग पनि समाधान गरिसकेको एप्ललले जनाएको छ । यो बगबाट चिन्तित प्रयोगकर्तालाई विज्ञहरूले आईओएस अपडेट गर्न सुझाएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८० १४:१०