close

गुगल एपलाई भाइरस भन्न थाले ह्वावेका स्मार्टफोन !

टेकपाना टेकपाना

कात्तिक १५, २०८० १८:१४

गुगल एपलाई भाइरस भन्न थाले ह्वावेका स्मार्टफोन !

काठमाडौं । पछिल्ला केही वर्षदेखि आफ्ना फाेनमा आधिकारिक रूपमा गुगल एपहरू उपलब्ध गराउन ह्वावे असमर्थ छ । तर अहिले भने कम्पनीका फोनमा म्यानुअल्ली गुगल एप इन्स्टल गर्ने ग्राहकलाई उक्त एप भाइरस भन्दै चेतावनी दिन थालिएको छ ।

स्ट्याक डायरीले हाइलाइट गरे अनुसार र रेडिटका साथै गुगल फोरममा ह्वावे स्मार्टफोनले गुगल एपलाई भाइरस भएको देखाउन थालेको विषय माथि चर्चा भइरहेको छ । ह्वावेले उक्त एपलाई संक्रमित रहेको उल्लेख गर्दै "ट्रोजन एसएमएस-पीए" भाइरसको संज्ञा दिएको छ ।

"उच्च जोखिमले भरिएको" उल्लेख गर्दै त्यस किसिमको चेतावनी बेलाबेलामा पप अपको रूपमा देखिन्छ । ह्वावेको फोन म्यानेजर सफ्टवेयरले प्रयोगकर्तालाई गुगल एपले गोप्य रूपमा एसएमएस पठाउने गरेको विषय पहिचान भएको कारण देखाउँदै तुरुन्तै अनइन्स्टल गर्न भनिरहेको हुन्छ ।

किन यसो भएको होला ?

यद्यपि यो कुनै चिन्ता लिनुपर्ने विषय भने होइन । गुगलको आधिकारिक एप निश्चित रूपमा भाइरस होइन ।

सम्भवतः ह्वावे सफ्टवेयरले गलत त्रुटिवश गुगल एपलाई ट्रोजनको रूपमा पहिचान गरेको हुन सक्छ । प्ले प्रोटेक्ट नामक गुगलकै यस प्रकारको चेतावनी प्रणालीले समेत त्यस्तो व्यवहार देखाउन सक्छ ।

यसै महिना मात्र सामसङ प्रयोगकर्तालाई प्ले प्रोटेक्टले सामसङ वालेट र सामसङ मेसेजेज जस्ता सिस्टम एपलाई नै खतरनाक भएको र अनइन्स्टल गर्न भन्दै सचेत गराएको थियो ।

तर त्यो गुगलतर्फको समस्या भएको कुरा थाहा भएको थियो । केही प्रयोगकर्ताले फोन म्यानेजर एपको क्याश क्लियर गर्दा उक्त समस्या समाधान भएको समेत बताएका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक १५, २०८० १८:१४