काठमाडौं । ट्वीटरका रूपमा परिचित एक्सले सो प्लेटफर्ममा प्रयोगमा नआएका पुराना युजरनेम बिक्री गर्ने भएको छ । फोर्ब्स म्यागजिनका अनुसार कम्पनीले पुराना र प्रयोगमा नआएका युजरनेम बिक्री गर्न थालेको हो ।
फोर्ब्सका अनुसार अकाउन्ट दर्ता गरेर मात्र छोडेका प्रयोगकर्ताको युजरनेम एक्सले बिक्री गर्नेछ । केही अवस्थामा एक्सले सम्भावित खरिदकर्तालाई युजरनेम ५० हजार डलर (करिब ६६ लाख ४५ हजार) मा खरिद गर्न अनुरोध गर्न थालेको छ ।
फोर्ब्सलाई एक्सका कर्मचारीबाट प्राप्त ईमेलमा कम्पनीले एक्स ह्यान्डलका लागि नयाँ मापदण्ड, प्रक्रिया र मूल्य उल्लेख छ । मस्कले सो कार्यक्रममार्फत आगामी महिनादेखि युजरनेम बिक्री गर्न सुरु गर्नेछन् ।
गत वर्ष नोभेम्बरमा मस्कले सो प्लेटफर्ममा ठूलो सङ्ख्यामा ह्यान्डल बट्स तथा ट्रोल अकाउन्ट रहेकाे उल्लेख गरेका थिए । त्यसैले केही महिनापछि ती अकाउन्ट सक्रिय प्रयोगकर्तालाई निःशुल्क उपलब्ध गराउने मस्कको भनाइ थियो ।
मस्कको आफ्नो योजना उल्लेख गरेको एक्स पोस्टमा रिप्लाई गर्दै एक प्रयोगकर्ताले ‘ह्यान्डल मार्केटप्लेस’ खोलेर युजरनेम बिक्री गर्न सुझाव दिएका थिए । न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्ट अनुसार कम्पनीले युजरनेम लिलामीमा बिक्री गर्ने योजना बनाएको थियो ।
आइतबारसम्म निष्क्रिय अकाउन्ट खरिद गर्न सकिने एक्सको कुनै नीति छैन । सो पेजमा कम्पनीले अकाउन्ट ‘इनएक्टिभ मोड’मा पुग्नबाट जोगाउन हरेक ३० दिनमा लगइन गर्न सुझाव दिएको छ । यद्यपि त्यही पेजमा निष्क्रिय अकाउन्टको युजरनेम अन्य प्रयोगकर्तालाई उपलब्ध गराउने कुनै नीति नभएको उल्लेख छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १९, २०८० १५:१३
