close

विद्यालयको प्रधानाध्यापकमा एआई च्याटबट नियुक्त !

टेकपाना टेकपाना

कात्तिक २६, २०८० १३:२

विद्यालयको प्रधानाध्यापकमा एआई च्याटबट नियुक्त !

 

काठमाडौं । बेलायतको एउटा विद्यालयले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई प्रधानाध्यापक पदमा नियुक्त गरेको छ । बेलायतको वेस्ट ससेक्समा रहेको कोट्समोर विद्यालयले ‘अबिगेल बेली’ नामक च्याटबटलाई प्रधानाध्यापकको रूपमा नियुक्त गरेको हो ।

बीबीसीका अनुसार विद्यालयले एआई डेभलपरहरूसँग सहकार्य गर्दै अबिगेल बेलीलाई विकास गरेको हो । च्याटजीपीटीले जस्तै सोधेका प्रश्नहरूको जवाफ दिनेगरी एआई प्रधानाध्यापक बेलीलाई तयार पारिएको बताइएको छ ।

यसका लागि बेलीलाई अनलाइन तथा विभिन्न स्रोतमा उपलब्ध डेटाका आधारमा तालिम दिइएको जनाइएको छ । यद्यपि विद्यार्थी र शिक्षकहरूलाई कसरी सहयोग गर्ने भन्नेबारे भने मानव प्रधानाध्यापकसँग सल्लाह र सहयोग लिएर एआई प्रधानाध्यापकले काम गर्ने उल्लेख गरिएको छ ।

विद्यालय प्रमुखमा एआईलाई नियुक्त गर्ने देशको पहिलो विद्यालय बनेको कोट्समोरले एआई प्रधानाध्यापकले विद्यालयको कामबाहेक विद्यालयका बालबालिकाहरूलाई पनि सहयोग गर्ने बताएको छ ।

यसबाहेक यस विद्यालयले ४ देखि १३ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सिकाइमा सहयोग गर्न व्यक्तिगत एआई च्याटबट उपलब्ध गराएको समेत बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०८० १४:३२