close

‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन’

टेकपाना टेकपाना

कात्तिक २७, २०८० २०:३८

‘टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन’

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध संविधानप्रदत्त स्वतन्त्रताको गम्भीर उल्लघंन भएको विभिन्न सरोकारवालाहरूले बताएका छन् । नेपालमा टिकटक प्रयाेगमा राेक लगाउने सरकारको निर्णयपछि एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् ।

डिजिटल फ्रिडम कोअलिसन, डिजिटल राइट्स नेपाल, सेन्टर फर मिडिया रिसर्च, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लगायत करिब ३० ओटा संघसस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै सरकारको कदम अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाएकाे तर्क गरेका छन् । 

“...सरकारको यस निर्णयले नेपालको संविधानको धारा १७ (२०) ‘क’मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले प्रत्याभूत गरेको सञ्चारको हकको संवैधानिक प्रत्याभूति एवं मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय  अनुबन्ध, १९६६ को धारा १९ समेतको उल्लघंन गरेको छ,” विज्ञप्तिमा भनिएकाे छ ।

त्यस्तै उनीहरूले विज्ञप्तिमार्फत सरकारलाई यस निर्णयमा पुनर्विचार गर्न र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक रूपमा संरक्षित अधिकारलाई हनन् नगरी सबै सरोकारहरू सम्बोधन गर्ने वैकल्पिक उपायहरू खोज्न पनि आग्रह गरेका छन् ।

साथै उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, सामाजिक सञ्चार, रचनात्मकता र सांस्कृतिक आदानप्रदानलाई बढावा दिन डिजिटल प्लेटफर्मको परिवर्तनकारी सम्भावनालाई मान्यता दिँदै सार्वजनिक हितको सरंक्षण र व्यक्तिगत स्वतन्त्रताको सम्मान आवश्यक रहेको उल्लेख गरेका छन् ।

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: कात्तिक २७, २०८० २०:४८