close

हाम्रा ग्राहकको डेटा लिक भएको छैन, वेबसाइटका च्याट युजरको डेटा बाहिरिएको होः मिडास

टेकपाना टेकपाना

कात्तिक ३०, २०८० १८:३८

हाम्रा ग्राहकको डेटा लिक भएको छैन, वेबसाइटका च्याट युजरको डेटा बाहिरिएको होः मिडास

काठमाडौं । ईलर्निङ प्लेटफर्म मिडास ई-क्लासले आफ्नो कम्पनीका कुनै पनि ग्राहकको डेटा नबाहिरिएको बताएकाे छ । ब्रिच फोरम नामक प्लेटफर्ममा मिडास ई-क्लासको युजर च्याटबाट करिब १० हजारको डेटा लिक भएको समाचार बाहिरिएपछि कम्पनीले त्यसमा आफ्ना ग्राहकको डेटा सामेल नभएको स्पष्ट पारेकाे हाे ।

ती डेटा आफ्ना रजिस्टर्ड ग्राहकको नभई च्याट सिस्टममा जोडिएका प्रयोगकर्ताहरूको रहेको मिडास ग्रुपका संस्थापक एवं प्रबन्ध निर्देशक छत्रहरि कार्कीले बताए ।

''हामीसँग च्याट गर्ने युजरहरूको डेटा चैं हो तर ती युजर हाम्रा रजिस्टर्ड कस्टमर (ग्राहक) होइनन्,'' कार्कीले टेकपानासँग भने, ''लिक भएको डेटा हेर्नुभयो भने च्याटकै इन्फर्मेसन पाउनुहुन्छ । यसकारण यो हाम्रो डेटाबेस नभई हामीसँग गरिएको च्याटको इन्फर्मेसन मात्रै हो ।''

कम्पनीको डेटाबेससँग सम्बन्धित कुनै डेटा नबाहिरिएको उनले दाबी गरे । ''च्याट सर्भर हाम्रो डेटाबेस नै होइन । हामीले थर्ड पार्टीसँग च्याट सर्भिस लिएका थियौं । कुनै पनि युजरले हाम्रो वेबसाइटमा लगइन गर्नुभन्दा पहिले त्यो सिस्टमबाट हामीसँग च्याट गर्न पाउँथे । कसैले मोबाइल नम्बर राखेर, कसैले ईमेल एड्रेस राखेर च्याट गर्न सक्थे । तर त्यो च्याट सर्भिसबाट डेटा लिक भएको थाहा पाउनासाथ गत जुनमै हामीले उक्त सिस्टम बन्द गरेका थियौं,'' उनले भने ।

पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८० १९:४