close

च्याटजीपीटी निर्माता ओपनएआईमा नयाँ सीईओ नियुक्त

टेकपाना टेकपाना

मंसिर ५, २०८० ९:१४

च्याटजीपीटी निर्माता ओपनएआईमा नयाँ सीईओ नियुक्त

काठमाडौं । बर्खास्तीमा परेका साम अल्टम्यान कम्पनीमा नफर्केपछि ओपनएआईले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । ओपनएआईले अमेजनको स्वामित्वमा रहेको भिडिओ स्ट्रिमिङ साइट ट्विचका सह-संस्थापक एमेट शियरलाई अन्तरिम सीईओमा नियुक्त गरेको हो ।

गत शुक्रबार कम्पनी चलाउन सक्ने थप क्षमता नभएको र बोर्डसँग इमान्दार नभएको कारण दिँदै ओपनएआईले सीईओ पदबाट हटाएको थियो । त्यसपछि कम्पनीकै प्रमुख प्रविधि अधिकृत (सीटीओ) मिरा मुराती कार्यवाहक सीईओमा नियुक्त भएका थिए । तर कम्पनीको यो कदमको चर्को विरोध भएपछि आल्टम्यानलाई सीईओका रुपमा पुन: फर्काउन ओपनएआईले प्रयास गरेको थियो ।

ओपनएआईका प्रमुख लगानीकर्ता र कर्मचारीहरूले अल्टम्यानलाई पुनर्बहाली गर्न बोर्डलाई दबाब दिएका थिए । तर अल्टम्यानको लागि ढोका बन्द गर्दै ओपनएआईले नयाँ सीईओ नियुक्त गरिसकेको छ ।

एमेट शियरले एआईको सम्भावित खतराहरू बुझेका कारण ओपनएआईले सीईओमा नियुक्त गरेको ब्लुमवर्गले जनाएको छ । ट्विचलाई भिडिओ स्ट्रिमिङ प्लेटफर्ममध्ये उत्कृष्टमा पार्न सफल शियरले गत मार्चमा  सीईओबाट राजीनामा दिएका थिए ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० ९:१४