close

हाइड्रोजन कार चलाउन नेपालकै पानी र बिजुलीबाट इन्धन तयार पारिँदै

टेकपाना टेकपाना

मंसिर ५, २०८० १३:६

हाइड्रोजन कार चलाउन नेपालकै पानी र बिजुलीबाट इन्धन तयार पारिँदै

काठमाडौं । नेपालमा पहिलाे पटक भित्रिएकाे हाइड्रोजन कारका लागि स्थानीय स्रोत/साधन नै प्रयोग हुने भएको छ । गत कात्तिकमा काठमाडौं विश्वविद्यालयले भित्र्याएकाे हाइड्रोजन कारका लागि आवश्यक पर्ने इन्धन यहाँको पानी र बिजुलीबाट तयार पारिने भएकाे हाे । 

विश्वविद्यालयका सहप्राध्यापक तथा ग्रीन हाइड्रोजन ल्याबका निर्देशक विराज सिंह थापाका अनुसार यसका लागि विश्वविद्यालयले आफ्नै डिजाइनमा रिफिल सेन्टर जडान गर्ने काम गरिरहेको छ । विगत तीन वर्षदेखि नेपालमा यस क्षेत्रको सम्भाव्यता अनुसन्धान गरिरहेको विश्वविद्यालयले रिफिल सेन्टरका सामग्रीहरू तीन महिनाको समय लगाएर जापानबाट भित्र्याएको उनले उल्लेख गरे ।

“रिफिल सेन्टर जडान गरेपछि त्यहाँका मसिनहरू बिजुलीमार्फत पानी टुक्र्याएर कच्चा हाइड्रोजन बनाउँछन् । उक्त हाइड्रोजनलाई प्रशोधन गरेर इन्धनयोग्य बनाइन्छ । त्यसपछि प्रशोधित हाइड्रोजनलाई उच्च चाप भएको ट्याङ्कमा भण्डार गरिन्छ । त्यसलाई पछि हाइड्रोजन नोजल (डिस्पेन्सर) बाट गाडीमा इन्धनका रूपमा हालिन्छ,” सहप्राध्यापक थापा भने ।

उनका अनुसार एक किलोग्राम हाइड्रोजन तयार पार्न औसत ९/१० केजी पानी र ५०/६० युनिट बिजुलीको आवश्यकता पर्छ । त्यसबाट तयार हुने हाइड्रोजनबाट गाडीलाई औसत २०० किलोमिटर कुदाउन सकिन्छ । तर अहिले सरकारले लिने बिजुलीको शुल्क हाइड्रोइन उत्पादन गर्न महँगो भएको उनी बताउँछन् ।

“प्रति युनिट १० रुपैयाँले त हाइड्रोइजन उत्पादन गर्न महँगो हुन्छ । तर खेर जाने बिजुलीलाई उपयोग गरेर अथवा कम शुल्क लिएर सहयोग गर्दा सम्भावना भने प्रचुर छ,” उनले अगाडि भने, “नेपालमा यो वर्ष मात्रै २५ अर्बको बिजुली खेर जाने प्रक्षेपण गरिएको छ । त्यसलाई ५० प्रतिशत मात्र बचाउँदा १२-१३ अर्ब रुपैयाँको हाइड्रोजन इन्धन तयार पार्न सकिन्छ । हाइड्रोजन भनेको ऊर्जा व्यवस्था प्रणालीको हिस्सा पनि हो । यसले जीवाष्म इन्धनलाई प्रतिस्थापन गर्नुका साथै खेर जाने ऊर्जाको सही सदुपयोग गर्छ ।”

विश्वविद्यालय अन्तर्गत रहेको ग्रीन हाइड्रोजन ल्याबको अध्ययनले प्रति युनिट चार रुपैयाँ बिजुलीको शुल्क लिँदा नेपालमा हाइड्रोजनलाई व्यावसायिक प्रयोग गर्न सकिने देखाएको छ । उक्त शुल्कमा बिजुली दिन नीतिगत व्यवस्थाबाट मिलाए असम्भव नभएको उनको तर्क छ ।

साथै जलविद्युत मात्र नभएर ऊर्जाका विभिन्न स्रोतबाट उत्पादन भएका बिजुली प्रयोग गर्न सकिने उनी बताउँछन् । हाइड्रोजनलाई व्यावसायिक प्रयोग गर्न रिफिल सिस्टमको क्षमता ५० किलोवाटभन्दा माथि हुनु पर्छ ।

अहिले विश्वविद्यालयले राख्न लागेको रिफिल सिस्टमको क्षमता पाँच किलोवाटको छ । अर्थात् यसले पाँच किलोवाट बिजुलीबाट दैनिक दुई किलो हाइड्रोजन निकाल्न सक्छ । विश्वविद्यालयले ‍भित्र्याएको हाइड्रोजन फ्युल सेल कारमा छ किलो हाइड्रोजनको ट्याङ्क रहेको छ । त्यसो हुँदा उक्त कारको ट्याङ्क पूर्ण रुपमा भर्न यस रिफिल सिस्टममा तीन दिन लगाएर उत्पादन हुने हाइड्रोजन चाहिन्छ ।

अहिले नमूना परियोजनाका रूपमा हेरिएको यस रिफिल सिस्टमका लागि विश्वविद्यालयले एयर कम्प्रेसर (हाई प्रेसर कम्प्रेसरलाई चलाउन), ऊर्जा व्यवस्थापनका लागि स्टेबलाइजर र पानी ट्याङ्क जडान गर्ने काम गरिरहेको छ । यदि यो परियोजना सफल भए भविष्यमा यसैको ठूलो स्वरूपमात्र बनाउने सहप्राध्यापक थापा बताउँछन् ।

विशेष गरेर बिजुली गाडीमा हुने ब्याट्रीभन्दा हलुका हुने, जीवाष्म इन्धन जस्तै केही समयमा भर्न सकिने र उर्जाको भण्डारण क्षमता बढी हुने भएकाले लामो दूरीका लागि, गह्रौं सामान बोक्ने सवारीका लागि हाइड्रोजन निकै महत्त्वपूर्ण हुन्छ । यसकारण आयातित पेट्रोल तथा ब्याट्रीमा भर पर्नुभन्दा आफ्नै देशमा स्थानीय स्रोत साधनबाट उत्पादन हुने हाइड्रोजन इन्धन प्रयोग गर्नु फाइदाजनक भएको उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: मंसिर ५, २०८० १३:१४