close

बाहिरियो वनप्लस १२ को डिजाइन, कहिले आउला बजारमा ?

टेकपाना टेकपाना

मंसिर १२, २०८० १४:१६

बाहिरियो वनप्लस १२ को डिजाइन, कहिले आउला बजारमा ?

काठमाडौं । फ्ल्यागशिप फोन वनप्लस १२ सिरिजको डिजाइन बाहिरिएको छ । कम्पनीले सोमवार ब्लगमार्फत सो सिरिजको डिजाइन बाहिर ल्याएको हो । यस सिरिज अन्तर्गत वनप्लस १२ र वनप्लस १२ आर माेडेलका दुई फोन सार्वजनिक हुनेछन् ।

चीनमा यो सिरिज ५ डिसेम्बरमा सार्वजनिक हुने तय गरिएको छ भने विश्व बजारमा सन् २०२४ को सुरुवातमा उपलब्ध हुने चर्चा छ । यसका लागि कम्पनीले अमेरिका, बेलायत र भारतमा ग्लोबल मार्केटिङ क्याम्पियन पनि सुरु गरिसकेको छ । 

वनप्लसले आफ्नो वेबसाइट र चिनियाँ सामाजिक सञ्जाल विबोमा सार्वजनिक गरेकाे वनप्लस १२ सिरिजको डिजाइन लगभग वनप्लस ११ सिरिजको जस्तै छ । पछाडिको क्यामेरा डिजाइन पनि उही छ । तर, क्यामेरा सेन्सर भने स्तरीय हुने बताइएको छ ।

यी फोन स्न्यापड्रागन ८ जेन थ्री चिपसेटद्वारा सञ्चालित हुने विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । त्यस्तै फोनमा गेमिङ पर्फर्मेन्स सुधार गर्न नयाँ एक्स एक्सिस मोटर समावेश गरिएको छ ।

कम्पनीका पाेस्टलाई आधार मान्ने हाे भने यो सिरिजका फाेन तीन ओटा कलर भेरियन्ट ह्वाइट, पेल ग्रुन र रक ब्ल्याकमा उपलब्ध हुनेछन् । 

बाहिरिएका विभिन्न जानकारीका अनुसार यसमा पछाडिपट्टि ट्रिपल क्यामेरा सेटअप छ । जसमा ओआईएस सपोर्ट गर्ने ५० मेगापिक्सेलको सोनी एलवाईटी-८०८ सेन्सर, ५० मेगापिक्सेलको अल्ट्रावाइड सोनी आईएमएक्स ५८१ सेन्सर र ओआईएस सहित तीन गुणा जुम क्षमता भएको ६४ मेगापिक्सेलको टेलिफोटो जुम लेन्स रहेको छ । 

वनप्लसका लागि चीनका अध्यक्ष ली जीले केही समयअघि वनप्लस १२ मा कम्पनीकै पहिलो ६४ मेगापिक्सेल पेरिस्कोप टेलिफोटो लेन्स फिचर हुने उल्लेख गरेका थिए । तर, हालसम्म पनि उक्त सेन्सरको विवरण बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १६:१५