close

निष्क्रिय जिमेल अकाउन्ट शुक्रवारदेखि डिलिट गर्दै गुगल, तपाईंको त पर्दैन अनि जोगाउने कसरी ?

टेकपाना टेकपाना

मंसिर १३, २०८० ८:५३

निष्क्रिय जिमेल अकाउन्ट शुक्रवारदेखि डिलिट गर्दै गुगल, तपाईंको त पर्दैन अनि जोगाउने कसरी ?

 

काठमाडौं । निष्क्रिय गुगल अकाउन्टलाई सदाका लागि डिलिट गर्ने मिति नजिक आइरहेको छ । यदि तपाईंले गत २४ महिनादेखि अहिलेसम्म आफ्नो गुगल अकाउन्टमा एक पटक पनि लगइन गर्नु भएको छैन भने अब त्यसमा तपाईंले पुन: पहुँच पाउन सक्नु हुने छैन । 

किनकि गुगलले त्यस्ता अकाउन्टलाई आउँदो शुक्रवार अर्थात् डिसेम्बर १ देखि चरणबद्ध रूपमा डिलिट गर्दै छ । 

 

आउँदो डिसेम्बर १ देखि दुई वर्षसम्म एक पटक पनि लगइन नगरेका अकाउन्ट, बनाएर कहिल्यै प्रयोग नगरिएका अकाउन्ट र कहिलेकाँही मात्र प्रयोग गरिएका अकाउन्ट गुगलको डिलिट गर्ने सूचिमा पर्ने छन् । त्यसरी डिलिट गरिएका अकाउन्टसँग सम्बन्धित सबै डेटा पनि प्रयोगकर्ताले गुमाउने गुगलले जनाइसकेको छ । 

तर यदि तपाईंसँग पुराना अकाउन्ट छन् भने यो समय तिनलाई जोगाउने तर्फ लगाउन तर्फ लाग्नुहोस् ।

 

किन निष्क्रिय अकाउन्ट डिलिट गर्दैछ गुगल?

विशेषत: सुरक्षाको विषयले गर्दा यस्तो कदम चाल्नु परेको गुगलले जनाएको छ । बिर्सिएका वा निष्क्रिय रहेका अकाउन्टमा पुरानो वा पुन: प्रयोग गरिएका पासवर्ड हुने, टु फ्याक्टर अथेन्टिकेसन सेट अप नहुने र प्रयोगकर्ताले सुरक्षा मापन नगर्ने भएकाले डिलिट गर्न लागिएको गुगलको तर्क छ । 

त्यस्तै सक्रिय अकाउन्टको तुलनामा निष्क्रिय अकाउन्टमा टु फ्याक्टर अथेन्टिकेसन प्रयोग गर्ने सम्भावना १० गुणाले कमी हुने र स्पाम तथा मालिसियस कन्टेन्ट फैलाउन त्यस्ता अकाउन्ट प्रयोग हुन सक्ने भएकाले पुनः सिर्जना नहुने गरी त्यस्ता अकाउन्ट बन्द गर्न लागिएकाे गुगलको भनाइ छ ।

 

अकाउन्ट डिलिट हुनबाट जोगाउने कसरी ?

यसबारे गुगलले गत मे महिनामा एक ब्लग पोस्ट गर्दै केही तरिकाहरू शेयर गरेको थियो । उक्त पोस्ट अनुसार दुई वर्षमा कम्तिमा एक पटक लगइन गरेको खण्डमा अकाउन्ट डिलिट हुनबाट जोगाउन सकिन्छ । यो नै अकाउन्टलाई डिलिट हुनबाट बचाउने सबैभन्दा सरल तरिका हो । 

यसरी गुगलका विभिन्न सेवाहरू लिनका निम्ति अकाउन्ट लगइन गर्नु हुन्छ भने त्यो अकाउन्ट सक्रिय भएको मानिन्छ । त्यसक्रममा तपाईंले निम्न गतिविधि गर्न सक्नु हुन्छ:

 

  • ईमेल खोल्ने अथवा पठाउने  

  • गुगल डक्स प्रयोग गर्ने 

  • युट्युबमा भिडिओ हेर्ने 

  • गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्ने  

  • गुगल सर्च गर्ने 

  • थर्ड पार्टी एप तथा सेवाका लागि गुगलबाट लग इन गर्ने  आदि ।

 

त्यस्तै यदि तपाईंले त्यस्ता अकाउन्टको पासवर्ड वा ईमेल बिर्सेर चलाउन सकिरहनु भएको छैन भने गुगलले त्यसका लागि पनि विकल्प दिएको छ । त्यस्ता गुगल अकाउन्ट वा जिमेल रिकभर गर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ । 

साथै अरूको अकाउन्ट व्यवस्थापन गर्ने जिम्मा तपाईंले लिनु भएको छ अथवा मृत्यु भइसकेका व्यक्तिको ईमेलमा तपाईंको पहुँच छ, तर अब थप चलाउन सक्नुहुन्न भने त्यस्ता अकाउन्टको डेटा यहाँ क्लिक गरी डाउनलोड गर्न सक्नुहुन्छ । 

अथवा यहाँ क्लिक गरी तपाईं आफैंले निश्चित समयका लागि अकाउन्ट निष्क्रिय समेत गराउन सक्नुहुन्छ । त्यस बेला गुगलको यो नीतिले असर नगर्ने बताइएको छ ।

 

के सबै निष्क्रिय गुगल अकाउन्ट डिलिट हुन्छन् ?

होइन । गुगलले सबै निष्क्रिय अकाउन्ट डिलिट गर्दैन । गुगलको यो नियम व्यक्तिगत अकाउन्टमा मात्र लागु हुन्छ । 

अर्थात् व्यक्तिगत अकाउन्ट विगत २४ महिनादेखि निष्क्रिय छ भने मात्र त्यससँग सम्बन्धित गुगल क्यालेन्डर, ड्राइभ, डक्स, जिमेल, मिट, फोटो सबै डिलिट हुन्छन् । 

तर उक्त अकाउन्टबाट युट्युब च्यानल खोलेर भिडिओ अपलोड गरिएका छन् भने ती सुरक्षित हुने उक्त ब्लग पोस्टमा उल्लेख छ । 

त्यस्तै व्यक्तिगत अकाउन्ट नै भएपनि तपाईंले गुगलको सेवा खरिद गर्नुभएको छ भने ती अकाउन्ट निष्क्रिय भए पनि सक्रिय मानिने छन् । अर्थात् त्यस्ता अकाउन्ट डिलिट हुने सूचिमा पर्ने छैनन् । 

साथै २४ महिनासम्म निष्क्रिय रहेको अकाउन्ट डिलिट गर्ने गुगलको नीतिमा कम्पनी तथा  क्लाशरूमसँग सम्बन्धित अकाउन्ट पनि पर्दैनन् । अर्थात् व्यापारिक तथा शैक्षिक उद्देश्यले खोलिएका अकाउन्टमा गुगलको यो नीति लागु हुने छैन ।  

 

सबै निष्क्रिय अकाउन्ट एकै पटकमा डिलिट हुने हो ?

होइन । गुगलले यो काम चरणबद्ध रूपमा गर्ने बताएको छ । पहिलो चरणमा खोलेर कहिल्यै प्रयोग नभएका अकाउन्टहरूलाई डिलिट गर्ने गुगलले जनाएको छ ।

तर कति ओटा अकाउन्ट डिलिट हुन्छन् अथवा त्यसपछिको चरणमा के कस्ता अकाउन्ट डिलिट हुन्छन् भन्नेबारे गुगलले आधिकारिक रूपमा अहिलेसम्म खुलाएको छैन । तर त्यसरी अकाउन्ट डिलिट गर्नु अगाडि सम्बन्धित अकाउन्टको ईमेल र रिकभरी ईमेल (राखिएको भए) मा सूचना पठाउने गुगलले बताएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १३, २०८० ८:५३