close

क्रिप्टोकरेन्सीको विज्ञापन गर्दा रोनाल्डोलोमाथि मुद्दा दर्ता, १ अर्ब डलर जरिवाना तिराउन माग

टेकपाना टेकपाना

मंसिर १५, २०८० १४:५२

क्रिप्टोकरेन्सीको विज्ञापन गर्दा रोनाल्डोलोमाथि मुद्दा दर्ता, १ अर्ब डलर जरिवाना तिराउन माग

काठमाडौं  । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सको प्रचार गर्दा मुद्दाको सामना गर्नुपरेको छ । ​रोनाल्डोले प्रचार गर्दा आफूले लगानी गरेको र त्यसले घाटा ब्यहोरेको भन्दै मङ्गलवार उनीविरुद्ध अमेरिकास्थित फ्लोरिडा अदालतमा क्रिप्टाेकरेन्सी लगानीकर्ताले मुद्दा दायर गरेका हुन् ।

मुद्दाका वादीहरूले रोनाल्डोबाट करिब एक अर्ब डलर जरिवाना माग गरेकाे बीबीसीले जनाएको छ । ​रोनाल्डोले नोभेम्बर २०२२ मा बाइनान्ससँग युनिक एनएफटी बिक्रीका लागि सहकार्य गरेका थिए । उनले प्रचार गरेको एनएफटीमा लगानी गर्दा आफूहरूलाई अर्बौंको घाटा लागेको रिट दायरकर्ताको दाबी छ ।

एनएफटी भनेको भर्चुअल सम्पत्ति हाे, जसलाई खरिद तथा बिक्री गर्न सकिन्छ । तर, एनएफटी भौतिक रूपमा कहीँ हुँदैन । सामान्यतः कसैले कुनै कुरा जस्तै फोटो, भिडिओ र आर्ट आफ्नो स्वामित्वमा छ भन्नका लागि यसको प्रयोग गरिन्छ । 

बाइनान्स र रोनाल्डोले सहकार्य गरेको भिडिओमा उनले लगानीकर्तालाई प्रेरित गर्दै फुटबल र एनएफटीलाई अर्को उचाइमा पुर्‍याउने जनाएका थिए । रोनाल्डोले सहकार्य गर्दा सबैभन्दा सस्तो एनएफटी कलेक्सनको मूल्य ७७ डलर थियो भने अहिले एक वर्षमा सो रकम घटेर एक डलर पुगेको बीबीसीले उल्लेख गरेको छ । 

रोनाल्डोले बाइनान्स प्रचार गर्दा क्रिप्टो एक्सचेन्जको सर्च ५०० प्रतिशतले बढेको रिट निवेदनकाे दाबी छ । यसले गर्दा उनीहरूले ‘अनरजिस्टर्ड सेक्युरिटिज’मा लगानी गर्न प्रेरित भएको गुनासाे गरेका छन् । 

यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) का अनुसार यी सम्पत्तिहरूलाई ‘सेक्युरिटिज’ मान्न सकिन्छ । त्यसैले यस्ता करेन्सी समर्थन गर्ने सेलिब्रेटीहरूले अमेरिकी कानूनको पालना गर्नुपर्छ । 

रोनाल्डोले बाइनान्सको प्रचार गर्दा कति रकम लिएका थिए, त्यो पनि खुलाउन माग गरिएकाे छ ।

यो मुद्दा प्रारम्भिक चरणमा भएकाले वादीहरू आफ्नो दाबीमा सफल छन् वा छैनन् भन्ने स्पष्ट छैन । यद्यपि यो मुद्दाले वित्तीय उत्पादनहरू प्रवर्द्धनमा सेलिब्रेटीहरूको भूमिकाबारे महत्त्वपूर्ण प्रश्न खडा गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८० १५:४३