close

सतिशलाल भन्छन्ः एनसेलका करोडौं ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

टेकपाना टेकपाना

मंसिर १६, २०८० ८:४४

सतिशलाल भन्छन्ः एनसेलका करोडौं ग्राहकलाई परिस्कृत सेवा दिन प्रतिबद्ध छौं

काठमाडौं । दूरसञ्चार कम्पनी एनसेलको ८० प्रतिशत शेयर किनेको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडले नेपालका करोडौं ग्राहकलाई परिस्कृत मोबाइल सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

आजियाटासँग एनसेलको शेयर कारोबार सम्झौतापछि स्पेक्ट्रलाइट लिमिटेडका लगानीकर्ता एवं निर्देशक सतिशलाल आचार्यले एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै ग्राहकलाई परिस्कृत सेवा दिने बताएका हुन् ।

“एनसेलको शेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ,”​ उनले भने, “दूरसञ्चार क्षेत्रको मेरो वृहत् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छाैं ।”​

स्पेक्ट्रलाइटका लगानीकर्ता आचार्य नेपाली मूलका व्यवसायी हुन् । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् किटस् एन्ड नेभिसमा रहेको रेनोल्ड्स होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिएकाे छ ।

आजियाटाको नाममा रहेको ८० प्रतिशत शेयरसमेत खरिद गरेसँगै एनसेलको लगभग शतप्रतिशत शेयर हिस्सेदारी शतिशलाल आचार्य परिवारको हातमा पुगेको छ ।

स्पेक्ट्रलाइट यूके दुई महिनाअघि मात्रै एक पाउन्ड स्टर्लिङमा बेलायतमा दर्ता गरिएको थियाे । 

आचार्यको कम्पनीले पाँच करोड अमेरिकी डलरमा आजियाटाकाे शेयर खरिद गरेको हाे । शेयर खरिद सम्झाैता अनुसार सन् २०२९ सम्म एनसेलले पाउने लाभांश आजियाटाले नै पाउने बताइएकाे छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पूर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन तत्पर रहेकाे बताएका छन् । 

“आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरू घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ, जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ,” उनले भने ।

याे पनि पढ्नुहाेस्:

बेलायती कम्पनी स्पेक्ट्रलाइटले साढे ६ अर्बमा किन्यो एनसेल 

एनसेलको नाममा यसरी लुटिंदैछ नेपाल

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० १२:३