close

टिकटक बन्दको निर्णयमा ९० प्रतिशत नेपालीको समर्थन छः उपप्रधानमन्त्री श्रेष्ठ

टेकपाना टेकपाना

मंसिर १६, २०८० २०:१९

टिकटक बन्दको निर्णयमा ९० प्रतिशत नेपालीको समर्थन छः उपप्रधानमन्त्री श्रेष्ठ

 

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटक बन्दको निर्णयलाई ९० प्रतिशत नेपालीले समर्थन गरेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रेष्ठले सरकारी कदममा आमजनताको समर्थन रहेको जिकिर गरे ।

सरकार सामाजिक सञ्जालसँग डराएको हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनाैं । खाली एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो । यो निर्णयमा ९० प्रतिशत जनमत समर्थनकै पक्षमा छ ।’

उनले अन्य सामाजिक सञ्जाल बन्द गर्ने विषयमा भइरहेको चर्चा सत्य नभएको उनले बताए ।  ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन चैं गर्छौं ।’ 

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने बताउँदै उनले नागरिकको स्वतन्त्रतालाई कुण्ठित नगरी यसलाई नियमन गर्ने दिशातर्फ सरकार गइरहेको बताए ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८० २०:१९