close

मङ्गोलियन टिमले उचाल्यो पब्जी विश्वकपको उपाधि, पायो साढे ५ करोड पुरस्कार

टेकपाना टेकपाना

मंसिर २५, २०८० १७:२

मङ्गोलियन टिमले उचाल्यो पब्जी विश्वकपको उपाधि, पायो साढे ५ करोड पुरस्कार

काठमाडौं । पब्जी विश्वकप अर्थात् ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएसजीसी) २०२३’ को उपाधि दक्षिण एसिया क्षेत्रको मङ्गोलियन पब्जी टिम ‘आईएचसी ई-स्पोर्ट्स’ ले जितेको छ । डिसेम्बर ८ देखि १० सम्म चलेको अन्तिम चरणको १८ खेलमा एक चिकेन डिनर र ११० एलिमिनेसन गरी कूल १४२ पोइन्ट ल्याएर आईएचसी ई-स्पोर्ट्स विजेता बनेको हो । प्रतियोगिता जितेसँगै ‘आईएचसी ई-स्पोर्ट्स’ले चार लाख १५ हजार डलर (करिब पाँच करोड ५५ लाख रुपैयाँ) जितेको छ ।

त्यस्तै दोस्रो स्थानमा  मङ्गोलियन टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ रहेको छ । स्टलवार्टले तीन चिकेन डिनर र ८३ एलिमिनेसन सहित कूल १३८ पोइन्ट बटुलेको छ । त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमशः ब्राजिलको टिम ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ र मङ्गोलियन टिम ‘फो मिराकल भाइब्स’ रहेका छन् ।

प्रतियोगितामा दोस्रो हुने टिम ‘स्टलवार्ट ई-स्पोर्ट्स’ले दुई लाख १५ हजार डलर (करिब दुई करोड ८७ लाख रुपैयाँ) र तेस्रो हुने टिम ‘अल्फा सेभेन ई-स्पोर्ट्स’ले एक लाख ३५ हजार डलर (करिब एक करोड ८० लाख रुपैयाँ) हात पारेका छन् ।

‘पीएसजीसी २०२३’ को फाइनलको अङ्क तालिकाको शीर्ष पाँचमा तीन मङ्गोलियन टिम छन् । दक्षिण एसिया क्षेत्रबाट मङ्गोलियन टिम र नेपाली टिम पब्जीमा खेल्ने गरेका छन् । नेपाली टिमहरूले भने ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया च्याम्पियनसिप फल २०२३’ को अङ्क तालिकामा शीर्ष छभित्र नअटाउँदा ‘पीएसजीसी २०२३’ खेल्ने अवसर गुमाएका थिए । ‘डीआरएस गेमिङ’ को विशेष आमन्त्रित टिमको रूपमा  ‘पीएमजीसी २०२३’ को ग्रुप स्टेज खेले पनि १५ औँ स्थानमा रहँदै प्रतियोगिताबाट नै बाहिरिएको थियो ।

त्यस्तै ‘पीएसजीसी २०२३’ को ‘मस्ट भ्यालुएबल प्लेयर’का साथै ‘गनस्लिङ्गर’ (Gunslinger)‘आईएचसी ई-स्पोर्ट्स’का खेलाडी ज्योल भएका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २५, २०८० १७:२