close

स्मार्ट कार बनाउन मर्सिडिज र अडिसँग लगानी माग्दै ह्वावे

टेकपाना टेकपाना

पुस ३, २०८० १३:४०

स्मार्ट कार बनाउन मर्सिडिज र अडिसँग लगानी माग्दै ह्वावे

 

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले मर्सिडिज बेन्ज र अडिसँग स्मार्ट कार निर्माणका लागि लगानीको प्रस्ताव राखेको छ । ह्वावेले आफ्नो योजनामा रहेको स्मार्ट कार सफ्टवेयर र कम्पोनेन्ट फर्ममा लगानी गर्न यी कम्पनीलाई आह्वान गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उक्त विषयका तीन जना जानकारसँग कुरा गर्दै यस्तो समाचार प्रकाशन गरेको छ । कम्पनीले चीनबाहिर पनि आफ्नो पार्टनरशिप विस्तार गर्न यो कदम चालेको बताइएको छ ।

अमेरिकाले सन् २०१९ मा ह्वावेमाथि प्रतिबन्ध लगाएको थियो, जसले गर्दा कम्पनीले चीनबाहिर प्रभावकारी रूपमा बजार विस्तार गर्न सकेको छैन । विदेशी लगानीकर्ताको उपस्थितिले व्यापारलाई सम्भावित थप भूराजनीतिक तनावबाट जोगाउन मद्दत गर्ने कम्पनीको अपेक्षा छ ।

ह्वावेले हालै आफ्नो व्यवसायलाई इन्टेलिजेन्ट अटोमोटिभ सोलुसन (IAS) मा अलग गर्ने योजना बनाएको छ । चीनको यो कम्पनीले स्मार्ट इलेक्ट्रिक कारका लागि सफ्टवेयर र पार्टपुर्जाहरू बनाउन चार वर्षदेखि काम गरिरहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

स्मार्ट इलेक्ट्रिक गाडी उद्योगमा ह्वावे मुख्य आपूर्तिकर्ता बन्न चाहेको बताइएको छ । विभिन्न स्रोतका अनुसार ह्वावेको यो परियोजनाको मूल्य २८ अर्बदेखि ३५ अर्ब डलरसम्म रहेको छ । यसमा ह्वावेले मर्सिडिजलाई तीनदेखि पाँच प्रतिशत स्टेक खरिद आह्वान गरेको छ ।

तर, मर्सिडिज भने ह्वावेको प्रस्तावमा उत्साहित छैन । कम्पनीले सफ्टवेयरका सन्दर्भमा आउटसोर्सिङ गर्नेभन्दा पनि आफैंले निर्माण गरेर प्रिमियमको स्थान कायम राखिराख्न चाहेको विभिन्न स्रोत व्यक्तिले रोयटर्सलाई बताएका छन् ।

यता ह्वावे र अडिले भने अडिका लागि स्वचालित ड्राइभिङ प्रविधिका लागि सहकार्य गर्ने योजना बनाइरहेको बताइएको छ । यी प्रविधि २०२५ सम्म अडिको गाडीमा प्रयोग हुने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: पुस ३, २०८० १३:४०