close

द्रुत बस सेवालाई लक्षित गरी मोबाइल एप सार्वजनिक हुँदै, के के छन् फिचर ?

टेकपाना टेकपाना

पुस ६, २०८० ११:१९

द्रुत बस सेवालाई लक्षित गरी मोबाइल एप सार्वजनिक हुँदै, के के छन् फिचर ?

काठमाडौं । उपत्यका द्रुत बस सेवाका लागि तयार पारिएको मोबाइल एप सार्वजनिक हुने भएको छ । स्ल्याश प्लसले तयार पारेको 'एक्सप्रेस बस सर्भिस' एप आइतवार सार्वजनिक हुन लागेको हो ।

संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सुरु भएको द्रुत बस सेवा प्रभावकारी हुँदै गएपछि अनलाइन प्रणाली अपनाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए ।

"अहिले औसतमा दैनिक चार हजार यात्रुले द्रुत बसमा यात्रा गरिरहनु भएको छ," उनले टेकपानासँग भने, "कार्यालय समयमा यात्रुको चाप बढी हुने भएकाले द्रुत बस सेवा सञ्चालन गरिएको हो । गाडी कहाँ पुग्यो, अर्को गाडी कहाँ छ भन्ने थाहा दिनका लागि एप प्रयोगमा ल्याउन लागेका हौं ।"

सुरुवाती चरणमा लाइभ ट्रयाकिङ बाहेक अन्य सेवाहरू एपमै हुने उनले सुनाए । विशेषगरी गाडीमा तत्काल जीपीएस जडान गर्न केही आन्तरिक समस्या आएपछि डेटा इन्ट्रीको काम म्यानुअल्ली गर्ने उनले सुनाए ।

"अहिले एप डाउनलोडका लागि उपलब्ध भइसकेको छ," उनले भने, "त्यसमा केही डेटा राख्न छ । सबै डेटा राखिसकेपछि हामी औपचारिक रूपमा सार्वजनिक गर्छौं । सम्भवतः आइतवार पूर्ण रूपमा सार्वजनिक गर्नेछौं । लाइभ ट्र्याकिङका लागि जीपीएस गाडीमा राख्नुपर्ने हुन्छ । गाडीमा त्यही अनुसारका समस्या छन् । केही समयपछि जीपीएस पनि जडान हुनेछ ।"

बस पुगेको छ छुटेको जानकारी दिनका लागि सूर्यविनायक, कोटेश्वर र रत्नपार्कमा विभागका कर्मचारी हुन्छन् । सूर्यविनायकबाट गाडी छुट्नासाथ उनीहरूले गाडी छुटेको डेटा राख्छन् । त्यसपछि गाडी विभिन्न स्टेसनमा पुग्ने अनुमानित समय देखिन्छ । यसलाई अझ प्रभावकारी बनाउन कोटेश्वरमा उक्त गाडी पुगेपछि गाडी कोटेश्वर पुगेको डेटा इन्ट्री गरिन्छ ।

त्यसपछि अन्तिममा रत्नपार्कमा गाडी पुगेपछि र छुट्नेबेला इन्ट्री गरिन्छ । यसले गर्दा हरेक स्टेसनमा गाडी पुग्न भनेको समयभन्दा तीन-चार मिनेट तलमाथि हुन सक्ने स्ल्याश प्लसका कम्पनीका अध्यक्ष तथा सीईओ क्षितिज कार्कीले बताए ।

"विभागले गाडीको टाइम टेबल बनाएको हुन्छ । त्यसमा एउटा गाडी कति बजे सूर्यविनायक र रत्नपार्कदेखि छुट्छ, अनि कति कति बजे विभिन्न स्टेसनमा पुग्छ भन्ने अनुमानित टाइम छुट्टाइएको छ," उनले भने, "त्यसैलाई बेस बनाएर हामीले एप तयार पारेका छौं ।"

एपमा अहिले यात्रुले बस नम्बर, छुट्ने समय, सिट, भाडादर र बिसौनीबारे जानकारी हेर्न पाउने कार्कीले सुनाए । टाइम टेबललाई आधार मानेर गाडी कहाँ पुग्यो भनेर जानकारी दिने यो विधि त्यति प्रभावकारी नहुने उनले बताए । उनले भने, "यसअघि पनि हामीले अन्य यातायातका बसहरूमा जीपीएस ट्र्याकर जडान गरिसकेकाले लाइभ लोकेसन थाहा पाउन सकिन्छ । यसमा जडान नगरेकाले सटीक थाहा नहुन सक्छ । तर, प्रयोगकर्ताका लागि भने उपयोगी नै हुन्छ ।"

स्ल्याश प्लसले 'द्रुत बस सेवा'का लागि यो एप निःशुल्क विकास गरेको हो । द्रुत गतिको बस सेवा नेपालमै पहिलो पटक सुरु भएकाले विस्तारै परिमार्जन गर्दै जाने उनको भनाइ छ । "जीपीएस जडान गर्न थालियो भने खर्च पनि बढी हुन्छ । सुरुवातमा बढी खर्च गर्नुभन्दा पनि कत्तिको प्रभावकारी हुन्छ भन्ने बुझ्न हामीले नै अहिले म्यानुअल्ली डेटा इन्ट्री गर्न सुझाव दिएका छौं ।"

एक्सप्रेस बस सर्भिस एप अहिले प्लेस्टोरमा उपलब्ध भइसकेको छ भने एप स्टोरमा दुई सातापछि उपलब्ध हुने कार्कीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८० ११:३४