close

एनसीएचएलमा नेप्स गाभिने, अगाडि बढ्यो प्रक्रिया

टेकपाना टेकपाना

पुस १०, २०८० १२:४८

एनसीएचएलमा नेप्स गाभिने, अगाडि बढ्यो प्रक्रिया

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) मा नेपाल इलेक्ट्रोनिक्स पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) गाभिने भएकाे छ । आइतवार एनसीएचएलको १५औं वार्षिकाेत्सवको अवसरमा यी दुई कम्पनीबीच मर्जर तथा एक्विजिनका लागि प्रारम्भिक साझेदारी भएको हो । 

एनसीएचएलको मर्जर प्राप्ति समितिका संयोजक महेश शर्मा ढकाल र नेप्सकाे मर्जर समितिका संयोजक सञ्जीवकुमार श्रेष्ठबीच समझदारी पत्र आदानप्रदान भएकाे थियाे ।

साे अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर डा. निलम ढुंगाना तिमल्सिना तथा राष्ट्र बैंकका अन्य पदाधीकारीहरू, नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघका प्रतिनिधि र बैंक वित्तीय संस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियो । 

एनसीएचएल र नेप्स दुवै बैंक तथा वित्तीय संस्थाको प्रवर्द्धनमा नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त गरी आ-आफ्नो क्षेत्रमा कार्य गरी आएका संस्था हुन् । 

विद्युतीय भुक्तानी पूर्वाधारको विकास तथा यसको प्रयोग वृद्धि गरी डिजिटल नेपालले परिकल्पना गरेको विद्युतीय भुक्तानीका क्षेत्रलाई आधुनिकीकरण तथा अन्तरआबद्धता कायम गर्न र सो सम्बन्धी दूरगामी परियोजनाको सफल कार्यान्वयनका लागि राष्ट्रिय भुक्तानी स्वीचको परियोजना अत्यावश्यक रहेको एनसीएचएलको भनाइ छ ।

साथै, नेपाल राष्ट्र बैंकले लिएको गाभ्ने/गाभिने वा प्राप्तिसँग सम्बन्धी नीति कार्यान्वयनलाई सफल पार्न एनसीएचएल र नेप्स प्राप्ति प्रक्रियाको माध्यमबाट दुवैको कारोबारलाई एकीकृत गरी थप सुधार, प्रतिस्पर्धात्मक र प्रतिफलमूलक हुनेगरी अगाडि बढ्नु उपयुक्त मानिएको कम्पनीले जनाएको छ । सोही अवधारणालाई मुर्तरुप दिन एनसीएचएल र नेप्सबीच प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक लिखित समझदारी भएको हो । 

१८ फागुन २०६९ मा स्थापना भएकाे नेप्सले विभिन्न बैंक वित्तीय संस्थाका लागि केन्द्रीकृत रूपमा कार्ड जारी गर्ने, स्वीकार गर्ने र कारोबार सम्पन्न गर्न आवश्यक प्रशोधन गर्ने कार्य गर्दै आएको छ । याे कम्पनीअन्तर्गत ११ बैंक तथा वित्तीय संस्थाका १६ सयभन्दा बढी एटीएम, नौ हजारभन्दा बढी पोसमार्फत सेवा प्रदान गर्ने र ईकमर्स कारोबारका लागि एसीएस थ्रीडी सेक्युअर लगायतका सेवा उपलब्ध हुँदै आएको छ । 

त्यस्तै एनसीएचएलको सञ्जालमा प्रत्यक्ष सदस्यका रूपमा ५३ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र प्राविधिक सदस्यका रूपमा ९५ भन्दा गैर-बैंकिङ संस्थाहरू छन् । एनसीएचएलका प्रणालीहरूबाट रकमको आधारमा नेपालको ८५ प्रतिशतभन्दा बढी खुद्रा नन-क्यास कारोबारहरू प्रशोधन भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १२:४८