close

कोशी प्रदेश सरकारको ‘जब पोर्टल’, जागिर दिन तथा खोज्न सकिने

टेकपाना टेकपाना

पुस १२, २०८० १६:३०

कोशी प्रदेश सरकारको ‘जब पोर्टल’, जागिर दिन तथा खोज्न सकिने

काठमाडौं । जागिरको खोजीमा रहेका व्यक्ति तथा रोजगारदाता कम्पनीलाई कोशी प्रदेश सरकारले सहजीकरण गर्ने भएको छ । यी दुवै पक्षलाई एकै ठाउँमा जोड्ने गरी प्रदेश सरकारले श्रम बजार सूचना प्रणाली सञ्चालनमा ल्याएकाे छ ।

यसअघि यो प्रणाली विराटनगर महानगरपालिका, इटहरी उप-महानगरपालिका र दुहवी नगरपालिकाको स्वामित्वमा सुरु भएको थियो । स्विस कन्ट्याक्ट,आस्मान नेपालले ‘स्टेप अप’ परियोजना मार्फत यी स्थानीय पालिकाहरूमा यो प्रणाली सञ्चालनमा ल्याएको थियो ।

अब भने यो प्रणाली कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयको श्रम सूचना केन्द्र मातहतमा रहने गरी सञ्चालन गरिने भएको छ ।

मन्त्रालयका श्रम तथा रोजगार शाखाका अधिकृत रिता खतिवडाका अनुसार गैरसरकारी संस्थाहरूले यो प्रणाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

“प्रदेशका सबै स्थानीय पालिकाहरूलाई प्रणालीमा जोड्न प्रदेश सरकारलाई श्रम बजार सूचना प्रणाली हस्तान्तरण गरिसकिएको छ,” टेकपानासँगको कुराकानीमा उनले भनिन्, “अब क्रमशः अन्य पालिकाहरू यसमा जोडिनेछन् । प्रदेशभर यो प्रणाली विस्तार हुने छ ।” 

रोजगारी र उद्यमशीलताका अवसरहरूको जानकारी दिनेगरी यस प्रणालीलाई विकास गरिएको हाे । यसका लागि ‘श्रम संसार’ नामक वेबसाइट तथा एन्ड्रोइड एप तयार पारिसकिएको छ, जुन यसअघि नै उक्त पालिकाहरूका लागि सञ्चालनमा छ ।

सरल भाषामा बुझ्दा ‘श्रम संसार’ एउटा जब पोर्टल हो । काम गर्न इच्छुकले यसमा अकाउन्ट बनाएर आफ्नो बायोडेटा अथवा प्रोटफोलियो अपलोड गर्न सक्छन् । जसलाई हेरेर काम दिन इच्छुकले उसलाई नियुक्ति दिन सक्छन् ।

यसमा त्यस्तै यो प्रणालीमा विभिन्न तालिम प्रदायक संस्थाहरू पनि जोडिएकाले प्रशिक्षण तथा तालिमबारे पनि जानकारी पाइने छ । साथै जोकोहीले यसमा नि:शुल्क अकाउन्ट बनाउन अथवा जानकारी पाउन सकिने छ । ‘श्रम संसार’को वेबसाइटमा जान यहाँ र मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: पुस १२, २०८० १६:३०