close

आँधीसँगै बिजुली गएपछि एक महिलाले बीवाईडी ईभीबाट चलाइन् छोराको डायलाइसिस मसिन

टेकपाना टेकपाना

पुस १९, २०८० १९:१६

आँधीसँगै बिजुली गएपछि एक महिलाले बीवाईडी ईभीबाट चलाइन् छोराको डायलाइसिस मसिन

काठमाडौं । भयानक आँधीका कारण बिजुली गएपछि अस्ट्रेलियाकी एक महिलाले बीवाईडीको विद्युतीय कारमा जोडेर छोराको डायलिसिस मसिन चलाएकी छिन् । क्रिसमसको दिन दक्षिण पूर्वमा पर्ने क्विन्सल्यान्डमा विद्युत अवरुद्ध हुन पुगेको थियो । 

उक्त समयमा क्रिस्टी होल्मेज नामक महिलाले आफ्ना ११ वर्षीय छोराको डायलाइसिस मसिन चलाउन चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी एट्टो ३ को सहारा लिएको समाचार द गाडियनले प्रकाशित गरेको छ । होल्मेजले गाडियनलाई बताए अनुसार उनको छोरा लेभि मृगौला प्रत्यारोपणको पर्खाइमा थिए ।

यदि एट्टो थ्री मा "भेहिकल टु लोड" फिचर नभइदिएको भए उनको जीवन नै जोखिममा पर्नसक्ने थियो, गाडीमा रहेको उक्त फिचरले कारको ब्याट्रीमार्फत घरायसी उपकरण चार्ज गर्न सकिन्छ ।

"हामीले कारबाटै यो मसिनलाई चलायौं" होल्मेजले गार्डियनसँग भनेकी छिन्, "हामीलाई केवल एक रातका लागि मात्र यसलाई प्रयोग गर्नुपर्ने थियो । तर हामी कम्तीमा चार रातका लागि चलाउन सक्ने अवस्थामा थियौं र त्यसपछि कारलाई कतै लगेर चार्ज गर्नुपर्ने हुन्थ्यो ।"

बीवाईडी एट्टो थ्री आफूले अहिलेसम्म किनेको मध्ये सबैभन्दा अनौठो लागेको उनले बताएकी छिन् ।

"अहिले यसले आँधीका क्रममा मेरो छोराको ज्यानै जोगाइदियो, मलाई लाग्छ अब भने म कहिल्यै पेट्रोल कारतर्फ फर्किन्न होला," उनले अगाडि थपिन् । उक्त परिवारले एट्टोको चार्जिङ फिचर अन्य कम संवेदनशील प्रयोजनमा समेत उपयोग गरेको छ ।

केही ईभीहरूमा प्रतिकूल मौसम अथवा प्राकृतिक प्रकोपका कारण बिजुली बत्ती गएको अवस्थामा पावर जेनेरेटरको रूपमा काम गर्न यस किसिमको सुविधा हुने गर्छ ।

सन् २०२२ मा फ्लोरिडा तट क्षेत्रमा आएको आँधीका क्रममा फोर्डमा रहेको एफ-१५० लाइटनिङ इलेक्ट्रिक पिकअपलाई ऊर्जाको स्रोतमा प्रयोग गर्नेको सङ्ख्या १२७ प्रतिशतले बढेको थियो ।

फोर्डका सीईओ जिम फार्लेले एक्समा पोस्ट गर्दै हुरिक्यानबाट प्रभावित सवारी चालकले आफ्नो ट्रकलाई खाना पकाउन र बत्ती बाल्न प्रयोग गरेको उल्लेख गरेका छन् । यो दोहोरो चार्जिङ सुविधाको सहयोगमा एकअर्को ईभीलाई चार्ज गर्न समेत सकिन्छ ।

भेहिकल-टु-भेहिकल चार्जिङका लागि इलेक्ट्रिक एफ-१५० र साइबर ट्रकमा फोर्ड र टेस्लाले सहकार्य गरेका छन् । जब कि जीएम (जनरल मोटर्स) ले गत अगस्टमा घोषणा गरे अनुसार सन् २०२६ सम्म कम्पनीका सम्पूर्ण विद्युतीय गाडीमा दोहोरो चार्जिङको सुविधा समावेश हुनेछ ।

भविष्यमा यस किसिमको फिचरले घरमा आवश्यक पावर ब्याकअपका लागि मात्र नभएर विद्युतीय गाडीलाई ठूला ठूला विद्युतीय ग्रिडमा समेत जोड्न सकिनेछ ।

खासगरी आँधी वा लु जस्ता विपदका कारण सिर्जना हुने उच्च मागको समयमा विद्युतीय सवारीको यस किसिमको सुविधाले ठूलो सहयोग पुर्‍याउने अपेक्षा गर्न थालिएको छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०८० १९:१६