close

नेपाल भित्रियो एनएफसीमा आधारित ‘पेपरलेस' भिजिटिङ कार्ड, मूल्य ४ हजार माथि

टेकपाना टेकपाना

पुस २३, २०८० १०:४८

नेपाल भित्रियो एनएफसीमा आधारित ‘पेपरलेस' भिजिटिङ कार्ड, मूल्य ४ हजार माथि

काठमाडौं । नेपालमा एनएफसी (नियर-फिल्ड कम्युनिकेसन) मा आधारित डिजिटल कार्डको सुरुवात भएको छ । इभाज कार्ड प्रालि नामक एक कम्पनीले ‘पेपरलेस' (कागज रहित) भिजिटिङ कार्ड प्रविधि नेपाल भित्र्याएको हो ।

पेपरलेस भिजिटिङ कार्ड प्रविधिको प्रयोग यो नै नेपालमा पहिलो पटक भएको कम्पनीको दाबी छ । एटीएम कार्डमा जस्तै यसमा रहने चिपमा व्यक्ति वा कम्पनीका सम्पूर्ण विवरणहरू राखिकाका हुन्छन् ।

यसलाई बैंकको एटीएम कार्ड झैं साथमा लिएर हिंड्न मिल्छ । जसले गर्दा प्रयोगकर्ताले आफ्नो सम्पर्क सहितको जानकारी सजिलै अरूलाई दिन सक्छन् ।

यसमा मोबाइल नम्बर, ईमेल र अन्य जानकारी सजिलो तथा बिना झन्झट उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ । कार्डमा रहने चिपको माध्यमबाट मोबाइल ‘टच’ र वा क्यामेरामा ‘स्क्यान’ गरिसकेपछि यस्तो भिजिटिङ कार्डमा रहेको विवरण सिधै मोबाइल फोनको ‘कन्ट्याक्ट लिस्टमा सेभ हुन्छ ।
सन् २००० ताका नै विकसित देशहरूमा यस किसिमको कार्ड प्रचलनमा आएको हो । तर नेपालमा भने हालै मात्र यस किसिमको प्रविधि व्यवसायिक रूपमा सेवा उपलब्ध गराउने स्तरमा भित्रिएको हो ।

यसमा राखिएका व्यक्तिगत विवरणहरू आफूले चाहेको समयमा सम्पादन तथा थपघट गर्न सकिने विशेषता समेत रहेको छ । व्यक्तिगत र कम्पनीको छुट्टाछुट्टा भिजिटिङ्ग कार्ड, अनलाइन तथा अफलाइन दुवैमा प्रयोग गर्न मिल्ने, प्रिमियर क्वालिटी, एक पटक प्रिन्ट गरिसकेपछि सधैंका लागि हुने, व्यक्तिगत नाम ‘इम्बोस’ प्रिन्ट हुने लगायतका फिचर समेत यसमा रहेका छन् ।

यसका साथै कम्पनीले संस्था वा व्यवसायको प्रवर्द्धनका लागि विभिन्न सामाजिक सञ्जालमार्फत गुगल ‘रिभ्यु’ कार्ड र फलोअर्स कार्डको पनि सुरुवात गरेको छ । जसको सहयोमा कम्पनी वा व्यवसायको बारेमा कार्ड स्क्यान गरी ‘रिभ्यु’ दिन सकिने बताइएको छ ।

कार्डको सफ्टवेयर एआई प्रविधिमा निर्माण गरिएको छ । यसमा प्रयोगकर्ताका लागि छुट्टै ड्यास बोर्ड हुने, आफूले चाहेको बेलामा अपडेट तथा डिलिट गर्न सकिने सुविधा पनि छ ।

यसमा रहेका डेटालाई सुरक्षित राखिएको बताउँदै कम्पनीले डेटा हराउने तथा दुरुपयोग हुने जोखिम नरहेको कम्पनीका प्रबन्ध निर्देशक सरोज बानियाँको भनाई छ । वर्षेनी महँगो मूल्य तिरेर भिजिटिङ कार्ड छाप्ने झन्झटमा मुक्ति पाउनका लागि यो कार्ड बहुउपयोगी हुने उनले बताए ।

कार्डको सुरुवाति मूल्य चार हजार रुपैयाँ राखिएको छ । उक्त मूल्यमा कम्पनीले आकर्षक बक्स सहित कार्ड उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: पुस २३, २०८० ११:३