close

एनसेल सेयर किनबेच छानबिन समितिको म्याद माघ १५ सम्म थप

टेकपाना टेकपाना

पुस २५, २०८० १७:५१

एनसेल सेयर किनबेच छानबिन समितिको म्याद माघ १५ सम्म थप

काठमाडौं । सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिको कार्य अवधि थप भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त समितिको कार्य अवधि माघ १५ गतेसम्म थप गरेको हो ।

यसअघि मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेलको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानूनको परिपालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्नसक्ने असरलगायतका विषय अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो ।

 २४ मङ्सिरदेखि काम सुरु गरेको समितिले हालसम्म छानबिन टुङ्गो लगाउन सकेको छैन ।

समितिले अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्कयताअनुसार छलफल गरी रायसुझाव दिने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० ९:२