close

लुम्बिनी प्रदेशमा अब आफ्नै सवारी प्रयोग गरेर ट्रायल दिन पाइने

टेकपाना टेकपाना

पुस २६, २०८० १२:५७

लुम्बिनी प्रदेशमा अब आफ्नै सवारी प्रयोग गरेर ट्रायल दिन पाइने

काठमाडौं । लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयमा अब सेवाग्राहीले आफ्नै सवारीसाधन प्रयोग गरी ट्रायल दिन पाउने भएका छन् । बुधवार लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयका प्रमुखसँग बसेको बैठकमा लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सराेज थापा (रोज राणा)ले यस्तो व्यवस्था लागू गर्न निर्देशन दिएका हुन् ।

मन्त्री थापाले सेवाग्राहीको सहजताका लागि सवारी चालक अनुमति पत्रको ट्रायल दिने क्रममा प्रयोग हुने सवारी साधन परीक्षार्थीलाई स्वेच्छाले प्रयोग गर्न दिन मन्त्रालयका सचिवसहित कर्मचारीलाई निर्देशन दिएका हुन् ।

टेकपानासँग कुरा गर्दै यातायात व्यवस्था कार्यालय, रूपन्देहीका निमित्त कार्यालय प्रमुख सुमन पौडेलले मन्त्रीले सेवाग्राहीलाई ट्रायल दिने क्रममा स्वेच्छाले सवारी छान्न दिने मौखिक निर्देशन दिएको बताए ।

“हामी कार्यालय प्रमुखसँग बसेको बैठकमा मन्त्रीज्यूले सेवाग्राहीलाई उनीहरूकै सवारी प्रयोग गर्नका लागि सहजीकरण गरिदिन भन्नुभएको छ,” पौडेलले भने, “केही यातायात कार्यालयमा तोकिएकै सवारी साधन प्रयोग गर्नुपर्ने अवस्था थियो । अब सबै लुम्बिनी प्रदेशका कार्यालयमा यो व्यवस्था लागू हुन्छ ।”

सर्वसाधारणलाई अनावश्यक आर्थिक भार पर्ने र काम ढिलो हुने भएकाले सेवाग्राहीको सहजताका लागि यस्तो मन्त्री थापाले यस्तो निर्देशन दिएको पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० १३:३८