close

सामसङ फोनमा आयो ‘च्याट असिस्ट’ फिचर, टाइप गर्दागर्दै चाहेको भाषा अनुवाद हुने

टेकपाना टेकपाना

माघ ४, २०८० ११:२६

सामसङ फोनमा आयो ‘च्याट असिस्ट’ फिचर, टाइप गर्दागर्दै चाहेको भाषा अनुवाद हुने

काठमाडौं । सामसङले किबोर्डमा टाइप गर्दागर्दै भाषा अनुवाद हुने ‘च्याट असिस्ट’ फिचर सार्वजनिक गरेको छ । बुधवार राति भएको ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’मा कम्पनीले यो फिचर सार्वजनिक गरेको हो ।

सामसङको बिल्टइन किबोर्डमा उपलब्ध हुने च्याट असिस्ट फिचरलाई विभिन्न काममा प्रयोग गर्न सकिन्छ । यसको प्रयोग गरी प्रयोगकर्ताले च्याटलाई वास्तविक समयमै अनुवाद गर्न सक्नेछन् ।

सामसङका अनुसार यो फिचर जुनसुकै मेसेजिङ एपमा प्रयोग गर्न सकिनेछ । च्याट असिस्टले प्रयोगकर्ताले कुन भाषामा टाइप गरिरहेको छ, त्यसलाई पहिचान गर्छ र वास्तविक समयमै त्यसलाई चाहेको भाषामा अनुवाद गरिदिन्छ । अनि मेसेज पाउने व्यक्तिले टाइप गरिएको भन्दा फरक भाषामा मेसेज पाउँछ ।

त्यस्तै अर्को व्यक्तिले पठाएको टेक्स्टलाई पनि यो फिचरले प्रयोगकर्ताले चाहेको भाषामा अनुवाद गरिदिन्छ ।

कम्पनीले ‘एक्सप्रेसिभ टेक्स्ट विथ एआई अन गुगल मेसेज’ फिचर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो फिचरले मेसेज विश्लेषण गरेर त्यसलाई कसरी रिप्लाई गर्दा उपयुक्त हुन्छ भन्ने सुझाव दिन्छ ।

प्रयोगकर्ताले यो फिचर प्रयोग गरी विभिन्न स्टाइलमा मेसेज पठाउन सक्नेछन् । कसैसँग औपचारिक कुरा गर्नुपर्ने हुन्छ, कसैसँग रमाइलो शैलीमा कुरा गरिन्छ भने कसैसँग साहित्यिक शैलीमा कुरा गरिन्छ ।

यो फिचर प्रयोग गरी प्रयोगकर्ताले आफूले चाहेको शैली छान्नुपर्ने हुन्छ । त्यसपछि त्यहाँ पठाउन सकिने मेसेज सुझावका रूपमा देखिन्छन् । प्रयोगकर्ताले उपयुक्त हुने मेसेज छनोट गरेर पठाउन सक्नेछन् । यसका लागि कम्पनीले गुगलको पछिल्लो एआई टुल ‘जेमिनाई’ प्रयोग गरेको जनाएको छ ।  

त्यस्तै कम्पनीले किबोर्डमा स्पेल चेकर पनि समावेश गरेको छ । यसले प्रयोगकर्ताले टाइप गरेको वाक्यलाई शुद्ध बनाउनुका साथै त्यसलाई स्तरीयत बनाउन सहयोग गर्ने कम्पनीको दाबी छ ।

त्यस्तै कम्पनीले नोट असिस्ट फिचर पनि सार्वजनिक गरेको छ । प्रयोगकर्ताले यो फिचर प्रयोग गरी टाइप गरेको फर्म्याटमा मिलाउन सक्छन् । त्यस्तै लामो अनुच्छेदको सारांश चाहियो भने पनि नोट असिस्टले प्रयोगकर्तालाई सघाउने बताइएकाे छ । 

त्यसैगरी ग्यालेक्सी अनप्याक्ड इभेन्टमा 'ट्रान्सक्रिप्ट असिस्ट' फिचर पनि सार्वजनिक भएको छ । प्रयोगकर्ताले सामसङ रेकर्डर एपबाट यो फिचर प्रयोग गर्न सक्ने बताइएको छ ।

कम्पनीका अनुसार यो फिचर प्रयोग गरी रेकर्ड गरिएको आवाजलाई तत्कालै टेक्स्टमा उतार्न सकिनेछ । त्यस्तै रेकर्डर एपमा लामो कुराकानी रेकर्ड गरिएको छ भने ट्रान्सक्रिप्ट असिस्टले उक्त कुराकानीको सारांश उपलब्ध गराउँछ । यो फिचर यसअघि गुगलले पिक्सेल फोनका लागि उपलब्ध गराएको रेकर्डर एपमा उपलब्ध थियो । 

त्यस्तै यही फिचरको सहायताले सामसङ किबोर्डमा टाइप गरेको टेक्स्टलाई वास्तविक समयमा अनुवाद गर्न सकिन्छ । विशेषगरी टाइप गरेर कसैलाई उसले बुझ्ने भाषामा टेक्स्ट पठाउनु पर्नेछ भने सामसङको यो फिचर तपाईंका लागि उपयुक्त हुन सक्छ । 

यी फिचरहरू सुरुवाती समयमा कम्पनीले सामसङ एस२४ सिरिजमा मात्र उपलब्ध गराएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० ११:३७