close

नेपालमा सामसङ एस२४ सिरिजको प्रि-अर्डर सुरु, मूल्य २ लाखसम्म, किस्ताबन्दीमा किन्न सकिने

टेकपाना टेकपाना

माघ ५, २०८० १२:१४

नेपालमा सामसङ एस२४ सिरिजको प्रि-अर्डर सुरु, मूल्य २ लाखसम्म, किस्ताबन्दीमा किन्न सकिने

काठमाडौं । सामसङ ग्यालेक्सी एस२४ सिरिजको प्रि-अर्डर नेपालमा पनि खुलेकाे छ । सामसङ नेपालले शुक्रवारदेखि एस२४ सिरिज अन्तर्गतका सबै मोडेलको प्रि-अर्डर खुलाएको हो ।

एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस२४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले भरिएका छन् ।

त्यसबाहेक पछिल्लो समय बजारमा आएका आईफोन १५, पिक्सेल ८ तथा ह्वावे मेट ६० सिरिजका फोनसँग एस२४ सिरिजले प्रतिस्पर्धा गर्ने अनुमान गरिएकाे छ ।

एस२४ सिरिज अन्तर्गत तीन मोडेल एस२४, एस२४ प्लस र एस२४ अल्ट्रा सार्वजनिक भएको छ । नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार ओटा भेरियन्टमा खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार नेपालमा एस२४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसअन्तर्गत १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

ग्राहकले २५६ जीबी इन्टर्नल स्टोरेज भएको भेरियन्ट प्रि-अर्डर गर्दा डबल मेमोरी र बड्स एफई निःशुल्क पाउनेछन् । त्यस्तै ट्याब ए८ एलटीई (४+६४ जीबी) २५ हजार रुपैयाँमै खरिद गर्न पाउनेछन् ।

त्यस्तै प्लस र बेस मोडेलको एस२४ खरिद गर्दा बड्स एफई चार हजार रुपैयाँमा खरिद गर्न सकिनेछ ।

यी बाहेक प्रि-अर्डर गर्ने पहिलो ५०० ग्राहकले एनसेलको प्रिमियम नम्बर पाउनेछन् । यसमा प्रतिदिन ७० मिनेट अल-नेट भ्वाइस, ७०० एमबी डेटा, ७० एसएमएस पाउन । सिममा छ महिनासम्म यस्ताे सुविधा पाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा यो फोन खरिद गर्न सक्नेछन् ।

एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ । यो अफर माघ २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

नेपालमा फोन कहिले सार्वजनिक हुन्छ भन्नेबारे कम्पनीले स्पष्ट जानकारी दिइसकेको छैन ।

पछिल्लो अध्यावधिक: माघ ५, २०८० १२:२७