close

ब्याङ्करको फोटो र नाम राखेर ह्वाट्सएपमा स्क्याम ! झुक्याएर यसरी मागिदैछ पैसा

टेकपाना टेकपाना

माघ ५, २०८० २०:१२

ब्याङ्करको फोटो र नाम राखेर ह्वाट्सएपमा स्क्याम ! झुक्याएर यसरी मागिदैछ पैसा

काठमाडौं । २९ पुसमा नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्‍यो । सूचनामा केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीको नाम र फोटो दुरुपयोग गर्दै स्क्यामरले ह्वाट्सएपमा पैसा मागिरहेको विषय उल्लेख थियो । 

त्यस लगत्तै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर कँडेलको नाम र फोटो दुरुपयोग गर्दै अर्को ह्वाट्सएप अकाउन्टबाट ठगी गरेको भन्ने सूचना बाहिरियो । त्यससँगै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालको नाम र फोटो त्यसैगरी दुरुपयोग भयो । 

उनीहरू मात्र नभइ आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालको नाम पनि यो नयाँ किसिमको ठगीको माध्यम बन्यो । स्क्यामरले मोबाइल नम्बर ९८२७२१४५९४ प्रयोग गरी ह्वाट्सएपमा ढकालको नाम र फोटो दुरुपयोग गरे । 

त्यति मात्र नभई नेपाल क्लियरिङ हाउस लिमिटेडका सीईओ निलेशमानसिंह प्रधानको नाम र फोटो उसै गरी दुरुपयोग भएको घटना बाहिर आयो । बिहीबार एक सूचना जारी गर्दै एनआईसी एसिया बैंकले पनि स्क्यामरले आफ्ना सीईओ रोशनकुमार न्यौपानेको नाम र फोटो दुरुपयोग गरी ठगी भइरहेको भन्ने जानकारी दियो । 

यी नम्बरमा फोन गर्दा कतिपयमा फोन लाग्दैन भने कतिपयले फोन नै उठाउँदैनन् । यसरी बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूकै नाम दुरुपयोग हुने क्रम दिन प्रतिदिन बढ्दै गएको छ । 

बैंक तथा वित्तीय संस्थाले भ्रममा पारेर यसरी रकम माग गरेको खण्डमा सचेत रहन अनुरोध गरेका छन् । यस किसिमको ठगीको पछाडि को छ र मोबाइल नम्बर कसरी दुरुपयोग भइरहेका छन् भन्ने विषय बाहिर आइसकेको छैन । 

यद्यपि नेपाल क्लियरिङ हाउस लिमिटेडले सार्वजनिक गरेको स्क्रिनशटमा गिफ्ट कार्डको नाममा ठगी गरेको जस्तो देखिन्छ । बैंक तथा वित्तीय संस्थामा चर्चित तथा उच्च ओहोदाका व्यक्तिहरूको नाम र फोटो प्रयोग गरी पैसा माग्दा सर्वसाधारणले सजिलै विश्वास गर्ने अनुमानको आधारमा स्क्यामरले यो तौरतरिका अपनाएको हुन सक्ने अनुमान गर्न सकिन्छ । 

प्रधानका अनुसार स्क्यामरले सम्बन्धित बैंक तथा वित्तीय संस्थाकै कर्मचारीलाई त्यस्तो मेसेज पठाउने गरेको छ । यस किसिमको ठगी बढ्दै गएपछि साइबर ब्युरोमा छुट्टाछुट्टै उजुरी समेत दर्ता भइरहेका छन् । 

ह्वाट्सएपमा दुरुपयोग भएका नम्बर सर्वसाधारण व्यक्तिको नाममा रहेको र स्क्यामरले ती नम्बरमा ह्वाट्सएप अकाउन्ट खोलेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ  ।

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १३:३०