काठमाडौं । अनलाइनबाटै ऋण तथा सापटी लेनदेन गर्न सकिने प्लेटफर्मका लागि लाइसेन्स खुलाउन एक अध्ययनले सुझाव दिएको छ । आइतबार सार्वजनिक भएको राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको अध्ययनले पियर-टु-पियर (पीटुपी) लेन्डिङको सम्भाव्यता बारे प्रकाश पार्दै इजाजतपत्र खुलाउन सुझाव दिएको हो ।
पीटुपी प्लेटफर्म भन्नाले व्यक्तिगत रूपमा ऋण लिन वा दिन सकिने माध्यम हो । यसमा ऋण लिने र दिनेले अकाउन्ट बनाएर आफ्नो आवश्यकता अनुसार ऋण लेनदेन गर्न सक्छन् ।
पीटुपी प्लेटफर्ममा ऋण लिने र दिने व्यक्तिको सबै सूचना हुन्छ । जसले गर्दा व्यक्तिगत रूपमा ऋण लिने वा दिने व्यक्तिले उचित व्यक्तिबाट उचित व्याजदरमा ऋण लिन वा दिन सक्छन् ।
व्यक्तिगत तवरबाट पनि ऋण लेनदेन गर्नका लागि सो व्यक्तिको क्रेडिट स्कोरिङ, क्रेडिट हिस्ट्री, सम्पत्ति, उसको ऋण, ऋण र आम्दानीको अनुपात, रोजगारीको विवरण र बैंकहरूमा रहेको ऋण खाताको उचित विवरण राख्नुपर्ने अध्ययनले सुझाव दिएको छ । यस्तो हुँदा ऋण दिनेले ऋणीको विवरण हेरेर मात्र ऋण दिने वा नदिने निर्णय लिन सक्नेछ ।
सीमित वित्तीय पूर्वाधारका कारण नेपालमा पीटुपी लेन्डिङमा केही जटिलता देखा पर्न सक्ने सम्भावना समेत अध्ययनले औंल्याएको छ । त्यसका लागि पीटुटी प्लेटफर्मलाई ऋण लिने व्यक्तिको क्रेडिट हिस्ट्री, डेमोग्राफिक तथा सामुदायिक गतिविधि, केन्द्रीकृत केवाईसी प्रणाली लगायत अन्य विवरण आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ ।
ऋण लिन खोज्ने व्यक्तिबारे जति धेरै जानकारी भयो, त्यति नै पीटुपी प्लेटफर्म सफल हुन्छन् । त्यसैका लागि पनि वित्तीय पूर्वाधारमा जोड दिइएको हो ।
नेपालका लागि पीटुपी लेन्डिङ नौलो अवधारणा हो । त्यसैले यिनका लागि कडा सतर्कता, निगरानी अनुपालन तथा बलियो पर्यवेक्षण क्षमता आवश्यक पर्ने अध्ययनको निष्कर्ष छ । तर, नेपालमा ऋण लिनेहरूको सीमित विवरण मात्र हुने भएकाले पीटुपी प्लेटफर्मलाई ऋण लिने व्यक्ति ऋणका लागि योग्य छ वा छैन छुट्याउन गाह्रो पर्न सक्छ ।
यसका लागि पीटुपीका सम्भावित जोखिम जस्तै फ्रड र मनी लन्ड्रिङलाई पहिचान गरेर त्यही अनुसारका नियामकीय फ्रेमवर्क डिजाइन गर्नुपर्छ । यस्तो नीतिमा पनि लगानीकर्ताले कति लगानी गर्न पाउने वा ऋणीले कति ऋण लिन पाउने भन्ने तोकिनुपर्ने अध्ययनको सुझाव छ ।
लगानीकर्ताको व्यवहार प्रत्यक्ष रूपमा पीटुपी प्लेटफर्मको विश्वसनीयतामा निर्भर हुन्छ । यस्तोमा पीटुपी लेन्डिङ प्लेटफर्म र नियामक निकायले यी प्लेटफर्मप्रति विश्वसनीयता बढाउन एकआपसमा सहकार्य गर्नुपर्ने हुन्छ ।
अध्ययनले दिएका सुझावहरू
- पीटुपी लेन्डिङको सन्दर्भमा नियामक निकायले पुराना नीति परिवर्तन गरेर नयाँ नीति तयार पार्नुपर्ने । त्यस्तै पीटुपी प्लेटफर्मलाई इजाजतपत्र दिनका लागि उचित नियम बनाउनुपर्ने ।
- आवश्यक वित्तीय प्रणाली जस्तै क्रेडिट स्कोरिङ सिस्टम र व्यक्ति पहिचानका लागि युनिक आइडेन्टिफिकेसन तयार पार्नुपर्ने ।
- पीटुपी लेन्डिङका लागि उचित नीति बनाउनुपर्ने । सुरुवाती चरणमा नेपाल राष्ट्र बैंकले केही प्रदायकलाई थोरै मात्रामा ऋण लेनदेन गर्ने प्रणाली सञ्चालन गर्न इजाजतपत्र दिनुपर्ने । यसले गर्दा यो नयाँ किसिमको वित्तीय सेवाको माग, फाइदा र जोखिमलाई पहिचान गर्न मद्दत गर्छ । त्यसपछि मात्र नेपाल राष्ट्र बैंकले पूर्ण रूपमा पीटुपी लेन्डिङ सञ्चालन गर्न सक्ने ।
- पीटूपीसँग सम्बन्धित प्रविधिलाई पूर्ण रूपमा सञ्चालन गर्नुअघि यस प्रतिवेदनका सन्दर्भमा सम्बन्धित सरोकारवालाबाट प्रतिक्रिया प्राप्त गरेर त्यसलाई विश्लेषण गर्नुपर्ने ।
के हो ‘पियर टु पियर लेन्डिङ’ ?
सामान्य तवरमा ‘पियर टु पियर’(पीटुपी लेन्डिङ) कम्प्युटर नेटवर्कमा प्रयाेग हुने एक शब्दावली हाे, जसकाे काम एक कम्प्युटरबाट अर्को कम्प्युटरमा डिजिटल मिडिया फाइलहरू पठाउनु वा पाउनु भन्ने बुझिन्छ ।
व्यक्ति तथा संस्थालाई व्यवसाय सुरु गर्न, विस्तार गर्न वा अरू कुनै प्रयाेजनका लागि आवश्यक रकम अनलाइन सेवाकाे माध्यमबाट उपयुक्त सम्पर्क कायम गरी ऋण तथा सापटी लेनदेनका लागि गरिने व्यवस्था नै ‘पियर टु पियर लेन्डिङ’ हाे ।
सामान्यतया ‘पीटुपी लेन्डिङ’ एउटा यस्ताे अवधारणा हाे, जसले उपयुक्त लगानीकर्ता र लगानी खोजिरहेका व्यक्ति तथा संस्थालाई भेट गराउँछ । मानाैँ, तपाईं नयाँ व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ।
तर तपाईंसँग पर्याप्त लगानी छैन । यस्तोमा तपाईँ कर्जाका लागि बैंक वा सहकारी जानु हुन्छ अथवा साथिभाइ/आफन्तसँग ऋण सापटी खोज्नु हुन्छ । बैंकबाट कर्जा लिने प्रक्रिया तपाईँलाई झन्झटिलो लाग्न सक्छ ।
साथिभाइ/आफन्तले त्यति सजिलै विश्वास गरिदिँदैनन् । हाे, यस्तै अवस्थामा तपाईँका लागि ‘पियर टु पियर लेन्डिङ’ उपयोगी हुन सक्छ । जसले इन्टरनेटबाटै तपाईँलाई ऋणदातासम्म पुर्याउने काम गर्दछन् ।
कसरी भयो यसको सुरुवात ?
संसारकै पहिलाे पीटुपी लेन्डिङ कम्पनी मानिनेजोपाको सुरुवात बेलायतमा सन् २००५ मै भएको हो । तर यसले पूर्ण बैंकिङ क्षेत्रको नियामकबाट दुई वर्ष अघि मात्र अनुमतिपत्र पाएको थियो । हाल यसले बैंकले गर्ने कामहरू गरिरहेकाे छ ।
सन् २००६ र २००९ काे आर्थिक मन्दीकाे समयमा बेलायतमा बैंकहरूले कर्जा प्रवाह गर्न सकिरहेका थिएनन् । त्यसले गर्दा मानिसहरूलाई कर्जा अभाव भइरहेकाे थियाे । सधैँ समस्यामा मात्र अडिएर बस्ने स्वभाव मानिसमा हुँदैन ।
त्यस्तोमा केही न केही समाधानको खाेजी भइरहेकै हुन्छ । त्यसैकाे समाधानको खोजीमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययनरत समीर देसाई, जेम्स मिकिङ्ग्स र एन्ड्रयू मुलिङ्गर लागि परे । त्यतिखेरकाे बैंकिङ कर्जा अभावकाे समाधानकै लागि ‘पियर टु पियर लेन्डिङ’काे सुरुवात भएको हो ।
सन् २००९ मा तीनै जनाले आफ्नाे जागिर छाडे र सन् २०१० मा ‘पियर टु पियर लेन्डिङ कम्पनी’फन्डिङ सर्कल सार्वजनिक गरे । जुन निकै प्रभावकारी र सफल साबित भयाे ।
कर्जाकाे सहज उपलब्धताका कारण त्यस समय याे व्यवसाय निकै फस्टायाे । त्यसपछि अरू देशहरूमा पनि यसको सिको हुन थाल्याे । यसैक्रममा सन् २००६ मा संयुक्त अधिराज्य अमेरिकामा ‘प्रोस्पर मार्केटप्लेस’ काे सुरुवात भयाे । अष्ट्रेलियामा सन् २०१२ मा ‘साेसाइटी वान’सुरु भयाे ।
त्यस्तै सन् २०१३ मा हङकङमा ‘विल्याब’, सन् २०१३ मा भारतमा ‘फेयरसेन्ट’ काे सुरुवात भयाे । ‘फेयरसेन्ट’ रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) बाट एनबीएफसी-पीटुपीको रूपमा दर्ता प्रमाणपत्र (सीओआर) प्राप्त गर्ने भारतको पहिलो ‘पियर टु पियर’ ऋण प्रदायक प्लेटफर्म हो।
पियर टु पियर लेन्डिङ र बैंक बिच के छ फरक ?
बैँक एक वित्तीय संस्था हो । जहाँबाट विभिन्न कागजी प्रक्रियाहरू पूरा गरे पश्चात् मात्रै कर्जा प्रवाह हुन्छ । कर्जा प्राप्त गर्न धिताे राख्नु पर्ने हुन्छ । बैंकले आफूसँग भएको निक्षेपबाट तपाईँलाई कर्जा प्रवाह गर्दछ ।
तर पिटुपी लेन्डिङमा भने कर्जा प्रवाहको काम बैंकबाट नभएर सोझै लगानीकर्ताहरूबाट हुन्छ । जसमा भौतिक उपस्थिति समेत जरुरी पर्दैन ।
पीटुपी लेन्डिङमा व्यक्ति अथवा संस्था जसले पनि कर्जा प्रवाह गर्न सक्छन् । तुलनात्मक रूपमा बैंकबाट कर्जा लिनु भन्दा पियर टु पियर लेन्डिङबाट कर्जा लिन सजिलो हुन्छ । तर, यसमार्फत लगानी गर्दा बैंकको तुलनामा जाेखिम भने बढी हुने तर्क गरिन्छ ।
ऋणदाता र ऋणीलाई कसरी हुन्छ फाइदा ?
बैंक तथा वित्तीय संस्था (बचत खाता) को तुलनामा लगानीकर्ता वा ऋणदाताले पीटुपीमा बढी ब्याज प्राप्त गर्दछन् । त्यस्तै विकल्प धेरै हुने भएकाले ऋणीले पनि कम ब्याजमै ऋण पाउने सम्भावना हुन्छ ।
पीटुपीमा लगानी गर्नुलाई आजभाेलि आम्दानीको सजिलो स्रोत मान्न थालिएको छ । त्यसैले यसमा ऋणदाताहरू आकर्षित हुँदै गइरहेका छन् ।
विशेषत: पैसा कमाउन ऋण दिने सिद्धान्तमा आधारित पीटुपी लेन्डिङलाई देशकाे केन्द्रीय बैंकले नियमन नगर्दा ऋणदाताहरूकाे लगानी डुब्न सक्ने खतरा हुन्छ । तर यसो भन्दै गर्दा ऋणदातालाई आकर्षित गर्ने ठाउँ पनि छ ।
उसकाे पैसा व्यापारिक काममा खर्च हुनु, उच्चतम् ब्याज प्राप्त हुनु, उसकाे लगानीकाे क्षेत्र फराकिलाे हुनु, ऋणीहरूकाे लामाे सूची हुनु ऋणदाताका लागि खुशी हुने ठाउँहरू हुन् ।
त्यस्तै कम ब्याजमा कर्जा मिल्ने सम्भावना हुनु, परम्परागत ऋण लिने प्रचलनभन्दा पारदर्शी हुनु, एक जना ऋणदातासँग कुरा मिलेन भने अरूसँग काराेबार गर्ने अवसर हुनु ऋणीका लागि फाइदाजनक पक्षहरू हुन् ।
कस्तो हुन्छ पियर टु पियर लेन्डिङमा सहभागी हुने तरिका ?
पियर टु पियर लेन्डिङमा सहभागी हुन सुरुमा यस्ताे सेवा सञ्चालन गर्ने कम्पनीमा ‘साइन अप’ (फेसबुक वा ईमेल खाता खोलेजस्तै) गर्नु पर्ने हुन्छ । त्यसपछि यदि तपाईँ कर्जा प्रवाह गर्न चाहनु हुन्छ भने तपाईँले ऋणी खाेज्नु पर्ने हुन्छ ।
जहाँ तपाईँले आफ्नाे कति रकम कति समयका लागि लगानी गर्ने लगायतका सर्तहरू राख्नसक्नु हुन्छ । यदि ऋणीले तपाईँको प्रस्ताव स्वीकार गर्छ भने तपाईँ लगानी गर्न सक्नु हुन्छ ।
त्यसैगरी तपाईँ कर्जा लिन चाहनु हुन्छ भने यस्ता सेवा प्रदायक कम्पनीमा साइन अप गरेपश्चात् ऋणदाता खाेज्न सक्नुहुन्छ । तर कम्पनी अनुसार कर्जा लिनका लागि भने तपाईँले आवश्यक केही वैधानिक कागजपत्रहरू बुझाउनु वा देखाउनु पर्ने हुन्छ ।
जसमा तपाईँकाे परिचय खुल्ने कागजपत्र, आयकाे स्राेत, राेजगारीकाे अवस्था आदि हुन सक्छन् । प्रमाणित भइसकेपश्चात् तपाईँ आफ्नाे सर्त राख्न सक्नु हुन्छ । दुवै पक्षबिच सहमति जुटेको खण्डमा कर्जा प्राप्त हुन्छ ।