close

ह्वावे चिपमा अमेरिकी प्रतिबन्ध: चीनको कडा आपत्ति, व्यापार युद्धको तनाव कायमै

टेकपाना टेकपाना

जेठ ३, २०८२ १६:०

ह्वावे चिपमा अमेरिकी प्रतिबन्ध: चीनको कडा आपत्ति, व्यापार युद्धको तनाव कायमै

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीजले उत्पादन गरेको ‘एसेन्ड’ (Ascend) नामक कम्प्युटर चिपको विश्वव्यापी प्रयोगमा रोक लगाउने नियम ल्याएपछि चीनले कडा आपत्ति जनाएको छ ।

विश्वका दुई प्रमुख अर्थतन्त्रबिचको व्यापार द्वन्द्व चर्किंदै जाँदा चीनले बिहीबार उक्त निर्णयप्रति असन्तुष्टि जनाएको हो । एपीमा प्रकाशित समाचार अनुसार, चीनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा चिनियाँ सामानमा लगाइएको १४५ प्रतिशतसम्मको भन्सार शुल्कविरुद्ध आफ्नो वाचा अनुरूप केही प्रतिबन्ध हटाइरहेको दाबी गरेको छ ।

यस क्रममा चीनले अमेरिकामा निर्यात गर्न रोक लगाइएको ‘रेअर अर्थ’ (Rare Earth) खनिजमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यी खनिजहरू अत्याधुनिक प्रविधिमा आवश्यक सामग्री मानिन्छन् ।

हालै जेनेभामा भएको द्विपक्षीय बैठकका बाबजुद अमेरिका–चीनबीचको तनाव अझै चर्किएको देखिएको छ । यही साता, अमेरिकी वाणिज्य विभागअन्तर्गतको ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी (बीआईएस) ले निर्देशन जारी गर्दै ह्वावेको ‘एसेन्ड’ सेमिकन्डक्टरहरू अमेरिकी प्रविधिको प्रयोगमार्फत विकास गरिएको आशंका जनाउँदै ती चिप अमेरिकी निर्यात नियन्त्रण अन्तर्गत पर्ने जनाएको छ ।

अमेरिकी पक्षले ती चिप सम्भवतः अमेरिकी निर्यात नियन्त्रण उल्लङ्घन गर्दै निर्माण गरिएको हुन सक्ने आशंका गरेको छ । यस्तो अवस्थामा तिनको प्रयोगले निर्यात नियन्त्रण ऐन उल्लङ्घन गर्ने अमेरिकी सरकारको ठम्याइ छ ।

यसै सन्दर्भमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ चियानले पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै भने, “अमेरिकाको यस्तो कदमले दुवै देशको आर्थिक तथा प्रविधि क्षेत्रलाई असर गर्नेछ ।”

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १६:१४