काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । सोमबार प्रकाशित आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले घटेको छ ।
टेलिकमले यस आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीको कुल सञ्चालन आय ३१ अर्ब २३ करोड २३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
अन्तरिम वित्तीय विवरण अनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा ०.६५ प्रतिशत कम हो ।
प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी पनि गत वर्षको ४१.०२ बाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ ।
कम्पनीले नाफा घट्नुको कारण तीव्र बजार प्रतिस्पर्धा, ग्राहकको बदलिँदो व्यवहार, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको बढ्दो प्रयोगलाई मानेको छ । यस्तै, अन्तर्राष्ट्रिय र स्वदेशी भ्वाइस सेवाको आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिका परिवर्तनले पनि वित्तीय प्रदर्शनमा असर पारेको कम्पनीको भनाइ छ ।
नेपाल टेलिकमको कुल सम्पत्ति हाल एक खर्ब २१ अर्ब ९० करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सम्पत्ति एक खर्ब ३३ अर्ब ६९ करोड ५४ लाख ६८ हजार रहेको थियो । यो बिचमा करिब ८.८० प्रतिशतले सम्पत्ति घटेको देखिन्छ । यस्तै, खुद सम्पत्ति प्रति शेयर ५०३.९३ रहेको छ भने कुल सम्पत्ति प्रति शेयर ६७६.३६ रहेको छ ।
कम्पनीको शेयर मूल्यमा भने स्थिरता देखिएको छ । तेस्रो त्रैमासमा अधिकतम शेयर मूल्य ९९६.३०, न्यूनतम ८७४ र अन्तिम मूल्य ८९९.८४ रहेको छ । यस्तै कर्मचारी खर्चदेखि सञ्चालन र मर्मत खर्च र नियामक शुल्कसम्ममा कटौती भएको प्रतिवेदनले देखाएको छ ।
नेपाल टेलिकमले प्रतिस्पर्धालाई सामना गर्न फोरजी/एलटीई र एफटीटीएच सेवाको विस्तार, भ्यालु एडेड सर्भिसहरूको विकास र ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्रता दिएको जनाएको छ ।