close

जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी धन्दा, कतै तपाईँ फस्नुभयो कि ?

टेकपाना टेकपाना

माघ १६, २०८० १२:३५

जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी धन्दा, कतै तपाईँ फस्नुभयो कि ?

काठमाडौं । बरदुबईमा रहेको जमजम इलेक्ट्रोनिक्सको नाममा नेपालमा ठगी धन्दा मौलाएको छ । सामाजिक सञ्जाल फेसबुकमा भिडिओ राखेर उपहार पठाइदिने नाममा सोझा मानिसहरूलाई लक्षित गर्दै ठगी भइरहेको पाइएको हो ।

विशेषगरी फेसबुकमा गिफ्ट कार्ड, जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फेसबुक पेज खोलिएका छन् । ती पेजहरूमा दुई जना युवकको फोटो राखेर ‘यदि तपाईंले अहिलेसम्म पनि जमजम इलेक्ट्रोनिक्सबाट उपहार पाउनु भएको छैन भने ह्वाट्सएपमा सम्पर्क गर्नुहोस्’ लेखिएको छ ।

कतिपयमा भने लुप भिडिओ राखेर कार तथा आईफोनको कुनै भाग छुट्याएर राखिएको हुन्छ । त्यसैलाई ट्याप गरेर मिलाए उपहार दिने भनिएको हुन्छ । यसमा पाकिस्तानको नम्बरबाट खोलिएको ह्वाट्सएप अकाउन्टमा मेसेज पठाउन भनिएको हुन्छ । उक्त नम्बरमा मेसेज गर्दा एउटा अडिओ मेसेज प्राप्त हुन्छ ।

उक्त मेसेजमा नेपालका लागि विशेष अफर निकालिएको र उक्त अफरमा तपाईं छनोट हुनुभएको भन्दै बधाई दिइन्छ । अन्तिममा ‘तपाईंलाई आईफोन १४ प्रो म्याक्स, आईप्याड तथा अल्ट्रा वाच गिफ्ट पठाउँदैछौं, तपाईंको गिफ्ट मुम्बईस्थित कुरियरको हेड अफिसमा आइसकेको छ’ भन्दै अर्को ह्वाट्सएप नम्बर पठाइन्छ ।

उक्त नम्बरमा कल गरेर ‘बक्स नम्बर (१,२,३,४) मेरो हो’ भन्नु भनिएको हुन्छ । त्यसपछि ‘तपाईंले गिफ्ट पाइसकेपछि अनबक्सिङ गरेको भिडिओ हामीलाई पठाउनु होला’ भनिएको हुन्छ । 

उनीहरूले पठाएको अर्को नम्बरमा सम्पर्क गर्दा नाम, नम्बर, ठेगाना र फोटो पठाउन भनिएको हुन्छ । उनीहरूले भनेको विवरण पठाइसकेपछि भिडिओ प्राप्त हुन्छ । सो भिडिओमा जमजम इलेक्ट्रोनिक्स र बक्स नम्बर लेखिएको बक्स देखाइन्छ । उक्त बक्सभित्र केके छ भन्ने देखाइन्छ । र, अन्तिममा सात हजार रुपैयाँ कर तिर्नुपर्ने भनिएको हुन्छ ।

हामीले परीक्षण गर्दा उनीहरूले ‘सवन कुमार कुशवाहा’को नाममा भएको ग्लोबल आईएमई बैंकको खाता नम्बर ‘०११०७०१०२४३९६४’ मा रकम पठाइदिन अनुरोध गरिन्छ । रकम पठाइसकेपछि उनीहरूले अन्य विभिन्न प्रलोभनमा पारेर रकम असुल गर्ने गरेको देखिन्छ । जमजम इलेक्ट्रोनिक्समा दुई दाजुभाइले टिकटक तथा फेसबुकमा प्रश्न सोधेको भिडिओ राख्दै मिलाउनेलाई उपहार लिने आश्वासन दिएका हुन्छन् ।

त्यसैले पनि यस्ता भिडिओलाई सर्वसाधारणले सजिलै विश्वास गर्ने देखिन्छ । उनीहरूले यसरी झुक्याउँछन् कि सर्वसाधारणलाई साँच्चै मलाई नै गिफ्ट आएको हो भन्ने सोच्न बाध्य हुन्छन् । उनीहरूले करबापत दिइनुपर्ने रकम नदिएसम्म ह्वाट्सएपमा कल गरेर विश्वासमा पार्न खोजिरहेका हुन्छन् ।

साइबर ब्यूरो तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पार्सलका नाममा ठगी भइरहेका घटना दिनानुदिन आइरहेका हुन्छन् । साइबर ब्यूरोको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्षमा गिफ्ट ठगीमा २२० ओटा र यो आर्थिक वर्षमा २२५ ओटा उजुरी परिसकेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पनि यो आर्थिक वर्षमा १२४९ भन्दा बढी पार्सल ठगी सम्बन्धी उजुरी परिसकेका छन् । यसअघि भदौमा साइबर ब्यूरोले जमजम इलेक्ट्रोनिक्सको नाममा ठगी गरेको आरोपमा दुई युवकलाई पक्राउ गरेको थियो ।

ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक पशुपति कुमार रायका अनुसार पक्राउ परेका ती व्यक्तिमाथि ठगीसम्बन्धी कसुरमा मुद्दा अगाडि बढिसकेको छ ।

“अहिले पनि पार्सलको नाममा ठगी गरेको घटना दिनदिनै आइरहेका हुन्छन्,” रायले भने, “फेसबुकमा जमजम इलेक्ट्रोनिक्सका दुई जनाको फोटो राखेर ठगी गर्ने घटनाका उजुरी आइरहेका छन् । यस्ता कुरामा विश्वास गर्नु हुँदैन ।” उनले फेसबुकमा देखिने विज्ञापनका भरमा कुरा गरेर पार्सल पाउने लोभमा रकम नदिन सुझाव दिएका छन् ।

 

पछिल्लो अध्यावधिक: माघ १६, २०८० १२:५२