close

माघ २५ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदै, तयारी अन्तिम चरणमा

टेकपाना टेकपाना

माघ १९, २०८० ९:५७

माघ २५ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक हुँदै, तयारी अन्तिम चरणमा

काठमाडौं । आउँदो माघ २५ देखि २९ गतेसम्म राजधानीमा २९औं संस्करणको ‘क्यान इन्फोटेक २०२४’ आयोजना हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले क्यान इन्फोटेकको तयारीबारे जानकारी दिएको हो ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको क्यान महासंघले जनाएको छ ।

२९औँ क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ ।

नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघका अध्यक्ष रणजीत पोदारले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताए । ''प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,'' पोदारले भने ।

त्यस्तै महासंघका महासचिव चिरञ्जीवी अधिकारीले क्यान इन्फोटेकमा स्टार्टअप, युवा प्रतिभा, नवप्रवर्तन तथा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे ।

ईसेवामार्फत क्यान इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ । यसअन्तर्गत सर्वसाधारणका लागि रू. १०० र विद्यार्थीका लागि रू. ५० शुल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।  
 
मेलाका लागि हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको आयोजकले जानकारी दियो । 

पछिल्लो अध्यावधिक: माघ १९, २०८० १२:२८