close

टिकटकबाट हटे चर्चित कलाकारका म्युजिक

टेकपाना टेकपाना

माघ १९, २०८० ११:३८

टिकटकबाट हटे चर्चित कलाकारका म्युजिक

काठमाडौं । विश्वको सबैभन्दा ठूलो म्युजिक कम्पनी युनिभर्सल म्युजिक ग्रुप (यूएमजी)ले टिकटकबाट आफ्नो मातहतका सम्पूर्ण म्युजिक हटाउने घोषणा गरको छ । बुधवार टिकटकसँगको सम्झौता सकिएसँगै उक्त कम्पनीले चर्चित कलाकार/संगीतकारको म्युजिक हटाउने घोषणा गरेको हो । 

बुधवार यूएमजीले टिकटकसँग नयाँ सम्झौता गर्ने अपेक्षा गरिएको थियो । तर, उनीहरूबीच देखिएकाे विवादका कारण सम्झौता हुन सकेन । यूएमजीका अनुसार म्युजिक प्रयोग गरेबापत अन्य कम्पनीले जति शुल्क तिर्छन्, त्यसको तुलनामा टिकटकले निकै कम मूल्य तिर्दै आएको छ । तर, यता टिकटकले भने यूएमजीले गलत भाष्य सिर्जना गरेको आरोप लगाएको छ ।

टिकटकका अनुसार यूएमजीले कलाकारको भन्दा पनि आफ्नो फाइदा चाहेको छ । यूएमजीको प्रतिद्वन्द्वी कम्पनी वार्नर म्युजिकले भने गत जुलाईमै टिकटकसँग लाइसेन्स सम्झौता सम्पन्न गरेको थियो । यससँगै यूएमजीले टेलर शिफ्ट, ड्रेक, ओलिभिया रोड्रिगो, ब्याड बन्नी लगायतका हजारौं कलाकारको म्युजिक हटाउने भएको छ ।

 बीबीसीका अनुसार अब यूएमजी म्युजिक प्रयोग भएका सबै भिडिओबाट म्युजिक हट्नेछ । उक्त ट्रयाकमा नयाँ भिडिओ पनि बनाउन सकिने छैन । टिकटकमा अहिले चर्चित कलाकारको म्युजिक उपलब्ध नभएको सन्देश देखिन थालेको छ । 

यदि तपाईंले टिकटकमा कुनै भिडिओ अपलोड गर्न चाहनुभयो भने टिकटकको म्यजिक सूचीबाट आफूले चाहेको म्युजिक छान्न सक्नुहुन्छ । उक्त सूचीमा टिकटकले हजारौं कलाकारको म्युजिक राखेको हुन्छ । म्युजिक राख्न कतिपय कम्पनीसँग सम्झौता भएको हुन्छ भने कतिपय कलाकारसँग सम्झौता गरिएको हुन्छ । यसरी सम्झौता गरेपछि टिकटकमा उनीहरूको म्युजिक समावेश हुन्छ । अहिले भने यूएमजीको सूची टिकटकबाट हटेको छ । 

प्रयोगकर्ताले अहिले आफ्नै म्युजिक अपलोड गर्नुका साथै भिडिओको ब्याकग्राउन्डमा म्युजिक राखेर टिकटकमा पोस्ट राख्न सक्छन् । म्युजिक राख्ने क्रममा टिकटकले प्रयोगकर्तालाई उनीहरूले म्युजिक राख्ने अनुमति पाएका छन् भन्ने सुनिश्चित गर्छ ।

विशेषगरी उक्त म्युजिकको प्रतिलिपि अधिकार जोसँग छ, त्यहीबाट अनुमति लिएको छु भनेर प्रयोगकर्ताले सर्त स्वीकार्नु पर्छ । यदि वास्तविक कलाकारबाट अनुमति लिइएको छैन भने टिकटकले उक्त म्युजिकले नीति उलङ्घन गरेको भन्दै म्युजिक वा भिडिओ हटाइदिन्छ ।

पछिल्लो अध्यावधिक: माघ १९, २०८० ११:३८